arrow

सिटौला भन्छन, ‘झापा तीनका मतदाता परिवर्तनकै पक्षमा छन्’

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
krishna-sitoula-press-meet.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले शान्तिप्रकृया र राजनीतिक परिवर्तनको लागि आफूले खेलेको मुल्याङ्कन गरेर नैं झापाली मतदाताले आफूलाई निर्वाचन जिताउने बताएका छन्।

तत्कालिन सात संसदवादी दल  र शसस्त्र द्वन्द्वरत नेकपा माओवादीबीच १२ बुँदे सझदारीको ११ बर्ष पुरा भएको अवसरमा राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाटमा सिटौलाले भने ‘मैले शान्ति प्रकृयामा भूमिका निर्वाह गर्दा धेरै आलोचना खेप्नु पर्‍यो तर म लक्ष्यवाट विचलित भइँन।’

झापा क्षेत्र नम्वर तीनबाट प्रतिनिधिसभाको लागि कांग्रेसबाट उम्मेदवार भएका सिटौला सोमबार साँझ झापाबाट काठमाडौं आएका थिए। चुनाव प्रचारमा व्यस्त रहेका सिटौलाले केही समय निकालेर मंगलबार बिहान पत्रकारसमक्ष भने ‘मेरो निर्वाचन क्षेत्र अरु भन्दा विशिष्ट प्रकृतिको छ, अन्य क्षेत्रसँग तुलना नगर्नुस।’

राजनीतिक परिवर्तनको लागि आफूले गरेको योगदानको चर्चा गरेका सिटौलाले एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार भएका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको नाम नलिइ उनी परिवर्तन विरोधी भएको वारम्बार संकेत गरे।

देशभरी काँग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा राप्रपासँग तालमेल गरेपनि झापामा भने बाम गठबन्धनसँग राप्रपाले तालमेल गरेको छ। सिटौलाले सञ्चारकर्मीसँग दिएको अभिव्यक्ति जस्ताको तस्तै

राजा चाहिन्छ भन्ने पार्टीसँग मेरो मूल प्रतिष्पर्धा छ 
यो निर्वाचनले नेपालको राजनीतलाई रुपान्तरण गर्नेछ। संघीय व्यवस्था पहिलो पटक नेपालमा लागू हुँदैछ। तीन तह व्यवस्थापिका र सरकारको व्यवस्था छ, त्यो नेपालमा मात्र प्रयोग हुँदैछ।

स्थानीय तहको निर्वाचन भयो। अब प्रदेश सभा र संघीय संसदको चुनाव आगामी मंसिर १० र २१ गते हुँदैछ। यो निर्वाचन पनि विगतका दुई निर्वाचनभन्दा फरक छ।  विगतमा भएको संविधानसभाको निर्वाचनमा संविधान निर्माण गर्ने कार्यभार थियो, तर यो निर्वाचन संविधान कार्यान्वयन र विकास तथा समृद्धिको लागि हो।

यो पटक दलको घोषणा पत्र पनि फरक छ। विगतमा दलबीच संविधान बनाउने बिषयमा होडवाजी थियो भने अहिले देशलाई आर्थिक प्रगति र समृद्धि बनाउने होडवाजी छ। नेपालको राजनीतिमा एउटा सकारात्मक पक्ष यही हो। मेरो मुल्याङ्कनमा नेपाली जनता धेरै लामो संघर्ष, क्रान्ति र परिवर्तनवाट जुन परिवर्तन आयो, त्यसको पक्षमा देखिएका छन्।

लोकतन्त्रले धेरै परिवर्तन ल्यायो। २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा अपहरित भए पनि २०४६ सालको क्रान्तिले फेरी प्रजातन्त्र वहाली गर्यो। २०६२÷६३ को क्रान्तिले मुलुकमा गणतन्त्र बहाली गर्यो र जनताका थप अधिकारहरु आए। संघीयता, गणतन्त्र र समावेशीता यो क्रान्तिको परिणाम हो।

यो परिवर्तनबाट जनता जसरी राजनीतिक अधिकारसम्पन्न भएका छन्, त्यसैको माध्यमबाट देश विकास गर्न चाहन्छन्। तर अहिले पनि परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने पनि निर्वाचनको मैदानमा देखिएका छन्। मेरै निर्वाचन क्षेत्र झापा तीनमा अहिले पनि राजतन्त्र चाहिन्छ भन्ने पार्टी र त्यसका उम्मेदवार मूल प्रतिष्पर्धीको रुपमा उभिएका छन्।

एमाले र माओवादीले राप्रपालाई समर्थन गरेको हो होइन परिणामले देखाउँछ
यो निर्वाचन अवसर पनि हो। मेरो दृष्टिमा राजा चाहिन्छ भन्नेलाई सदाका लागि अन्त्य गर्ने। धेरै ठूलो संघर्ष, बलिदान र त्यागले यो परिवर्तन आएको हो। तर यो जनताको उपलब्धीलाई आत्मसाथ नगर्ने अनि त्यसकै पक्षमा मत जानसक्ने खतरा जुन छ, त्यसवाट बचाउनु पर्छ। 

जनतालाई अधिकार सम्पन्न गराउनु पर्छ र देशलाई संघीयता, गणतन्त्र र समावेशीताको वाटोमा लैजानु पर्छ भन्ने मान्यता मेरो रहेको छ। एमाले र माओवादीका नेताहरुले राप्रपाका उम्मेदवारलाई समर्थन गरेका हुन वा होइनन? भविश्यले वताउला तर दावा गरिएको छ, परिणमले देखाउला। मैले मेरै निर्वाचनमा क्षेत्रमा यो प्रश्न किन उठाएको छु भने झापाको तीन नम्वर क्षेत्र नेपालको जनआन्दोलन उत्कर्षमा पुर्‍याउने उद्गम स्थल हो।

तीन शहिद मेरै निर्वाचन क्षेत्रका हुन 
२०४६ सालको आन्दोलनमा चैत १४ गते मेचि वहुमुखी क्याम्पसको हाता भित्र राम थापा मारिए। त्यसको दुई हप्ता नवित्दै पञ्चायति व्यवस्था नैं ढल्यो। बहुदल घोषणा भएको छ।

गत २०६२/०६३ को शान्तिपूर्ण आन्दोलनको समयमा चैत ६ गते सेना परिचालन सेना लगाएर सेनाको गोलीबाट एक जना नेविसंघका यूवा राजन गिरी र एमालेसँग नजिक रहेका सूर्य विश्वास जो श्रमिक कार्यकर्ता थिए, उनले शहादत प्राप्त गरे। सयौं घाईते भए, अझै पनि अपाङ्ग छन्, धेरैजना। 

त्यहीँ ठाउँमा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त रुपमा गिरिजाप्रसाद कोइरालाको स्मृतिमा एउटा सभा भवन बन्दैछ। 

त्यो जनआन्दोलनको सम्मानमा शिलान्यास गरिएको भवन होे। जनआन्दोलनताका गिरिजाप्रसाद कोइरालालाई सवै दलले नेता मानेका थिए। उहाँ दिवंगत भएपछि भद्रपुरको त्यही रगत पोखिएको ठाउँमा गणतन्त्रको आन्दोलनलाई सम्मान गर्दै गणतन्त्रको नाममा एउटा सभागृह बन्दैछ।

यो सभागृह एक नम्वर प्रदेशकै सबैभन्दा ठूलो सभागृह हुनेछ। सरकारको मातहत, अर्थात जिल्ला संघर्ष समितिको मातहत रहने गरी। यो निर्माणाधिन अवस्थामा छ। 

भद्रपुरमा दुई भाईहरु मारिएको हप्ता दिनमै तत्कालिन राजा ज्ञानेन्द्रले समर्पण गरेका छन, आन्दोलनको सामू। बैशाख १३ गते उनको बिज्ञप्ती आएको थियो र निरंकुस राजतन्त्रको अन्त्य भएको थियो र त्यहीबाट गणतन्त्रमा पुग्ने मार्ग प्रशस्त भएको हो।

झापा तीनका मतदाता परिवर्तनकै पक्षमा छन् 
झापा क्षेत्र नं तीन, जहाँबाट म उम्मेदवार बनेको छु। २०४६ सालको जनआन्दोलनमा मेरो जिल्लास्तरिय भूमिका थियो, आन्दोलनलाई माथि उठाउन। २०६२/०६३ को आन्लदोलनमा आइपुग्दा मेरो भूमिका केन्द्रीय स्तरमा रहयो। १२ बुँदे समझदारी हुँदै शान्तिप्रक्रियामा आउँदा मेरो भूमिका केन्द्रीय स्तरमै थियो। 

यि दुवै आन्दोलनमा म जोडिएको छु। यि दुवै आन्दोलन मेरै घर आँगनमा भएका हुन्। मेरो घर झापाको सदरमुकाम चन्द्रगढीमा हो। त्यसैले आन्दोलनको भावनालाई छोडेर प्रतिगमनको धारमा, परिवर्तन बिरोधी धारमा रहेको व्यक्तिलाई बोक्नु र बोक्न खोज्नु नेपाली जनताको लागि किमार्थ उचित होइन। 

मैले एउटा प्रश्न उठाउने गरेको छु, हरेक पार्टीका कार्यकर्तामा स्वभिमान जाग्नु पर्छ । स्वभिमानविहिन कार्यकर्ताले न स्वाधिनताको रक्षा गर्न सक्छ, न पार्टीको बैचारिक र सैद्धान्तिक धारलाई निरन्तरता दिन सक्छ।

म मेरै निर्वाचन क्षेत्रमा सीमित भएर भन्न चाहन्छु, झापा ३ का मतदाता जसले हिँजो जो सुकैलाई मतदान गर्ने किन नहोस, आजका दिनमा परिवर्तनका पक्षमा जनआन्दोलनको पक्षमा सोही अनुकुल नेपालको भावनालाई अघि बढाउनु पर्छ भन्ने पक्षमा छु । 

आफ्नै भाई, छोरा शहिद भएको नविर्सौ
परिवर्तित सन्दर्भ नेपालको राजनीति राम्रो हुँदा देश विकास निर्माणमा टेवा पुग्छ। देशको राजनीति बिग्रदा धेरै समस्या खडा हुन जान्छ। विगतको द्वन्द्वकाल हामीले हेर्‍यौं। म मेरो क्षेत्रका जनतालाई आव्हान गर्न चाहन्छु कि ‘हिँजोको पञ्चायत कालमा भएको आतंक नविर्सियौं।

२०४६ सालको जनआन्दोलनको यातना नविर्सिउन। २०६२/०६३ को आन्दोलनको यातना नविर्सिउन। आफ्नो भाई, छोराले शहादत पाएको घटना नविर्सिऔं। परिवर्तनको भावना र मर्म अनुसार मुलुकलाई हिँडाउनु पर्छ भन्ने संकल्प वोकेको पार्टी नेपाली कांग्रेस र त्यसमा पनि मलाई मतदान गर्न आग्रह गर्दछु। साना तिना कुरामा मतदातालाई अल्मल्याएर बिषयान्तर गर्न खोजिएको छ। 

मतदातासँगको बाचा पुरा गरेको छु
मेरै वारेमा पनि भन्नु पर्दा संविधानसभाको पहिलो निर्वाचनमा म हारेँ र संविधान पनि बन्न सकेन। दोश्रो संविधानसभामा म फेरी त्यही क्षेत्रमा उठेँ र जितें। जनतासँग भोट माग्दा मैले वाचा गरेको थिएँ कि ‘मलाई जिताउनुस म संविधान दिन्छु, आखिर जितेँ र संविधान पनि जारी भयो।’

मेरो पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नु भयो, एमालेसहितका दल सरकारमा गए। म आफै संविधान मस्यौदा समितिको सभापति भएर एक बर्षमा संविधान घोषणा गर्छौं भनेको तर डेढ बर्ष लाग्यो। संविधान जारी मात्र होइन, असन्तुष्ट दललाई पनि सहभागी गरायौं। 

मेरा मतदातासँग मैले जे वाचा गरेँ त्यो पुरा गरेको छु। दोश्रो, म २०४८ सालदेखि लगातार ६ पटक चुनाव उठ्दै आएको छु, उपनिर्वाचनसहित। २०४८ को आमनिर्वाचनमा हारेँ, २०५० को उपनिर्वाचनमा जितेँ, २०५१ को पराजित भएँ र २०५६ को फेरी निर्वाचित भएँ। अढाइ बर्षभन्दा बढी रहन सकिएन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष र अप्रत्यक्ष शासन रहयो। त्यसपछि गिरिजाप्रसादको नेतृत्वमा हामी लगातार चार बर्ष आन्दोलनमा लाग्यौं। 

शान्ति प्रकृया र गणतन्त्र घोषण गर्दा केन्द्रीय भूमिकामा रहेँ
हामीले माओवादीसँग १२ बुँदे समझदारी गर्यौं। एउटा लक्ष्य र गन्तव्य तय गर्यौं। देशबाट हिंसाको अन्त्य हुनुपर्छ। शान्ति छाउनु पर्छ। जनताको वाँच्न पाउने अधिकार सुरक्षीत गर्नु पर्छ। सँधैभरी लोकतन्त्रमाथि अतिक्रमण गर्ने राजसंस्थाको अन्त्य गर्नु पर्छ।

गणतन्त्र स्थापना गर्नु पर्छ र राजालाई गद्धीबाट निकाल्नु पर्छ। त्यसबेलाको लक्ष्य नैं यिनै दुईवटा  थियो। सहमतिकै आधारमा माओवादीको हातबाट बन्दुक खिच्ने र शान्तिपूर्ण राजनीतिमा माओवादीलाई ल्याउने दुई वटा लक्ष्य पुरा गरियो। यि दुवै कार्यभार पुरा गर्दा मेरो भूमिका महत्वपूर्ण र केन्द्रविन्दुमै थियो। 

माओवादीलाई शान्ति प्रकृयामा ल्याउन लागि गिरिजाप्रसाद कोइरालाको नृतत्वमा रहेको सरकारले मलाई बार्ता टोलीको संयोजक पनि बनायो। म स्वयंले त्यसवेलाका बिद्रोही नेता प्रचण्ड र वाबुरामजीलाई लिन जाँदा पार्टी भित्र र वाहिरबाट जुन जोखिम मोल्नु पर्यो, लिन जाँदा र पुर्याउँदा पनि पुर्याउन मैले डोटी जानु पर्यो, एक रात काठमाडौंमा बसेर। प्रचण्ड कस्तो हुनुहुँदो रहेछ भनेर जनताले थाहा पाए। 

माओबादीको सवारी मन्त्री भनेर आलोचना बेहोरेँ
मलाई संसद भित्रै माओवादीको सवारी मन्त्री भनेर आलोचना पनि गरियो। अनेक आरोप र पत्यारोपका बाबजुद म आफ्नो गन्तव्यबाट बिचलित नभइकन मैले राजनीति गरेकै हो। मलाई थाहा थियो, जवसम्म यहाँ राजतन्त्र रहन्थ्यो, तवसमम्म यहाँ षडयन्त्र चलिरहन्थ्यो, लोकतन्त्र र जनताको अधिकारका बिरुद्धमा।

त्यसैले होसियारीपूर्वक काम गर्नु पर्छ र संयमता र धैर्यता ममा रहनु पर्छ भनेर मैले काम गर्दै आएको छु। अन्ततः हामी गणतन्त्रमा पुग्यौं। संविधानसभाको पहिलो निर्वाचनमा म पराजित भए पनि क्याविनेटमा म थिएँ, प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा संसदमा गणतन्त्रको प्रस्ताव गृहमन्त्रीको हैसियतले मैले प्रस्तुत गरेँ र त्यो प्रस्ताव पारित भयो।

ज्ञानेन्द्रलाई सम्झाउन ४५ मिनेट लाग्यो
गणतन्त्र घोषणापछि राजा ज्ञानेन्द्रलाई बिदाइ गर्ने वेलामा पनि मैले नैं उनलाई ४५ मिनेट सम्झाउनु पर्यो। प्रधानमन्त्रीको प्रतिनिधिको हैसियतले तत्कालिन राजा ज्ञानेन्द्रसँग भेट्न म दरवार नै गएँ र ज्ञानेन्द्रले प्रेस मिट गरेर दरबार छोडे। 

शान्ति प्रकृया पुरा गर्न अझै मेरो आवश्यकता छ
नेपालको राजनीतिमा १० बर्ष अत्यन्त महत्वपूर्ण छ। शान्तिवहालीको प्रकृया र गणतन्त्रमा मुलुकलाई पुर्याउन मेरो अत्यन्तै महत्वपूर्ण भूमिका रह्यो। शान्ति प्रकृयाका केही काम वाँकी छन्, द्वन्द्वपीडितले न्याय पाउन र दोषीलाई कानुको कठघरमा उभ्याउन। 

यि दुवै कार्यका लागि गठीत दुइ आयोगले आफ्नो काम गर्न सकेका छैनन्। मलाई लाग्छ, यसको लागि मेरो भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ। दुईवटै आयोगका निष्कर्ष आउदा द्वन्द्वपीडितले न्याय पाएको हुनुपर्छ। कहिल्यै पनि समाजमा हिंसा नहुनेगरी वदलाव वा शत्रुताको भाव अन्त्य हुनेगरी सामाजिक एकता र मेलमिलाप पनि कायम हुनुपर्छ।

जुन सहमतिको आधारमा हामीले शान्ति प्रकृयालाई अघि बढायौं, त्यही स्पिरिट अनुसार काम हुनु पर्छ। शान्ति प्रकृयाका वाँकी कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि म संसद आउनु पर्छ। 

साढे तीन अर्बको बजेट कार्यान्वयन हुँदैछ
निर्वाचनमा जितेर आएपछि यो बर्षमात्र मेरो कार्यकाल पुरा भएको छ। यो बर्ष मैले चार बर्षे कार्यकाल पुरा गरेँ। यो चार बर्षे कार्यकालमा संविधान निर्माणमा मेरो महत्वपूर्ण भूमिका रहयो, यो दुनियाँलाई थाहा छ। अर्को कुरा यो कार्यकालमा मेरो निर्वाचन क्षेत्रमा साढे तीन अर्ब रुपैयाँ भन्दा बढी बजेट छुट्याइएका बहुबर्षिय आयोजनाहरु निर्माण हुन थालेका छन्। 

अहिले चारआलीदेखि केचनासम्मको वाटो निर्माण गर्न करिव एक अर्बको बजेट छुटिएको छ। भद्रपुरबाट भारततर्फ जाने मेचि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भद्रपुरदेखि राजगढसम्मको हुलाकी राजमार्ग निर्माण भइरहेको छ, त्यो यही आर्थिक बर्षमा सम्पन्न हुनेछ। खानेपानी र स्वास्थ्यका ठूला ठूला आयोजनाहरु निर्माणधिन छन्। 

मेचि अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउने भनेर प्रस्ताव अघि वढेको छ। भर्खरै मात्र २० करोडको लागतमा अस्पताल भवन निर्माण गर्ने भनेर सम्झौता भएको छ। 

मैले चार बर्ष कार्यकाल पुरा गर्नुअघि राजा ज्ञानेन्द्रको शासन चलेकै हो। राजाको यो कालमा एक करोडको कुनैं भवन पनि बन्न सकेनन्। राजाको सक्रिय शासनकालमा राजनीतिक दलका हामी नेता त सबै थुनामा थियौं, राजालाई विकास निर्माण गर्न त कसले रोक्थ्यो र?

एमाले र माओवादीसँग मेरो समझदारी छैन
मेरो निर्वाचन क्षेत्र अरु भन्दा बिशिष्ट छ। अन्य निर्वाचन क्षेत्रसँग मेरो क्षेत्रलाई म तुलना गर्न चाहन्न्। एमालेका नेता वा माओवादीको नेतासँग सझदारी भएको होइन, हिँजोका निर्वाचनको परिणामको कुरा गर्ने हो भने त म धेरै तल छु नि । तर कुनैं पनि पार्टीका कार्यकर्ताहरु स्वभिमानी छन्।

जनताको अधिकार स्वभिमानको लागि लडेका कार्यकर्ताहरु स्वभिमानको बिरुद्ध र जनताको अधिकारलाई दमन गर्नेका अवषेसका पक्षमा हुने छैनन भन्ने मैले विश्वास लिएको छु। जनमत तयार गर्ने यो मेरो विशिष्ट प्रयास नैं हो।  

आगामी निर्वाचनमा कांग्रेस पहिलो भएर आउँछ। तर हरेक क्षेत्रमा फरक फरक प्रकृतिको प्रतिष्पर्धा छ। माओवादीसँग भित्री सहमति कुनैं भएको छैन्। मेरो प्रतिष्पर्धा एमाले वा माओवादीसँग होइन्। अरुको वारेमा म टिप्पणी गर्न चाहन्न। 

यो निर्वाचनको ठूलो राजनीतिक महत्व छ। शान्ति प्रकृया, गणतन्त्र, लोकतन्त्र वाहाली गर्न र संविधान जारी गर्न नेतृत्वदायि भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले संघीय संरचनाको शासन व्यवस्थामार्फत सही ढंगले राजनीतिलाई अघि वढाएकोले यो संविधानको कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई जनताले जनादेश दिन्छन भन्ने मलाई विश्वास छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ