arrow

बूढीगण्डकी सम्झाता रद्द प्रकरण – खुल्दै ओलीको बेइमानी

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
oli-prachanda-ishwor.jpg

काठमाडौं । प्रमुख विपक्षी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २ खर्ब ६० अर्ब रुपैयाँ लागत रहेको जलाशययुक्त बूढीगण्डकी बिनाप्रतिस्पर्धा चिनियाँ विवादास्पद कम्पनी सीजीजीसीलाई दिने अघिल्लो सरकारले गरेको सम्झौताको पक्षमा उभिएका छन् । 

तत्कालीन माओवादी सरकारले मुलुकको प्रचलित ऐन कानुनविपरीत बिनाप्रतिस्पर्धा सीजीजीसीलाई निर्माणकै ठेक्का ईपीसी दिने सम्झौता वर्तमान मन्त्रिपरिषद्ले गत सोमबार खारेज गरेपछि ओली यसको खुलेरै विरोधमा उत्रिएका हुन् । 

गत जेठ २१ गते राजीनामा दिइसकेको कामचलाउ माओवादी सरकारले सीजीजीसीसित समझदारी गरेयता अध्यक्ष ओली मौन रहँदै आएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री पदमा प्रतिस्थापित भएका ओलीलगायत प्रमुख दलका नेताहरू सम्पूर्ण अध्ययन भएर लागतसमेत तय भइसकेको बूढीगण्डकी बिनाप्रतिस्पर्धा दिइँदासमेत मौन रहँदै आएका थिए । 

ओलीले प्रधानमन्त्रीका हैसियतमा २० मार्च २०१६ मा चीनको भ्रमणताका बेइजिङस्थित सीजीजीसी मुख्यालयमा तीन घन्टा बिताएको विषय सार्वजनिक भएको थियो । 

नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा आमन्त्रित र भ्रमण दलका प्रतिनिधिहरूलाई प्रतीक्षा गर्न लगाएर ओली सीजीजीसीका उपल्लो तहका नेताहरूसित वार्ता गरेका थिए । एमाले र माओवादीसहित कांग्रेस पनि यो प्रकरणमा मौन थियो ।

ओली प्रधानमन्त्री रहेकै बखत सीजीजीसीलाई बूढीगण्डकी ईपीसी मोडेलमै निर्माण गर्न प्रयास गरेका थिए । त्यतिबेलाको सत्ता साझेदार माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता गरेपछि अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिई विवादास्पद सीजीजीसीलाई बूढीगण्डकी दिन प्रस्ताव अघि बढाएका थिए । 

त्यसलगत्तै ओलीलाई विस्थापन गर्दै दाहाल प्रधानमन्त्री भएका थिए । दाहालले पनि नेपाली कांग्रेसलाई सत्ता हस्तान्तण गर्न प्रधानमन्त्री पदबाट राजीनामा गरिसकेपछि उनका ऊर्जामन्त्री जनार्दन शर्मा र ठेकेदार सीजीजीसीका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको अघिल्लो सरकारले आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवा गुप्र कम्पनीलाई दिने गरी गरेको निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले उल्टाउँदै रद्द गरिदिएपछि एमाले(माओवादीका शीर्ष नेताले सामूहिक रूपमै कडा शब्दमा विरोध जनाएका छन् ।

बुधबार दिनभर गोरखाका चुनावी सभालाई संयुक्त सम्बोधन गरी साँझ काठमाडौं फर्किएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले साँझ पत्रकार सम्मेलन गरी आयोजना सम्झौता रद्द गर्ने काम सरकारले कुनै अमुक शक्तिको ‘दबाब’ मा गरेको आरोप लगाएका थिए ।
‘निर्वाचनका बेला सरकारमा बेसर के गर्न मिल्छ, मिल्दैन भन्ने कुरा ४ पटक प्रधानमन्त्री भइसकेका देउवालाई थाहा थिएन र ? एमाले अध्यक्ष ओलीले सरकारले बूढीगण्डकी आयोजनाको सम्झौता रद्द गर्ने सोमबार बसेको मन्त्रिपरिषद् निर्णयप्रति आक्रोशित हुँदै भने, ‘यो सरकार कामचलाउ हो । यसले दीर्घकालीन काम गर्न पाउँदैन । अनि बूढीगण्डकीसम्बन्धी निर्णय सनकका भरमा गर्ने ? यसमा अन्तर्राष्ट्रिय लगानीको कुरा छ । आफै भएको सरकारले गरेको निर्णयलाई अहिले कसको दबाबमा र कसका लागि खारेजको निर्णय गर्नुपर्‍यो ?’

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारले राजीनामा दिइसकेको अवस्थामा त्यसबेलाको सरकारले मन्त्रिपरिषद्को बैठकबाट चिनियाँ गेजुवा गुप्र कम्पनीलाई आयोजनाको काम गर्न दिने गरी सम्झौता गरेको थियो । 

सम्झौता गर्ने बेला कांग्रेसकै मन्त्रीहरू पनि सरकारमा रहेको र अहिले सरकारमै रहेको माओवादीसँग एक शब्द पनि नसोधी सम्झौता रद्द गर्नुले आशंका उब्जिएको दाहालले बताए ।

‘सरकारले अचानक बूढीगण्डकीको सम्झौता खारेज गरेर राष्ट्रको विकास र जनताको हितविपरीत काम गरेको छ । केही गर्नु थियो भने संविधान, ऐन नियमबमोजिम गर्नुपथ्र्यो तर सरकारकै प्रमुख साझेदारसँग एक शब्दसमेत नसोधी लोकतान्त्रिक भन्ने पार्टीले अलोकतान्त्रिक गतिविधि किन गर्‍यो ?’

दाहालले बूढीगण्डकी आयोजना कम्युनिस्ट नेतृत्वको सरकारले बढाउन खोजेको भए पनि कांग्रेस नेतृत्वको सरकारले रोक्न खोजेर विकासविरोधी र राष्ट्रहितविपरीत काम गरेको आरोप पनि लगाए ।

चीनकै तीनवटा ठेक्कामा बदमासी गरेको अभियोगमा सीजीजीसीलाई विश्व बैंकले सन् २०१५ मा तीनवटा ठेक्कामा सहभागी हुन रोक लगाएको थियो । 

नेपालको चमेलिया बनाउँदा एक अर्ब १६ करोड रुपैयाँ भ्याट छली गरेको, २२ मेगावाटको चिलिमे निर्माण गर्न नसकी धरौटी जफत र कालोसूचीमा परेको सीजीजीसीलाई बिनाप्रतिस्पर्धा दुई खर्ब ६० अर्ब रुपैयाँ लागत रहेको बूढीगण्डकी ईपीसी मोडेलमा निर्माण गर्न अघिल्लो सरकारले गरेको सम्झौता खारेजीका लागि असोज ९ गते व्यवस्थापिका संसद्को दुईवटा समिति अर्थ र कृषि तथा जलस्रोतले सरकारलाई निर्देशन दिएको थियो । वर्तमान सरकारले सोही निर्देशनबमोजिम बूढीगण्डकी ठेक्का रद्द गरेको जनाएको छ ।

वाम गठबन्धनको आरोप
– बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्झौता खारेजी गरेर सरकारले राष्ट्रहित र विकासविरोधी काम गर्‍यो ।
– वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै आक्रमण प्रयास भएकाले कांग्रेस र विप्लवबीच साँठगाँठ भएको आधार देखिन थाल्यो ।
– निर्वाचन धाँधलीपूर्ण बनाउन डीआईजीको दरबन्दी थप गर्ने काम भयो ।
– कर्मचारीलाई तालिमका नाममा सरुवा(बढुवा गर्ने काम आचारसंहिताविपरीत ।
ओलीले अहिलेको सरकार म्यादीभन्दा पनि दिनगन्तीको अवस्थामा रहेको बेला सत्ता जोगाउनका लागि यस्ता निर्णय गरिएकाले अहिलेका सबै निर्णय भोलि एकमुष्ट बदर गर्ने दिन आउने चेतावनी दिए । 

‘सत्ता जोगाउनका लागि राष्ट्रिय हितविपरीत काम गर्ने होइनु, एमाले अध्यक्ष ओलीले भने, ‘निर्वाचनका बेला सरकारले गर्न पाउने के हो त्यो सरकारले बुझ्नुपर्‍यो । होइन भने सरकारले यो पनि बुझोस्, सीमाबाहिर गएर जथाभावी गरिएका निर्णय भोलि फेरि एकमुष्ट बदर गर्नु नपरोस् ।’

यस्तो घटना निर्वाचन आचारसंहिताविपरीत घटना भएको दाहाल(ओलीको संयुक्त कथन थियो । प्रहरीको दरबन्दी थप्नु, कर्मचारीको सरुवा गर्नु, विगतका सम्झौता रद्द गर्नु चुनाव धाँधलीका निम्ति भएको पनि ओली–दाहालले आरोप लगाए ।

 ‘अहिले प्रहरीको दरबन्दी किन बढाउनुपर्‍यो, चुनावका निम्ति धाँधलीका लागि हो । प्रमोसन भएकाहरू लायक नै छन् तर के ढेड सय सबैलाई डीआईजी बनाउने ? सय जना आईजी बन्न लायक छन्, सबैलाई आईजी बनाउने ? ओलीले भने ।

दाहालले पनि दुई कम्युनिस्ट पार्टीको गठबन्धन निर्माण भएयता नै कांग्रेसले अत्तालिएर निर्वाचन बिथोल्ने र आचारसंहिताविपरीत काम गर्न थालेको आरोप लगाए ।

तत्कालका लागि चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताको समेत घोषणा गरिसकेका एमाले(माओवादी गठबन्धनले चुनावमा हिंसाको घटना बढ्न खोज्नुमा सरकार आफैंले हिंसाका पक्षधरलाई प्रोत्साहन गर्न खोजेको पनि आरोप लगाएका छन् ।

‘देशका विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमणको प्रयास भइरहेका छन्, केही ठाउँमा केही गिरफ्तार पनि भए, हतियारसहित । तर, सरकारमै रहेका कांग्रेसका केही मन्त्री उनीहरूलाई छाड्न दबाब बढाइरहेका छन्, यसबाट कतै साँठगाँठ त होइन भनेर प्रश्न उठाउने ठाउँ जन्मिएको छु, माओवादी अध्यक्ष दाहालले भने, ‘सम्पूर्ण रूपले नै आरोपित गर्ने पक्षमा त म छैन तर आक्रमण हेर्दा वाम गठबन्धनबाट अत्तालिएर सरकारकै साँठगाँठमा भइरहेको त छैन भन्ने आधार देखिएको छ ।’

ओलीले उम्मेदवारमाथि भएका हिंसाका घटनामा सरकारको विरोध वक्तव्य नआउनुले घटना शंकास्पद रहेको बताए । ‘स्याङ्जामा बिजुली दाइ साइलाु को पुरानो गीत स्मरण गर्दै देउवाले हिंसात्मक घटनामा वाम गठबन्धनका उम्मेदवार मात्र नपरुन् भनेर आफ्नो पक्षका उम्मेदवारका लागि भने उम्मेदवार नै नभएका ठाउँमा घटना घटाउन लगाएकाले शंका जन्मिएको बताए । ‘म्याग्दीको घटनाले भने झन् शंका उब्जाइदिएको छ’, ओलीले भने, ‘सरकार अहिले देखिएका निर्वाचनविरोधी घटनामा कानमा तेल हालेर मुसुक्क दाँत देखाएर बसेको छ ।ु

कांग्रेसले आफूलाई खेलको खेलाडीभन्दा खेल नै आफू भएको ठानेर जथाभावी नियम र आचारसंहिताविपरीत काम गरेको ओलीको आरोप थियो । ‘उहाँ (प्रधानमन्त्री) भन्नुहुन्छ लोकतन्त्र र कांग्रेस पर्यायवाची । कांग्रेस खेल मैदानको खेलाडी आफूलाई ठान्दैन, खेल नै आफूलाई ठान्छ । खेललाई नियम लाग्दैन । खेलाडीलाई नियम लाग्छ । उसले आफूलाई खेलाडी भन्दैन,’ ओलीले अगाडि थपे, ‘कांग्रेसको यो परिभाषा अब पुरानो भइसकेको छ । २६÷२७ वर्ष अगाडिको परिभाषा अब बेचेर जनता झुक्याउन सक्दैनन् ।’

ओलीले कांग्रेसप्रति प्रश्न गर्दै भने, ‘कांग्रेस सोसलिस्ट इन्टरनेसनलको सदस्य छ । तर, उसले सोसलिजमको विरोध किन गर्छ ? कांग्रेस अहिले अत्तालिन थालेको भन्दै उनले अगाडि भने, ‘बीपीले समाजवाद भन्नुभयो, अहिलेका कांग्रेसका पण्डितहरू भन्छन्, बीपी बूढा हुन्, उनले कुन झोकमा भने होलान्, सेन्टिमेन्टमा भनिदिए । बीपीभन्दा जान्नेबुझ्ने निस्किए । यो आतंकबाट मुक्त हुन आग्रह गर्छु ।’ ओलीले माओवादी केन्द्रका अध्यक्ष र आफूलाई मुलुकको स्थिरताबाहेक केही नचाहेको पनि बताए ।

दाहाल र आफू पुग्ने ठाउँमा पुगिसकेको र त्यसमाथि अरू ठाउँ नभएको भन्दै उनले घुमाउरो शैलीमा चुनावपछि सरकारको नेतृत्व आफैंले गर्ने पनि संकेत गरे । ‘उहाँ (दाहाल) प्रधानमन्त्री भइसक्नुभयो, दुई–दुईपटक प्रधानमन्त्री भइसक्नुभयो । के चाहिएको छ, अध्यक्ष भइहाल्नुभएको छ, टुपीभन्दा माथि के हुन्छ र ? उपर अध्यक्ष, महाअध्यक्ष हुने त होइन, दुई पल्ट प्रधानमन्त्री भइसक्नुभयो, चार पटक पुर्‍याउनु हुँदैन है ।’

ओलीले भने, ‘मलाई झन् केही चाहिएको छैन, संयोगले भनौं, कतिपयलाई खुसी लाग्ला, भवितव्यले नै सही, एमालेको अध्यक्ष भइहालेको छु एकपल्ट प्रधानमन्त्री भइसकेको पनि छु । मौका मिल्यो भने काम गर्ने मात्र होइन, यो देशलाई हिँडाउन सक्छ भन्ने देखाएको छु नि, यसमा मैले तर्क गरिरहनु पर्दैन, बहस पिट्नुको कुनै अर्थ छैन ।’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ