arrow

भोट बैंकका रुपमा प्रयोग गरेर वाम गठबन्धनले  उपत्यकाका जनतालाई धोका दिए:  मन्त्री बस्नेत

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
ambika-basnet.png

काठमाडौं ।  सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गोकर्णेश्वर महादेव मन्दिर र पञ्चकन्याको पूजा गरी चुनावी घरदैलो अभियान शुरु गरेकी छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसबाट काठमाडौँ क्षेत्र नं. ३ की उम्मेदवारसमेत रहेकी मन्त्री बस्नेतले बुधबार बिहान गोकर्णेश्वर मन्दिर र पञ्चकन्याको पूजा गरी गोकर्णेश्वर नगरपालिका ३ तारेभिरबाट घरदैलो अभियान शुरु गरेकी हुन् । 

उपत्यकाभित्रै भए पनि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको दुर्गम गाउँ भएकाले विकास निर्माण र रोजगारीका दृष्टिले तारेभिर पछि परेको स्थानीयवासीको गुनासो थियो । चुनावी अभियान शुरु गर्नुहुँदै मन्त्री बस्नेतले उपत्यकाभित्रै भए पनि गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आफू राजनीतिमा लागेको बताएकी छन् । "बेरोजगार रहेका युवालाई युवा स्वरोजगार कोषबाट सहकारीमार्फत रु दुई लाख दिएर उद्यम गर्ने व्यवस्था गरिएको छ, मन्त्रालयले यो कार्यक्रमलाई अझ सहज बनाउने योजना बनाएको छ", उनले भनिन् । 

वाम गठबन्धनमा आबद्ध दलले उपत्यकाका दुर्गम गाउँलाई मत बैंकका रुपमा प्रयोग गरेर जनतालाई धोका दिने गरेको मन्त्री बस्नेतको आरोप थियो । गरिबको दल भनी नेपालका कम्युनिष्ट पार्टीले गरिबीमाथि नै राजनीति गरिरहेको उनले आरोप लगाइन् । 

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति एवम् गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले निकुञ्जसँग जोडिएका नगरपालिकाका वडामा विशेष विकास निर्माणको योजना ल्याउने गृहकार्य भइरहेको जानकारी दिए । चुनावी अभियान शुरुवात समारोहमा क्षेत्र नं ३ को प्रदेशसभा (क) का उम्मेदवार छिरिङदोर्जे लामा र प्रदेशसभा (ख) का बिमल ठकुरी, काँग्रेस गोकर्णेश्वर नगर समिति सभापति श्रीकृष्ण ज्योति, क्षेत्रीय सचिव सुशील सिम्खडा लगायतले उपत्यकाकै दुर्गम गाउँलाई सहज रुपमा विकास निर्माण गर्न सक्ने नीति निर्धारण गर्न प्रदेशसभा र प्रतिनिधिसभामा काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ