arrow

शुक्रबारदेखि  हस्तकला मेला हुँदै

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
hastakala.jpeg

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । 

महासंघले बुधबार साँझ पत्रकार सम्मेलन गरी १५ औँ हस्तकला मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्षझैँ यो वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको र सो मेलाको तयारी पूरा भएको जानकारी दिए । 

"नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तरराष्ट्रियस्तरसम्म चिनाउनु नै मेलाको प्रमुख उद्देश्य हो," अध्यक्ष शाक्यले भने । हाल नेपाली हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपेली मुलुकहरु फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकला निर्यात हुँदै आएको छ । 

स्वदेश तथा विदेशमा नेपाली हस्तकला झण्डै १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, उनी, सुती, ढाका, जडीबुटी, अर्थोडक्स चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । तीमध्ये बंगलादेश, भुटान, चीनलगायतका ३० कक्ष रहने आयोजकले जनाएका छन् । 

मेलामा १३ औँ हस्तकला प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ । हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई  ५० हजार, दोस्रोलाई  ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कार दिने आयोजकले जनाएका छन् । यसका अलावा मेलामा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शन, मेलामा प्रर्दशित हुने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शन र ‘बि टु बि’ (व्यापारस्तरीय) बैठक हुने अध्यक्ष शाक्यले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ