arrow

काँग्रेसले अत्तालिएर भन्यो, वाम सरकार भए अधिनायकवाद आउँछ : नेता श्रेष्ठ

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
krishnagopal_shresth.jpg

काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तार कार्य चाँडो पूरा गर्नुपर्नेमा जोड दिएका छन् । 

नेकपा (एमाले) क्षेत्र नं ९ बल्खु एकाइले आयोजना गरेको चुनावी कार्यक्रममा उनले उक्त सडकखण्ड विस्तार एवं पुनःनिर्माणमा ढिलाइ हुँदा धुवाँ र धुलोको समस्याले स्थानीयवासीलाई समस्या भएको बताए । 

मुलुकमा शान्ति र सरकारको स्थायित्वका लागि वाम गठबन्धन भएको बताउँदै नेता श्रेष्ठले गठबन्धन बनेपछि नेपाली काँग्रेसले अत्तालिएर वाम सरकार गठन भए अधिनायकवाद आउने भ्रम फैलाएको आरोप लगाए । 

देशमा राजनीतिक स्थिरता कायम गरी जनतालाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताउँदै उनले प्राचीन महत्वको इन्द्र दहका साथै. विभिन्न जात्रा र पर्वको संरक्षण गरी यो क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गरे । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता श्रेष्ठले देशमा राजनीतिक परिवर्तन पूरा भएकाले अब सामाजिक रूपान्तरण गरी आर्थिक क्रान्ति पूरा गर्नुपर्नेमा जोड दिए । 

प्रदेश नं (क) का उम्मेदवार डा अजयक्रान्ति शाक्यले देशमा पूर्वाधार निर्माण तथा स्थानीय विकासका कार्यमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने योजना रहेको बताउँदै जनतालाई परिवर्तनको अनुभूति गराउन वाम सरकारको नेतृत्वको आवश्यक रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ