arrow

पर्यटकीय एजेण्डा सहित बुढेसकालमा पहाड उक्लँदै राणा

logo
आदित्य दाहाल 
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
pasupati_rana.jpg

मेलम्ची । विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना पहाड उक्लँदै छन् । 

लामो समयदेखि सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय रहेका राणा यो वर्ष हुन लागेको निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।संविधानसभा चुनावको पहिलो र दोस्रोपटक हार व्यहोरेका अध्यक्ष राणा बढ्दो बुढेसकालको वास्ता नगरी यतिबेला जिल्लाका विभिन्न पहाड उक्लँदै मतदातासँग मत माग्न व्यस्त छन् । 

हिमाली गाउँमा पुगेर आफ्नो पक्ष (लोकतान्त्रिक गठबन्धनलाई) भोट माग्दै कहिले हेलम्बुको डाँडा, कहिले ज्यामिरेको डाँडा र कहिले शेर्माथाङको डाँडा पुगेका ७६ बर्षिय राणालाई देखेर युवामा पनि जोश जाँगर बढेको छ । 

हिमाली गाउँलाई पर्यटकीयस्थल बनाउने र पहाड तथा बेँसीका बस्तीमा पुनःनिर्माणका लागि सहयोग गर्ने उनको मुख्य एजेण्डा छ । पर्यटकीय क्षेत्रमा काम गर्दै आएका लोकतान्त्रिक गठबन्धन सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार निमा लामाको सहयोगले पनि आफ्नो चुनावी एजेण्डालाई निकै सहयोग मिल्नेमा राणा विश्वस्त छन् । 

पहाड उक्लँदै विभिन्न गाउँमा पुग्नेका उनी स्थानीयवासीका साथ र सहयोगबाट निकै हौसिएका छन् । अध्यक्ष राणाले भने, "यसअघिका दुई वटा निर्वाचनमा राम्रोसँग हिँडडुल गर्न नपाउँदा थोरै मात्र मतान्तरले हारेको हुँ । यसपटक पूरै गाउँ पुग्ने अवसर पाएको छु भने काँग्रेसका दुई उम्मेदवारका साथले पनि मैले चुनाव जित्नेमा कुनै दुविधा छैन ।"

भोटेचौरको चिया बगान, मेलम्ची घ्याङ शेर्माथाङ, पाँचपोखरी, हेलम्बु र गुफाडाँडालाई विदेशी र आफ्नै व्यक्तिगत पहलमा छोटो समयमै नमूना पर्यटकीयस्थल बनाउने उनको योजना छ । 

पर्यटकीय व्यवसायी निमा लामालाई समेत प्रदेशको उम्मेदवारका रूपमा पाएकाले हरेक क्षेत्रमा एक एक वटा पर्यटकीयस्थल निर्माण गरिदिने तथा भत्केका संरचनाको पुनःनिर्माण गर्नेदेखि लिएर पर्यटन विकासका क्षेत्रलाई मुख्यरूपमा अगाडि बढाउने अध्यक्ष राणाले वचन दिएका छन्। 

सिन्धुपाल्चोकको समग्र विकासका लागि लोकतान्त्रिक शक्ति एक भएर लाग्नुपर्ने बताउँदै प्रदेशसभा ‘ख’का उम्मेदवार निमा लामाले पनि आफ्नो संयुक्त चुनावी एजेण्डा पर्यटकीय विकास भएको बताएका छन् । 

लामो समयदेखि पर्यटकीय विकास र प्रवद्र्धनमा लागेका लामाले युवाको बढ्दो बेरोजगारीलाई सम्बोधन गर्दै पर्यटकीय क्षेत्रमा युवालाई परिचालन गर्ने योजना अघि बढाएकाले पनि युवाले लामालाई साथ दिनेमा कुनै शंका नभएको उनको भनाइ छ । 

चुनावी आश्वासनमात्र बाँढेर हुँदैन महँगा भाषणलाई भन्दा आफूले थोरै बोल्ने तर धेरै गर्ने नेताका रूपमा परिचित गराउने अध्यक्ष राणाको भनाइ छ । उनी भन्छन्, "मैले धेरै चुनावी गफ भजाएको छैन । अघिल्ला निर्वाचनमा पराजित भए पनि आफूले गर्न सक्ने मात्र बोलेको छु र बोलेको कुरा पूरा गरेर पनि देखाउँछु ।" 

त्यसैगरी दुईपटक संविधानसभाको निर्वाचनमा राणालाई हराएका वाम गठबन्धनका शेरबहादुर तामाङ र दावा तामाङ संयुक्त युवा चुनावी अभियानमा छन् । पहिलो संविधानसभाको चुनावमा राणालाई हराउनुभएका दावा तामाङ निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’का उम्मेदवार हुनुहुन्छ भने शेरबहादुर तामाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार हुन् । 

राणालाई दोस्रो संविधानसभामा दुई हजार मतले हराका प्रतिनिधिसभाका उम्मेदवार तामाङ पनि आफ्नो चुनावी एजेण्डाका साथ गाउँमा सक्रियरुपमा लागिपरेका छन । 

निर्वाचनमा बढी मत दिएर विजयी गराएमात्र विकासको कार्य सफल हुने तामाङको नारा छ । दुई पूर्व सांसद एकै ठाउँमा छौँ यो मौका नचुकाउनुहोस् भन्दै तामाङले फेरि पनि आफूलाई विजयी गराएर पहिलेको बाचा पूरा गर्ने मौका दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु भने । यसअघि तीन क्षेत्र रहेको यो जिल्ला नयाँ संविधान जारी भएपछि दुई निर्वाचन क्षेत्र कायम भएको हो ।     

मंसिर १० गते हुने चुनावमा तामाङ र राणा आ–आफ्नो पक्षमा चुनावी नतिजा पार्नमा घरदैलोमा व्यस्त छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ