arrow

तेह्रथुम बासीको मुख्य शत्रु गरिबी, अशिक्षा र भौगोलिक विकटता : गुरुङ

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
sita-gurung.png

तेह्रथुम । नेपाली काँग्रेस केन्द्रिय सदस्य, भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमे जनताको सबैभन्दा ठुलो शत्रु गरिबी, अशिक्षा र भौगोलिक विकटता भएको बताएकी छन् ।  उनले ती शत्रुसँग जुध्नु अहिलेको प्रमुख आवश्यकता भएको भन्दै त्यसकोलागि नेपाली काँग्रेसले स्पष्ट खाका र योजनासहित चुनावी अभियानमा होमिएको बताइन् ।

 मंगलबार तेह्रथुमको लालीगुराँस नगरपालिका–६, सुङनाम र म्याङलुङ्ग नगरपालिका–३, ४ र ५ मा भएका छुट्टा–छुट्टै कार्यक्रममा सम्बोधन गर्दै  गुरुङले काँग्रेसले जनताको जनजिविका सुधार्न हरबखत् प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाले बाम–गठबन्धनको कुनै औचित्य नभएको बताए । उनले सत्ता लालचीका कारण वामपन्थीहरुले एकताको नाटक रचेको भन्दै अहिले अहिले मुलुकलाई बाम–एकताको नभई राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

उनले बाम–गठबन्धनका नाममा एमाले र माओवादीले मतदातालाई धोका दिएको समेत बताए । बामपन्थीहरुले हिजो हजारौँ सपना बाँडेर आज ती आश्वासनहरु पुरा नहुँदै अर्को नयाँ सपना देखाउँदै झुक्याएको आम मतदातामाझ छर्लङ्ग रहेको उनको भनाइ थियो ।

 काँग्रेस सभापति ढुंगानाले जिल्लाको प्रमुख शत्रुको रुपमा रहेको गरिबी, अशिक्षा, भौगोलिक विकटता जस्ता समस्याहरुको समाधानका लागि काँग्रेसले दुरगामी योजनासहित चुनावी अभियानमा मतदातामाझ पुगिरहेको धारणा राखे।

 कार्यक्रममा नेपाली काँग्रेस म्याङलुङ्ग नगर सभापति प्रेम तुम्बाहाम्फे, लालीगुराँस नगरसभापति अर्जुन माबोहाङ लगायत नेताहरुले मन्तव्य राखेका थिए । चुनावी अभियानको क्रममा नेपाली काँग्रेसको नयाँ नीति, घोषणा पत्र, कार्ययोजना तथा शिक्षित र बौद्धिक उम्मेदवारहरु प्रति आकर्षित भएर लालीगुराँस नगरपालिका–६ मा ७ जना वडा नं. ७ मा १७ जना नेता कार्यकर्ताहरु एमाले र माओवादी केन्द्र छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ