arrow

वागी उम्मेदवारले कम्युनिष्ट गठबन्धनको झण्डा बोकेपछि गठबन्धन तनावमा

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
CPN-UML-Flag.jpeg

सल्यान । सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् । 

बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएर पार्टीको झण्डा बोक्ने नैतिकता बागीलाई नभएकाले बागी उम्मेदवारका नाममा झण्डा बोकेर गाईजात्रा नदेखाउन चेतावनीसमेत दिएका छन् । "उहाँहरूले वाम गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिनुभएको छ, चुनाव चिह्न अर्कै छ तर हँसिया हथौडा भएको झण्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियो ?"मन्त्री बस्नेतले भने । 

वाम गठबन्धनका उम्मेदवारहरू नै आधिकारिक उम्मेदवार भएकाले कतै भ्रममा नपर्न उनले आग्रह गरे । "दुवै पार्टी एकताको कुरा छ हामीले सल्यानको मात्रै चिन्ता गरेर हुँदैन देशभरि नै मिलाउँदा केहीले पाउने केहीले गुमाउने अवस्था आएकाले यसबाट निरास नहुन आग्रह गर्छु" मन्त्री बस्नेतले भने । 

यता नेकपा (माओवादी केन्द्र) जिल्ला शाखाले पनि निर्णय गरेर नै आफ्ना आधिकारिक उम्मेदवार उठाएको जनाएको छ । वाम गठबन्धनले सल्यानलाई अन्याय गरेको भन्दै त्यसका विरुद्ध पार्टीको निर्णय बमोजिम उम्मेदवारी दिएकाले बागी उम्मेदवार भनेकाहरू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेको छ । 

नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई भ्रममा नपरेर बागी उम्मेदवारलाई जिताउन अनुरोध गरेको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेतले नै आफूहरुलाई उम्मेदवारी दिन लगाएको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले दाबी गरे । जिल्ला पार्टीको निर्णय बमोजिम नै उम्मेदवारी दिएकाले पार्टीको झण्डा बोक्नु कुनै नयाँ नभएको भन्दै समानुपातिक मत माग्नका लागि आफूहरूले पार्टीको झण्डा प्रयोग गरेको बुढाथोकीको भनाइ छ । 

बागी उम्मेदवारले समेत पार्टीको झण्डा बोकेर प्रचारप्रसार गरिरहेको भए पनि गठबन्धनमा यसले कुनै प्रभाव नपर्ने नेकपा (एमाले) जिल्ला सचिव रमेश गौतमले बताए । "बागीहरूले झण्डा बोकेर प्रचारप्रसार गरिरहेको र यसले गठबन्धनलाई कुनै असर गर्दैन सल्यानका एक केन्द्र र दुई प्रदेशमा बागीहरूले जित्ने पक्का छ वाम गठबन्धनका कार्यकर्तामा हुने अन्योल चिर्न सक्षम छन्", सचिव गौतमले भने । 

माओवादी केन्द्रले भने वाम गठबन्धनका विरुद्ध उम्मेदवारी दिएको भन्दै सल्यान जिल्लाका नौजना नेतालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको यसअघि नै जानकारी गराइसकेको छ । 

जिल्लाको प्रदेश क मा गठबन्धनबाट गुलाबजंग शाह र बागीबाट भीमप्रसाद शर्मा, प्रदेश ख मा गठबन्धनबाट प्रकश ज्वाला र बागीबाट जीतबहादुर पुनले उम्मेदवारी दिएका छन् । यस्तै प्रतिनिधिसभा सदस्यमा गठबनधनबाट टेकबहादुर बस्नेत तथा बागीबाट उमाकान्त शर्माले उम्मेदवारी दिएका छन्। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ