arrow

१० गते हुने चुनावको लागि काँग्रेसको तयारी सकियो, २ महिनापछि मात्रै नयाँ सरकार

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
balkrishna_khadd.JPG

ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंसिर १० गते हुने प्रथम चरणको निर्वाचनको लागि नेपाली काँग्रेस तयारी हालतमा रहेको बताएका छन् ।
 
नेपाली काँग्रेसको केन्द्रीय मिडिया सेन्टरद्वारा आइतबार अपरान्ह पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। काँग्रेस नेता खाँणले दुवै चरणको निर्वाचन सम्पन्न भएपछि पनि मतगणना र समानुपातिकका प्रतिनिधि चयनमा लाग्ने समयका कारण नयाँ सरकार बन्न दुई महिना लाग्ने स्पष्ट पारे। “दुवै चरणको निर्वाचन पछि पहिले प्रत्यक्षतर्फको मतगणना हुनेछ ।

त्यसपछि समानुपातिकको गणना हुनेछ” नेता खाँणले भने, “प्रतिनिधिसभा र राष्ट्रिय सभा सहितको संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत राखिएकोले सो अनुपात मिलाउन निर्वाचन आयोग र राजनीतिक दलहरुलाई लामो समय लाग्ने देखिन्छ । निर्वाचन सकिएको झण्डै २ महिनापछि मात्र नयाँ सरकार बन्न सक्छ । त्यसबेलासम्म यही सरकार रहन्छ ”।

उनले मत गणना र परिणामको लागि पनि धैर्य गर्नुपर्ने र सत्ता हस्तान्तरणमा पनि हतारो गर्न नहुने  संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए। नेपाली काँग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिचालनको रथ हाकिरहेका नेता खाँणले पार्टीभित्र र अन्य स्वतन्त्र निकायको सूचनाका आधारमा अहिलेसम्म नेपाली काँग्रेसको बहुमत आउने अवस्था रहेको र निर्वाचन पछि नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनका सहयोगी दलहरुको सरकार बन्ने पनि स्पष्ट पारे।
 
काँग्रेसको तयारी पूरा 
पत्रकार सम्मेलनमा नेता खाँणले नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ निर्वाचन क्षेत्रहरु नेपाली काँग्रेसका उम्मेदवारहरुको प्रचारप्रसार उत्कर्षमा रहेको पनि बताए ।
 
उनले ती जिल्लाहरुमा पार्टीले केन्द्रीय प्रतिनिधि खटाइसकेको पनि बताए। केन्द्रबाट गएका प्रतिनिधिहरुलाई जिल्लामा पार्टी र नेताहरुबीच समन्वय गर्ने, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको बीचमा सुहार्द सम्बन्ध बनाएर संयुक्त रुपमा परिचालन गर्ने, कार्यकर्ता परिचालन गर्ने, तालमेल भएका स्थानमा अन्य पार्टीका नेता र कार्यकता र उम्मेदवारहरुसंग समन्वय गर्ने र पार्टीका उम्मेद्वार र गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर काम गर्ने कार्यादेश दिइएको पनि उनले उल्लेख गरे।
 
ती जिल्लाहरुमा पार्टीले मतदान केन्द्रमा खटिने प्रतिनिधिहरुको चयन र प्रशिक्षण, मतदाता प्रशिक्षण पनि गरेको नेता खाँणले दाबी गरे । नेता खाँणले निर्वाचन आयोगले पनि आफ्नो तयारी पूरा भएको जनाएको र गृहमन्त्रालयले पनि शान्ति सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरेको बुझिएकोले दुवै चरणको निर्वाचन निर्धारित समय मै हुने पनि स्पष्ट पारे।
 
शान्तिसुरक्षा सबल पार्न माग
पत्रकार सम्मेलनमा नेता खाँणले  केही दिन यता श्रृखलाबद्ध रुपमा नेपाली कांग्रेसका शीर्ष तहका र अन्यदलका पनि नेताहरुलाई लक्षित गरि भएका आक्रमणको निन्दा गर्दै भयरहित वातावरण सिर्जना गर्न सरकारसंग आग्रह पनि गरे । उनले निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन निर्वाचनमा खटिएका कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै निर्वाचनमा खटिने सुरक्षाकर्मी सहित राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षाको समुचित प्रबन्ध गर्न पनि सरकारसँग आग्रह  गरे ।

यस्तो आक्रमणमा माओवादीले चलाएको द्धन्द्धकालका लडाकू, शिविरमा रहेका तथा प्रशिक्षित भएका तर अयोग्य भनेर बाहिरिएका लडाकूहरुको उपयोग भएको पाइएको पनि बताए ।
उनले आफूलाई कम्युनिष्ट भन्ने समूहका नामबाट यी आक्रमणको जिम्मा लिइएकोले कतै नेपाली काँग्रेस र लोकतन्त्रिक गठबन्धनप्रति आस्थावान मतदातालाई तर्साउन कथित बाम गठबन्धनकै सहमतिमा त यस्ता आक्रमण भएको हैन भन्ने आशंका आफूलाई लागेको पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ