arrow

गुल्मीमा मैले डोजर भित्र्याएँ, मैले छाडेपछि कसैले केही पनि गरेनन् : चन्द्र केसी  

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
chandra_kc.jpg

धुर्कोट(गुल्मी) । गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका नेता उम्मेदवार चन्द्र के.सी.ले पूर्वाधार विकास र आर्थिक समृद्धिको नेतृत्व नेपाली काँग्रेस बाहेक अरु दलहरुबाट हुन नसक्ने बताएका छन्। निर्वाचन अभियान अन्तरगत सोमबार धुर्कोट गाउँपालिकाको हाडहाडेमा आयोजित चुनावी सभामा उनले सो कुरा बताएका हुन्। उनले जिल्लामा आफू जिविस सभापति हुँदा सम्पन्न भएका काम बाहेक नयाँ काम धेरै नभएको पनि दावी गरे ।
 
उनले आफू जिविस सभापति हुँदा गुल्मी जिल्लामा पहिलो पटक डोजर भित्र्याएको बताउदै भने,“जिल्लामा विकास र निर्माणको काम भित्र्याउने नै मै हुँ । गुल्मीलाई अरु विकसित जिल्लाको दाँजोमा पुर्याउन बाँकी काम पनि मैले गर्नसक्छु ।” कार्यक्रममा उनले आफ्नो प्रमुख एजेण्डा शिक्षा, स्वास्थ्य, खानेपानी, मोटरबाटोका विकासका योजनाहरु रहेको बताए।

उनले कम्युनिष्टहरु जनतालाई विपन्न राखेर, भ्रममा राखेर जनतामाथि शासन गर्ने पद्धतिका पोषक भएको र नेपाली काँग्रेसले जनतालाई स्वतन्त्रता दिँदै, धनी र सुखी बनाएर उनीहरुको सहभागितामा शासन गर्ने भएकोले विकास र समृद्धिको लागि नेपाली काँग्रेसलाई नै जिताउनु पर्ने जिकिर गरे।

कार्यक्रममा प्रदेश नं. २ प्रदेश सभाका उम्मेदवार छन्द बहादुर पहराईले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएकोले विकास र समृद्धिको अभियान पनि नेपाली काँग्रेसले मात्र सम्पन्न गर्न सक्ने बताए । उनले यो चुनाव जनताका अधिकार खोस्न उद्धत कम्युनिष्ट र जनतालाई अझ अधिकार र विकास दिन अग्रसर काँग्रेसका बीचमा भएकोले नेपाली काँग्रेसलाई जिताएर देशमा सुख शान्ति र समृद्धि ल्याउन आग्रह गरे।

ईश्मामा पन्थी
गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) का उम्मेदवार शालिक पन्थी चुनाव प्रचार प्रसार तथा घरदैलो काार्यक्रम अन्तरगत सोमबार ईश्मा गाँउपालिका पुगेका छन् । उनले ईश्माको राले, दर्लामचौर, खयरा, ठाडढुङ्गा र नयाँपोखरामा चुनावी कार्यक्रम सम्पन्न गरेका छन् ।
 
उनले कम्युनिष्ट उम्मेदवारहरुको भर नपर्न आग्रह गर्दै यो चुनावमा उहीहरुले जितेमा देशमा कम्युनिष्ट शासन लागु गरेर जनताको अधिकार खोसिने स्थिति पैदा हुने बताए।नेपाली कांग्रेसले जितेमा यही व्यवस्था अन्तरगत अब विकासका काम थालिने भएकोले छिटो विकास गर्न कांग्रेसलाई नै जिताउनुपर्ने उनले बताए । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव खिलध्वज पन्थी, नेपाली काँग्रेस क्षेत्र नं. २ क्षेत्रीय सभापति भगतसिंह खड्का, चन्द्र महत, नेविसंघ नेता रोशनसिंह ठकुरी लगायतको उपस्थित रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ