arrow

मतदाता भेट्न खेत–खेतमा पुग्दै भट्ट

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
bhatta_g.JPG

डोटी । कम्युनिष्ट गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका त्रिलोचन भट्ट मतदाता भेट्न खेतबारीमा पुग्न थालेका छन् । प्रदेशसभा ‘ख’का उम्मेदवार भट्टले घरदैलोलाई किसानको बारीसम्मै पुर्‍याएका छन् ।

डोटी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्ला भित्र परेको छ । उनले बोगटान र केआईसिंह गाउँपालिकाका मतदातालाई खेतबारीमै भेटे ।

आफु सँधै डोटीमै बसेर जनताको सेवा गरिरहेकाले विजयी हुनेमा ढुक्क रहेको  उनले बताएका छन् । उनले भने, ‘म हिजो चुनाव हार्दा पनि जनताकोबीचमा रहेँ, सके अनुसार विकास गरें, भोली पनि रहन्छु मैले यहाँका हरेक दुःखसँग सहकार्य गरेको छु ।’ भट्टले अगाडि भने, ‘म अहिले भोट माग्नलाई मात्र खेतबारी धाएको होइन, बिगतमा पनि जनताका यिनै खेतबारी कसरी सिंचाई गर्न सकिन्छ भनेर विकासका काम गरेको मान्छे हुँ ।’

२०६४ को संविधानसभा निर्वाचनमा तत्कालिन निर्वाचन क्षेत्रनम्बर १ बाट उम्मेदवार बनेका भट्ट एमाले उम्मेदवार हर्कबहादुर सिंहसँग पराजित भएका थिए ।

तत्कालीन दुई नम्बर क्षेत्रमा भने माओवादी उम्मेदवार खेम बम विजयी भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा साविकको २ नम्बर क्षेत्रबाट एमाले उम्मेदवार प्रेमबहादुर आलेमगर विजयी भए ।

उनले भने, ‘अहिले म प्रदेशसभाको उम्मेदवार भएको क्षेत्र ०६४ को संविधानसभा निर्वाचनयता वामपन्थीको किल्लाको रुपमा परिणत भएको छ । त्यही कारण पनि मेरो विजय सुनिश्चित छ ।’

डोटेली जनताको चाहाना ७ नम्बर प्रदेशको राजधानी दिपायल बनाउनु पर्ने भन्ने छ, उनले भने, ‘जसमा सबै उम्मेदवारको एक मत छ । हामीले विगतदेखि संघर्ष गर्दै आएका छौँ ।’ उनले आफु प्रदेश ७ को राजधानी दिपायल हुनेमा हिजो पनि विश्वस्त रहेको र अहिले पनि विश्वस्त रहेको बताए ।

प्रतिनिधिसभामा १ मात्रै निर्वाचन क्षेत्र रहेको डोटीको प्रदेशसभा ‘ख’मा भट्टका प्रतिस्पर्धी काँग्रेस उम्मेदवार योगेन्द्र शाही छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ