arrow

पक्राउ परेका भारतीय ‘सुटर’ पूर्वप्रहरी र भाजपाका सरपञ्च

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
pistol.jpg.jpeg

काठमाडौं । गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले आफू प्रहरीको जागिर छाडेर राजनीतिमा लागेको बताएका छन् । उनी पञ्जाबको लुधियाना जिल्लामा सरपञ्चमा विजयी भएको तथ्य खुलेको हो । सिंहको कार्यकाल गत वर्ष मात्र सकिएको थियो । सरपञ्च नेपालमा गाउँपालिका प्रमुखजस्तै पद हो । उनी भाजपाबाट चुनाव लडेका थिए ।

पक्राउ परेका अर्का भारतीय नागरिक हरदेवेन्द्र सिंह भारतको केन्द्रीय विद्युत् प्राधिकरणका सहायकस्तरका कर्मचारी हुन् । दुवैजनालाई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौैंका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

हतियार बोकेर नेपाल आउनुको कारण खुलेन 
पक्राउ परेलगत्तै प्रहरीले उनीहरू ‘हाई प्रोफाइल मर्डर’को उद्देश्यले काठमाडौं आएको अनुमान गरेको थियो । तर, तीन साता लामो अनुसन्धानमा उनीहरू हतियारसहित आउनुको कुनै उद्देश्य खुलेको छैन । 

आफूहरू घुम्नकै लागि नेपाल आएको उनीहरूले बताएका छन् । बरामद पेस्तोल लाइसेन्सप्राप्त नै भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहले भारतमा जग्गाको विषयमा आफ्नो विवाद भएको र त्यहीकारण लाइसेन्सप्राप्त हतियार बोकेर हिँड्ने गरेको बताएका छन् । जसवन्त लुधियानामा कृषि फार्म चलाउने गर्छन् ।

कुनै आपराधिक योजनाका साथ नेपाल आएको आशंकामा अन्दरदेशीय तथा आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरोले समेत उनीहरूमाथि सोधपुछ गरेको थियो । 

ब्युरोका एक अधिकारीका अनुसार हालसम्मको अनुसन्धानमा उनीहरूको कुनै ‘आपराधिक योजना’ देखिँदैन । भारतीय नागरिकहरू नेपालमा पेस्तोल लिएर आउनुले ‘सुटर’ भएको आशंका गरिएको हो ।

तर्साउन गोली चलाउनु परेको बयान
कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो वुथ डान्सबार’ मा बिलको विषयलाई लिएर गोली चलाउँदा उनीहरू गत १५ कात्तिकमा पक्राउ परेका थिए । गोली चलाएर भाग्ने क्रममा पेस्तोल र ५१ राउन्ड गोलीसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।

घटनाको अघिल्लो दिन मात्र उनीहरू पिबी १० एफएस ७४४९ नम्बरको सुजुकी स्विफ्ट कार चढेर सुनौली नाका हुँदै नेपाल आएका थिए । कार पनि प्रहरीले बरामद गरिसकेको छ । ठमेलको एक होटेलमा बसेका उनीहरू युवती खोज्दै सो डान्सबार पुगेका थिए । 

डान्सबारमा २२ हजारको बिल उठेपछि उनीहरूले कर्मचारीसँग झगडा गरेका थिए । आफूहरूमाथि कुटपिट हुन लागेपछि तर्साउन गोली चलाउनुपरेको उनीहरूले बयान दिएका छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ