arrow

कार्यकर्ता भेट्न सभापति देउवालाई भ्याइनभ्याई, यस्तो रह्यो बुधबारको धनगढी डायरी

logo
सिद्धराज भट्ट 
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
sher-bahadur-deuba.JPG

धनगढी । आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पक्षमा चुनावी माहोल बनाउन बुधबार गृह क्षेत्र पुगेका छन् ।  

प्रदेश नं ७ को कैलालीको निर्वाचन क्षेत्र २ लम्कीमा भएको पहिलो चुनावी सभालाई सम्बोधन गरेर धनगढी पुगेका देउवाले बुधबारै आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको पनि शुभारम्भ गरे । 

प्रधानमन्त्री देउवाको भ्रमणसँगै प्रदेश नं ७ मा चुनावी रौनक एकाएक बढेको छ ।

देउवा धनगढी पुगेसँगै पार्टीभित्रको आन्तरिक संगठनमा देखिएको समस्या दर्शाउने र समाधानको पहल गरिदिन आग्रह गर्ने नेता कार्यकर्ता र उम्मेदवारको भेटका लागि तँछाड मछाड छ । 

क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटनपछि प्रदेश नं ७ का कैलाली र कञ्चनपुर जिल्लाका कांग्रेसका उम्मेदवार तथा कार्यकर्तालाई भेट्न प्रधानमन्त्रीलाई भ्याइनभ्याई भइरहेको देखिन्थ्यो । 

बुधबारै कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रका उम्मेदवार र कार्यकर्तालाई छुट्टाछुट्टै भेट गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन लोकतन्त्रको भविष्यसँग जोडिएकाले सबैले आन्तरिक विवादलाई थाती राखेर निर्वाचनमा होमिनुपर्ने बताए । 

भेटघाटका क्रममा देउवाले पार्टीभित्र कुनै विवाद नरहेकाप्रति आश्वस्त गर्दै चुनावमा एकताबद्ध भएर जान निर्देशन दिइरहेका थिए । 

टिकट नपाएर निस्क्रिय बसेका वा असन्तुष्ट रहेकालाई उनले आफैँ टेलिफोन गरेर सम्झाउँदै थिए । 

पार्टी सभापतिलाई भेटेर फर्किएका कञ्चनपुरका काँग्रेस कार्यकर्ता जोगराज ऐरले भने, “कैलाली जिल्लाका केही निर्वाचन क्षेत्रमा जनशक्ति पार्टी र राजपाका तर्फबाट उठेका उम्मेदवारको सवालमा देउवाले यी पार्टीका शीर्ष नेताहरूलाई भेटघाटकै क्रममा फोन गरेर सहयोग माग्नुभयो ।” 

प्रधानमन्त्री देउवाले कार्यकर्तासँग भने, “कहीँ कतै असन्तुष्टि बाँकी छ भने मलाई भन्नुस् म समाधान गर्छु ।” स्थानीय निर्वाचनमा विभिन्न कारण असन्तुष्ट बनेका कार्यकर्तालाई पनि प्रधानमन्त्री देउवाले विभिन्न आश्वासन दिएका थिए । 

“प्रधानमन्त्री देउवाले सबै समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ,” कञ्चनपुर क्षेत्र नं १ का काँग्रेस कार्यकर्ता धर्मवीर साउदले भने – “स्थानीय निर्वाचनका समयमा पार्टीभित्र देखिएका विवादले हार बहोर्नुपरे पनि यस पटक भने त्यसो हुँदैन ।” 

काँग्रेसले स्थानीय निकाय निर्वाचनका बेला टिकट वितरणलाई लिएर भएको असन्तुष्टिका कारण विभिन्न स्थानीय तहमा हार बेहोर्नुपरेको थियो । 

त्यसैलाई ध्यानमा राखेर यस पटक भने टिकट वितरणमा सजगता अपनाइएका कारण निर्वाचन जित्न सहज भएको दाबी काँग्रेसका स्थानीय नेताको छ । 

प्रधानमन्त्री पत्नी काँग्रेस नेत्री डा आरजु देउवा उम्मेदवार रहेको कैलाली क्षेत्र नं ५ का काँग्रेस नेता कार्यकर्तालाई पनि उनले छुट्टै भेटेर निर्देशन दिए । 

यस क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवाले ठूलो मत अन्तरले निर्वाचन जितेका थिए । 

बिहीबार प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलुधरा जाने कार्यक्रम रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ