arrow

प्रचण्ड परिवारमा बज्रपात, देशै शोकमा, नेताहरु नर्भिक अस्पतालमा

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
bina-magar.jpg

काठमाडौं । छोरा प्रकाश दाहालको असामयिक निधन भएको खवरले स्तब्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अझै अस्पताल पुग्न सकेका छैनन् । 

मर्माहित प्रचण्ड कम्युनिष्ट गठबन्धनको संयुक्त सभालाई संवोधन गर्नका लागि झापामा रहेका थिए । 

उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइए पनि उनी अस्पतालमा पुग्नुभन्दा अगाडि निवास लाजिम्पाट पुगेका छन् । 

कमजोर हृदय भएका प्रचण्ड अस्पतालमा सीधै जान नसकेरै लाजिम्पाट पुगेको बताइन्छ । 

उनकी श्रीमती बिना मगर भने अस्पतालमा पुगेकी छिन् । 

शीर्ष नेताहरु सबै अस्पताल पुग्ने क्रम जारी रहेको छ । 

एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेताहरु पम्फा भुषाल, रामबहादुर थापा, काँग्रेस नेताहरु प्रकाशमान सिंह, डा रामशरण महत  लगायत पहिल्यै नै अस्पताल परिसरमा पुगेका थिए । 

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसमेत चुनावी प्रचारप्रसारको कार्यक्रम छोडेर काठमाडौं आउँदै छन् । 

नेपाल प्रहरीसंगै सशस्त्र प्रहरीको टोलीले अस्पताल परिसरमा सुरक्षा दिइरहेको छ । 

अस्पताल परिसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, आफन्त, सुभेच्छुकसंगै अन्य दलका नेताहरुकोसमेत घुइँचो छ । 

उनको बिहान ६ बजे आसपास निधन भएको खवर आएसंगै सुरक्षा दस्ता तैनाथ गरिएको प्रहरी उच्चस्रोतले जनाएको छ ।

प्रकाशको निधन के कारणले भयो भन्ने यकिन भइनसके पनि हृदयघात नै भएको हुन सक्ने बताइएको छ । 

विभिन्न शंका भइरहेकाले पत्रकार सम्मेलन गरेरै यसबारे जानकारी गराउन लागिएको अस्पताल स्रोतले जनाएको छ । 

उनलाई अचेत अवस्थामा बिहान काठमाडौंको नर्भिक अस्पतालमा ल्याइएको थियो । 

प्रचण्डकी जेठी पुत्रीको केही वर्षअघि क्यान्सरका कारण निधन भएको थियो । 

दुई पटक प्रधानमन्त्री भएका प्रचण्डलाई सन्तानबाट भने पीडामाथि पीडा थपिएको छ । 

यो बज्रपातले समग्र मुलुक नै स्तब्ध भएको छ । 

सामाजिक संजालमा श्रद्धाञ्जली दिनेको संख्या उल्लेख्य रहेको छ । 

प्रकाशले ०५४ सालदेखि पार्टीको सदस्यता लिएर काम गर्दै आएका थिए । 

उनी ०५७ सालदेखि प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए । 

बिरामी भएपछि उनी चितवनबाट प्रचण्डसंग झापा नगई काठमाडौं फर्किएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ