arrow

कम्युनिष्टले समस्या मात्र सिर्जना गर्छन् : वरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
poudel3.jpg

बेशीशहर, (लमजुङ)  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टले आजसम्म समस्यामात्र सिर्जना गरेको र उनीहरुलाई भोट दिए देशको विकास नै अवरुद्ध हुने कुरा बताएका छन् ।  नेपाली काँग्रेस लमजुङको आयोजनामा शनिबार बेशीशहरमा भएको वृहत् आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।

“कम्युनिष्टहरु समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन” नेता पौडेलले भने, “काँग्रेसले मात्र समस्याको सही समाधान गर्दछ, विकासलाई गति दिन्छ।” उनले नेपाली कांग्रेसकै कारण नेपाली जनताले लोकतन्त्रको उपभोग गर्न पाएको पनि उल्लेख गरे। उनले निरंकुश जहानियाँ  राणाशासन, पञ्चायती तानाशाहीलाई समाप्त पारेर जनतालाई अधिकारसम्पन्न बनाउनेदेखि मुलुकमा देखा परेको हिंसात्मक जनयुद्ध र मधेश आन्दोलनको  समाधान समेत कांग्रेसको अग्रसरतामा भएको यथार्थ बताए ।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले बीपी कोइरालाको सरकारलाई मात्र होइन, २०४६ सालको जनआन्दोलन पछि बनेको पहिलो निर्वाचित सरकारदेखि हालसम्म पनि झिनामसिना निहुँ खोजेर राजनीतिक अस्थिरता निम्त्याएर विकासको गति रोकेको आरोप लगाए । उनले नेपाली कांग्रेसको अग्रसरतामा भएको २०६२-६३ सालको जनआन्दोलनको मर्म अनुरुप बनेको संविधानको मूल मर्ममाथि नै प्रहार हुने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको व्यवस्था ल्याउने कम्युनिष्ट गठबन्धनको बोलीले देशलाई पुन अस्थिरतामा लैजाने दावी पनि गरे।

उनले विकासका हरेक सम्भावना बोकेको लमजुङले अस्थिरताका बाहकहरुलाई परास्त गर्ने विश्वास पनि व्यक्त गरे । उनले विश्वमा असफल भैसकेको साम्यवाद ल्याउँने कम्युनिष्टहरुको सपना अधुरो रहने दावी गरे ।
 
कार्यक्रमलाई संबोधन गर्दै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको सरकारले मुलुकमा ठूलो विकास गरेको बताए । उनले पक्की र कच्ची सडक निर्माण, सिंचाई सुविधा, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, उद्योग धन्दा र रोजगारी सिर्जनाको क्षेत्रमा नेपाली कांग्रेसको सरकारले ठूलो परिर्वतन ल्याएको पनि उल्लेख गरे।

डा कोइरालाले चार कम्युनिष्ट प्रधानमन्त्रीले बनाउन नसकेको संविधान काँग्रेस नेतृत्वले बनाएको भन्दै अब विकासको नेतृत्व पनि काँग्रेसले गर्नुपर्ने बताए  । “दिलबहादुर घर्तीले जितेमात्र लमजुङका जनताको भाग्यरेखा कोरिन्छ,”– उनले भने ।

लमजुङबाट प्रतिनिधि सभामा काँग्रेसका उम्मेद्वार दिलबहादुर घर्तीले लमजुङको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताए । “लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले जितेमात्र लमजुङको विकास हुन्छ,”– उनले भने ।
 
नेता घर्तीले काँग्रेसले जितेमात्र जीवन र व्यक्तिगत सम्पत्तीको सुरक्षा हुने उल्लेख गरे। उनले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताए ।
 
काँग्रेस लमजुङ प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागिपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । “यस क्षेत्रको विकास मेरो जिम्मेवारी हो,”– उनले भने ।
 
काँग्रेस लमजुङ प्रदेश (क)का उम्मेद्वार गर्जबहादुर गुरुङले लमजुङका जनताको विकास र समृद्धिका लागि कांग्रेसको विजय आवश्यक रहेको उल्लेख गरे।
 
नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने र विकास पनि अबरुद्ध हुने भएकोले कांग्रेसको चुनाव चिन्हमा मतदान गरी अध्यधिक मतले कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन अनुरोध गरे ।
 
नेपाली काँग्रेस लमजुङका पूर्व पार्टी सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सांसद चन्द्रबहादुर कुंवर, उद्योगपति विनोद चौधरी, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे, दुधपोखरी गाउँपालिकाका प्रमुख छुपीमाया गुरुङलगायतले विगतदेखि नै काँग्रेसले जित्दै आएको लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्नेमा जोड दिए  ।
 
सो अवसरमा अन्य पार्टी परित्याग  गरी करिब ३ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ