arrow

मानव अधिकारले बुझायो स्थानीय तह चुनावको अनुगमन प्रतिवेदन

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
National-Human-Rights-Commission.jpeg

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ । मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा प्रतिवेदन बुझाएको हो ।

दुवै आयोगका पदाधिकारीहरूको उपस्थितिमा मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई प्रतिवेदन बुझाए ।

मानव अधिकार आयोगको प्रतिवेदनमा छिटपुट घटनाबाहेक स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरिएको छ ।

निर्वाचनको क्रममा तीनजनाको मृत्यु भएको केही स्थानमा बम फेला परेको, पड्केका विष्फोटक पदार्थले सिर्जना गरेको त्रास र केही स्थानमा भएका झडपका घटनाबाहेक मानव अधिकार उल्लंघनका घटनाहरू नभएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, प्रतिवेदनमा महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको समेत उत्साहजनक सहभागिता रहेको उल्लेख गरिएको प्रतिवेदनमा कसैलाई पनि लिङ्ग, धर्म, जातजाति, राजनीतिक आस्थासमेतका आधारमा विभेद भएको भन्नेजस्ता घटना नभएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा मतदाता शिक्षा प्रभावकारी बनाउन, महिला, जेष्ठ नागरिक, अपाङ्ग मैत्री मतदानस्थलको छनोट, खानेपानी, शौचालय, प्राथमिक स्वास्थ्य सेवाको उपलब्धता जस्ता कुरामा ध्यान दिन सुझाव दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ