arrow

बाँकेमा चुनावी सरगर्मीः काँग्रेसको वाहीवाही 

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार

नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्तिक २८ गते भएको नेपालगञ्ज आगमन र कार्यकर्ताको भेटघाटपछि बाँकेको चुनावी माहौल तात्दै गएको छ ।
 
अहिले उम्मेद्वारहरुले घरदैलो अभियानलाई गति दिन थालेका छन् । प्रधानमन्त्रीको निर्देशन बमोजिम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई विजयी बनाएर आगामी प्रतिनिधि तथा प्रदेश सभामा गठबन्धनलाई बहुमतमा पुर्याउन कांग्रेस कार्यकर्ताहरु लागिपरेका छन् ।
 
यसै क्रममा कांग्रेसबाट प्रतिनिधिसभामा क्षेत्र ३ का उम्मेद्वार वादशाह कुर्मीले खजुरा गाउँपालिकाबाट चुनावी प्रचार थालेका छन् । 

सो गाउँपालिकाको वडा नं ३ धौलागिरी पुग्नुभएका पूर्व सांसद कुर्मीले विगतमा संविधान निर्माणमा समय दिनुपरेकोले समग्र विकासमा ध्यान दिन बाँकी रहेको बताउदै यस पटक निर्वाचित भएपछि पुरै समय बाँकेको विकासमा लगाउने बताए ।
 
प्रचारका क्रममा क्षेत्र नम्वर ३ प्रदेशसभा (ख) का उम्मेद्वार लक्ष्मीनारायण शाहले काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानललाई विजयी बनाए मात्र मुलुकमा विकासले गति लिएर र सम्बृद्धि हासिल हुने बताए ।
 
उनीहरुले आफूहरुले जितेमा सडक, विजुली, खानेपानी, सिंचाई, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
 
प्रतिनिधि सभाका उम्मेद्वार कुर्मीले च्यामा, गनापुर, उढरापुर र मनकामनामा विहीबार घरदैलो गरिएको बताए ।
 
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधबराम खत्री, प्रदेश सभाका उम्मेदवारद्वय शरदचन्द्र बर्मा र नारायण गौडेलले पनि घरदैलो र कोणसभा गरेर प्रचारलाई तीब्र बनाएका हुन् ।
 
बजार क्षेत्र समेटिएको क्षेत्र नम्बर २ मा पनि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभाका उम्मेदवारद्वय निरन्जनसिंह सिंजापति र सुरेन्द्र हमालले पनि प्रचारप्रसारलाई पनि तिब्रता दिएको कांग्रेस बाँकेका सचिव तप्त पौडेलले बताए ।
 
बाँकेका मतदाताहरुले पक्की सडक, भरपर्दो विजुली, स्वच्छ खानेपानीको माग राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ