arrow

मुलुक सही बाटोमा हिंडेको छ भन्ने देखाउन चाहन्छिन् राष्ट्रपति भण्डारी 

logo
सुरेन्द्रबहादुर नेपाली 
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
vidya.JPG

अबुधाबी । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स युएईको भ्रमण गर्नुमा दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने, नयाँ उचाइमा पुर्याउने, दुई मुलुकका जनताको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझै बलियो बनाउने रहेको बताएकी छिन् ।  

उनले यहाँ कार्यरत नेपाली जनतालाई मुलुक स्थायित्व तथा शान्तिपूर्ण अवस्थातर्फ गएको र मुलुकमै बसी काम गर्नसक्ने वातावरण बन्दै गएको विश्वास दिलाउनु पनि भ्रमणको उद्देश्य रहेको बताइन् । 

राष्ट्रपति भण्डारीले आफ्नो सम्मानमा युएईस्थित नेपाली दूतावासद्वारा बुधबार आयोजित तथा यहाँ बसोबास गर्ने नेपाली जनताको सहभागिता रहेको रात्रिभोजमा उक्त कुरा बताइन् । 

उनले नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको व्यस्त समयमा पनि आफूले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा यो भ्रमण गरेको पनि बताइन् ।  

राष्ट्रपतिले युएईमा दुई लाखभन्दा बढी नेपाली जनताले रोजगारी गरी नेपाल सरकार तथा नेपाली जनतालाई सहयोग गरिरहेकाले उनीहरु आफ्नै लगानी तथा खर्चमा नेपालका लागि सद्भावना तथा मानार्थ दूत भएको बताउँदै उनीहरुको काम, कर्तव्य र व्यवहारले दुई मुलुकबीचको सम्बन्धलाई अझै बलियो बनाउनसक्ने र यहाँ सिकेको सीप तथा पूँजी नेपालमै उपयोग गरी अझै बढी योगदान दिन सकिनेमा पनि जोड दिइन् । 

उनले यहाँ कार्यरत एक कामदार अमरबहादुर बमले भुलचुकमै गल्ती गरेपनि त्यो गल्ती सच्याउनै नसकिने गल्ती नभएको र लामो समयसम्म कारागारमा बसिसकेको अवस्थामा उनलाई माफी दिन र रिहा गरिदिन आफूले यस भ्रमणका समयमा अबुधावीका युवराज तथा उपराष्ट्रप्रमुख, प्रधानमन्त्री तथा दुबईका शासकसँगको भेटवार्तामा आग्रह गरेको बताइन् । 

उनले दुई मुलुकबीच श्रम सम्झौता भइसकेको उल्लेख गर्दै घरेलु मजदुरका समस्यालाई पनि समाधान गर्नुपर्नेमा जोड दिइन् ।  

राष्ट्रपति भण्डारीले यस मुलुकमा नेपालका राष्ट्रपतिको रुपमा आफूले पहिलो भ्रमण गरेको बताउँदै नेपाली समुदायले पटकपटक उठाएका समस्या तथा नेपाल सरकारले पनि महसुस गरेका समस्याका विषयमा पनि यहाँका उच्चतहसँग छलफल भएको बताउँदै यो भ्रमण सफल तथा फलदायी भएको आफूले महसुस गरेको उल्लेख गरिन् । 

उक्त अवसरमा आपूर्तिमन्त्री जयन्त चन्दले विदेशमा बसेका नेपालीले पसिना बगाएर आफ्ना परिवार तथा आफ्नो मुलुकको अर्थतन्त्र धान्नका लागि ठूलो योगदान दिइरहेकोमा आभार प्रकट गर्दै अबुधावीका युवराज, युएईका उपराष्ट्रप्रमुख, प्रधानमन्त्री तथा दुबईका शासक तथा युएईका सभामुखसँगको छलफलमा नेपालको जलस्रोत, कृषि, पर्यटन तथा पूर्वाधारको विकासमा सहयोगका साथै जनस्तरमा सम्बन्ध अझै विस्तार गर्ने विषयमा छलफल भएको बताए ।

उनले श्रमसम्बन्धी ऐनमा समयानुकूल संशोधन भइरहेको र नेपाल सरकारले सहयोगीको भूमिका खेल्ने बताउँदै विदेशमा रहेका नेपाली समुदायको पीडाको अनुभव नेपाली जनता र सरकारमा रहेको उल्लेख गरे । 

उनले नेपालमा संविधानअन्तर्गत संघीय संरचना कार्यान्वयन भएपछि स्थायित्व प्राप्त हुने र त्यसले आर्थिक विकासको ठूलो ढोका खोल्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा युएईका लागि नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले राष्ट्रपति भण्डारी तथा नेपाली समुदायलाई स्वागत गर्दै आफूले यहाँ रोजगारमा रहेका नेपाली जनताले भोगेका समस्याका विषयमा धेरैपटक सरकारी तथा नेतृत्वस्तरमा अवगत गराउँदै समस्या समाधानार्थ प्रयास गरेको बताए । 

कार्यक्रममा नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत सइद हमदन अलनक्वीको पनि उपस्थिति थियो । 

उक्त अवसरमा राष्ट्रपति भण्डारीका छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ