arrow

किसानलाई छुन सकेन निर्वाचनले

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर ६ बुधबार
kisanako_news.jpg

पाल्पा । आसान्न प्रदेश सभा र प्रतिनिति सभा निर्वाचनको मिति नजिकिदै जाँदा जिल्लाका विभिन्न राजनितिक दलहरुले आफ्नो चुनावी अभियानलाई  गाँउ केन्द्रीत गरेका छन् । मंसिर महिना खेतीपाती भित्र्याउने समय भएकाले विभिन्न पार्टीका उम्मेदवारहरु मतदाताहरु सँग मत माग्न  खेतबारी मै पुग्ने गरेको पाइन्छ  । यति खेर किसानहरु खेतीपाती स्याहार्न मै ब्यस्त देखिन्छन् । आफुहरु खेतीपाती भित्र्याउन मै ब्यस्त भएकाले निर्वाचनको विषयले त्यत्ति प्रभाव नपरेको जिल्लाका किसानहरु बताउँछन् ।  

 माथागढी गाँउपालिका कसेनीकी माया रानालाई प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा कसलाई मत दिने भन्दा पनि खेतमा पाकेको धान कहिले स्याहार्ने  भन्ने चिन्ताले सताएको बताइन् ।  निर्वाचनमा पार्टीहरुका उम्मेदवारहरु घर दैलोमा आई  भोट माग्छन् ,   एउटा पार्टीका उम्मेदवार विजय हुन्छन् जान्छन् । तर हामीले वर्ष दिन सम्म खाने अन्न स्याहार्न छाडेर कहि कतै गए मुखमा हाल्ने खाद्यान्न समेत पाउन समस्या हुन्छ, त्यसैले किसानलाई निर्वाचन भन्दा खेतीको बढी पिर भएको उनले बताइन् ।  

माथागढीकै चिदिपानीकी सविता घर्ती पनि आफ्नो गाँउमा राजनैतिक दलहरुले निर्वाचनलाई लक्षित गरि आयोजना गरेको बैठकलाई छाडेर , मेला पातमा ब्यस्त हुनु परेको बताउछिन् ।  पुरानै चेहरा , पुरानै योजना , पुरानै नेता भएका कारण यस पटकको निर्वाचनको गतिविधिले छुन नसकेको उनले  बताइन् ।   पहिलो स्थानीय तहको निर्वाचन पनि खेती लगाउने समयमै थियो । संविधान कार्यान्वयनको चरणमा  पुगेको अवस्थामा आयोजित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि वर्ष भरि खाने खेती स्याहार्ने समयमा परेकोले किसानलाई चुनावी गतिविधि भन्दा खेती स्याहार्ने गतिविधिको चिन्ता बढी भएको तिनाउ गाँउपालिका दोभानका बालकृष्ण रानाले आफ्नो अनुभव सुनाए ।
 
यस अगाडी प्रतिनिधि सभा र सविधान सभाको निर्वाचन भए । त्यति बेला जनतामा एक प्रकारको उत्साह , जोस थियो । तर आज त्यस प्रकारको जोस पनि छैन । सबै पार्टीका कार्यकर्तामा जोस छैन् । निर्वाचन अगाडी बुटवल —तानसेन सडक खण्डमा पर्ने दोभान सिद्धाबाबा सडकको स्तर उन्नतीका कुरा ०७० का निर्वाचनमा उठाए तर समस्या जस्ताको तस्तै छन् । तिनै पुराना अनुहार पुरानै चुनावी  एजेण्डा लिएर आउदा यस पटकको निर्वाचनमा मतदान गर्ने जोसै नभएको तानसेन नगर —८ का एक पुराना कार्यकर्ताले गुनासो  गरे।

धान स्याहर्न साथ खेतमा आलु लगाउने समय हुन्छ , बारीमा तोरी पाक्ने समय हुन्छ । कहिले फुर्सद हुन्छ ? राजनितिक गर्ने नेताले प्रत्येक निर्वाचनमा ढाट्ने मात्र भएकोले राजनिति भन्दा खेतीको चिन्ता बढी भएको रिब्दीकोट गाँउपालिकाको सर्देवाका अगुवा कृषक विमल ढकालले बताए ।

खेतमा धान पाकीसक्यो जसो तसो काटेर सकियो बाकी काम सवै त्यसै छ , ज्यालामा कामदार पाउनै कठिन छ । परिश्रम नगरी हुदैन त्यसैले , निर्वाचन  भन्दा खेतीको चिन्ताले सताएको तानसेन नगर अर्गलीकी अगुवा महिला कृषक विमला गैरेले बताए । जिल्लाका ग्रामीण क्षेत्रका किसानहरुलाई निर्वाचनले छुन सकेको छैन । यो समय मानो छरेर मुरी भित्र्याउने भएकाले किसानले निर्वाचनलाई भन्दा खेतीपाती लाई प्रथामीकता दिएको पाईन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ