arrow

दश वर्षभित्र वसन्तपुर पुर्वकै समृद्ध शहर बनिसक्छ : राज्यमन्त्री गुरुङ

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
sita_gurung2.jpg

तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर आगामी दश वर्षभित्र पुर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताएकी छिन् । मध्यपहाडी लोकमार्गले छोएका दश स्थानमा नयाँ शहरी आयोजना सञ्चालन गर्ने सरकारको अवधारणा बनेपछि आफूले बसन्तपुरलाई नयाँ शहर बनाउने अभियान थालनी गर्न महत्वपुर्ण भूमिका खेलेको भन्दै राज्यमन्त्री गुरुङले अबको एक दशकमा बसन्तपुर अत्याधुनिक सेवा सुविधासहितको शहर बन्ने बताइन् । 

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राज्यमन्त्री गुरुङले जिल्लाको पुर्वाधार विकास, पर्यटन प्रवर्धन र व्यवसायिक कृषि प्रसार गरी आर्थिक समृद्धिका निम्ति आफुले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताईन् । उनले नमुना शहर बसन्तपुरलाई मध्यपहाडी लोकमार्गले कुनै क्षति नपु¥याउने समेत बताईन् । ‘लोकमार्गले बजारलाई असर नगर्ने गरी तपाई नगरबासीको चाहनाबमोजिम डाइभर्सन गर्न मैले सिफारिस गरी सकेकी छु, अब सोही बमोजिमको प्राविधिक काम सुरु हुन्छ,’ बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राज्यमन्त्री गुरुङले भनिन् । उनले यहाँको समृद्धिको अर्को आधार गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र भएको भन्दै त्यहाँ रहेको गुराँसको संरक्षण र प्रचार गरी पर्यटकीय गन्तव्य बनाउन आफुले भूमिका खेल्ने बताइन् । 

चुनावी सभामा बोल्दै तेह्रथुमबाट प्रदेश सभा (क) निर्वाचन क्षेत्रका उम्मेदवार कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले तमोर जलाशययुक्त आयोजना बनेमात्र पनि तेह्रथुम जिल्लाको समृद्धि सम्भव भएको बताए । उनले सो आयोजना निर्माणका लागि हिजोदेखि विभिन्न दबाब अभियान चलाएको भन्दै आयोजना निर्माणका लागि भूमिका खेल्ने बताए । जिल्लाको समृद्धिको अर्को आधार कृषि र पर्यटन भएकाले ती क्षेत्रको समेत विकास गर्ने आफुसँग स्पष्ट खाका भएको उनले बताए । कार्यक्रममा जिल्ला सचिव सन्तोष सुब्बा, महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, जिल्ला सदस्य बालकुमार गुरुङ लगायत नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रमबाट अम्बर बहादुर गुरुङको संयोजकत्वमा २ सय १ सदस्यीय नगरस्तरीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । 

सो अवसरमा स्थानीय चुनावमा माओवादी केन्द्रबाट लालीगुराँस नगरपालिका–९ का वडाध्यक्ष उम्मेदवार डिल्लीराम पौडेल सहित नेकपा एमाले र माओवादी केन्द्र छाडेर २० जना बढी कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् । कार्यक्रम नेपाली काँग्रेसका लालीगुराँस नगरसभापति अर्जुनबाबु माबोहाङको अध्यक्षतामा भएको थियो । यसैबीच नेपाली काँग्रेसको प्रदेश सभा (ख) निर्वाचन क्षेत्रको मेन्छ्यायेम गाउँपालिका–३ र ४ को संयुक्त चुनाव प्रचार प्रसार कार्यक्रम श्रीजुङमा सम्पन्न भएको छ । काँग्रेस उम्मेदवार तथा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे सहित कांग्रेस नेताहरु सहभागी कार्यक्रममा चुनावी रणनीति र एजेण्डाहरु छलफल भएको थियो । 

नेता सम्बाहाम्फेले मेन्छ्यायेम गाउँपालिका प्राकृतिक श्रोत साधनले भरिपुर्ण रहेको भन्दै तिनको उचित परिचालन मात्रै जरुरी भएको बताए । सोही भेलाले वडा नं. ३ मा धनबहादुर लिम्बुको संयोजकत्वमा ४१ सदस्यीय र वडा नं. ४ मा राजबहादुर लिम्बुको संयोजकत्वमा ४७ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । कांग्रेसले विहीबार छथर गाउँपालिकाका विभिन्न वडा र मेन्छ्यायेम गाउँपालिकाका वडाहरुमा प्रचार प्रसार गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ