arrow

एक दुई जना कर्मचारीको सरुवा हुँदैमा निर्वाचनमा असर पर्दैन – निर्वाचन आयोग

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
election-commission.jpg.jpeg

बागलुङ । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले प्रदेश र प्रतिनिधी सभाको निर्वाचनलाई प्रभावकारी बनाउनका लागि दलहरुले आचार संहिताको पालना गर्नुपर्ने बताएका छन् । 

बुधबार निर्वाचन अनुगमनका सिलसिलामा बागलुङ्ग आएका पौडेलले निर्वाचन शान्त र निपक्ष बनाउनका लागि निर्वाचन संग सम्बन्धीत सबै पक्ष सकरात्मक बन्न जरुरी रहेको बताए । 

उनले निर्वाचन धेरै खर्चिलो नगराउन राजनितिक दलहरुलाई आग्रह गरेका छन् । निर्वाचनको मौन अवधिमा हुने पैसाको चलखेल र भोजभतेरलाई रोकेर मतदाता शिक्षा दिनुपर्नेमा जोड दिए ।

उनले निर्वाचनमा हुने खर्च कम गर्नका लागि निर्वाचन आयोगले दुबै निर्वाचन एकैचोटी गराउने निर्णय गरेकोले दलहरुले पनि खर्च कटौती गर्नुपर्नेमा बताए । 

नेपाल जस्तो गरिब मुलुकमा चुनाव जित्नकै लागि करोडौ खर्च गर्नु गलत हो पौड्यालले भने ,त्यसको लागि दलहरु सचेत बन्नुपर्दछ ।

उनले निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै सरोकारवाला एक हुनुपर्ने बताए । उनले निर्वाचनको समय बाह्य जिल्लाबाट हुने चलखेललाई रोक्नका लागि प्रहरी प्रशासनलाई सिमा सुरक्षालाई चुस्त बनाउन दिए ।

कार्यक्रममा निर्वाचनको मुखैमा आएर बागलुङ्गका प्रहरी प्रमुखको सरुवा गरेर राज्यपक्षले नै आचारसंहिताको उल्लंघन गरेको भन्ने सहभागिको प्रश्नको जवाफ दिनै आयुक्त पौड्यालले एक दुईजना कर्मचारीको सरुवा हुँदैमा निर्वाचनमा कुनै असर नपर्ने दाबी गरे । 

उनले गृहमन्त्रालयले स्थानको सुरक्षा संबेदनसिलताको बिषयलाई लिएर गृहमन्त्रालयले सरुवा गरेको हुनसक्ने धारणा ब्यक्त गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि पुर्णरुपमा सुरक्षा ब्यवस्था कडा पारिएको हुदा ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

उनले बुधबारदेखी मतदान केन्द्रमा मतदान अधिकृत सहायक मतदान अधिकृत लगायत सुरक्षाकर्मी र कर्मचारीको टिम खटाईसकेको जानकारी दिएका थिए । 

जिल्लाका ४२ मतदान केन्द्र संबेदनसिल र ६१ मतदान केन्द्र सामान्य रहेकाले सोही अनुसारको ब्यवस्था मिलाईएको उनले बताए । प्रजिअका अनुसार अन्य जिल्लाबाट हुने चलखेललाई रोक्नका लागि चेकपोष्ट राखी सुरक्षा ब्यवस्थालाई मजबुत बनाईएको छ । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव नवराज पौडेल, एमालेका गोबिन्द गौतम, माओबादी केन्द्रका यज्ञबल्लभ शर्मा, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुबेदी, एकिकृत राप्रपा राष्ट्रबादीका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नयां शक्ति पार्टीका चित्र साप्कोटा लगायतले जिल्लामा भएका निर्वाचन सम्बन्धी गतिबिधी बारे धारणा ब्यक्त गरेका थिए । 

सो अवसरमा पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष, पत्रकार किरण आचार्य प्रकाश बराल, तारानाथ आचार्य लगायतले जिज्ञासा ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ