arrow

एक मतको चार हजार र तीन दिनको यात्रा

logo
 हरि लामिछाने 
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
election.jpeg

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । 

यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र  चार हजार भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ । मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै दुई स्थानले ओगट्छ । कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन् । 

यही मंसिर १० गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले 'रेकर्ड' गरेर आफ्ना योजना र अपिल जनतासमक्ष पठाए । यो जिल्लाबाट एक जना मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधिसभा सदस्यका लागि कूल ७ उम्मेदवार मैदानमा छन् । प्रदेश ‘क’ र ‘ख’ मा आठ-आठ जना उम्मेदवार उठेका छन् । त्यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले पनि रेकर्डमार्फत नै भोट मागे । प्रदेश ‘ख’ मा पर्ने यी ठाउँमा कुनै उम्मेदवार पुग्न सकेनन् । उनीहरुले रेकर्डिङ पठाएर भोट मागे । 

फुङ्लिङका स्थानीय पत्रकारका अनुसार त्यहाँका मतदाता अन्यत्रै व्यवसायमा रहेकाले मत खसाल्न पनि कमै आउने गर्छन् । मतदाताको संख्याको तुलनामा आधा मात्र मत खस्ने गर्छ । काठमाडौँ र भारतका विभिन्न भागमा रहेर आफ्ना व्यवसाय गर्ने भएकाले उनीहरुलाई मतदान गर्न लगाउन पनि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने हुन्छ । मुलुकको सुदूरपूर्वको उत्तर छेउमा पर्ने यस जिल्लाका सबै स्थानका जनतालाई चुनावी अभियानमा सहभागी गराउन अत्यन्त कठिन भएपनि निर्वाचन आयोगले त्यहाँका जनताको मताअधिकारलाई सम्मान गर्दै आएको छ । 

जिल्लाका कठिन र विकट स्थानमा निर्वाचन अधिकारी खटाएर भएपनि त्यस्ता विकट स्थानमा बसोबास गर्दैआएका बालिग मतदाताको मतदानलाई सुरक्षित गर्ने कर्तव्यलाई आयोगले ध्यान दिएको छ । यसपटक पनि निर्वाचन आयोगले मंगलबार नै त्यहाँका लागि निर्वाचन टोली पठाइसकेको छ । जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रका लागि जना मतदान अधिकृत पठाइसकिएको छ । आवश्यक पर्ने सबै सामग्रीसहित निर्वाचन टोली बिहीबार त्यहाँ पुगेको छ । ती स्थानमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ । त्यहाँबाट मतपेटिका ल्याउन हेलिकप्टर चार्टर गर्नुपर्ने भएकाले अत्यन्त खर्चिलो हुन्छ । जनताका मताधिकार सुरक्षा गर्न निर्वाचन आयोग कटिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत कार्कीको भनाइ छ । 

निर्वाचन आयोगले यहाँका अतिविकट स्थानका एक हजार ३२१ मतदाताका लागि नगद रु १५ लाख ८५ हजार, सुरक्षाकर्मी बाहेक ७३ जना कर्मचारी र तीन दिनको एकतर्फी यात्राको प्रवन्ध मिलाउनुपर्छ । मतदाताको मत सुरक्षित गर्ने दायित्व पूरा गर्न ठूलो रकम, जनशक्ति र समय खर्चेर थोरै मत संकलन गर्नुपरेको यथार्थ निर्वाचन अधिकृत कार्की सुनाउछन् । उनका अनुसार यसपटक फक्ताङलुङ गाउँपालिकाको ग्याब्लामा ४९ जना मतदाता छन् । उक्त निर्वाचन केन्द्रका लागि नौ जना कर्मचारी खटाइएको छ भने उनीहरुलाई दुई लाख तीन हजार ७०० खर्च दिइएको छ । यस स्थानको एक मत सुरक्षित गर्न चार हजारभन्दा बढी पर्न गएको छ ।यो निर्वाचन केन्द्रबाट स्थानीय तह निर्वाचनका बेला मत खसाल्न पाउने मतदाताको संख्या ४० रहेको थियो भने २९ मत मात्र खसेको थियो । 

त्यस्तै, फक्ताङलुङ गाउँपालिका  ७ को याङ्यामा आधारभूत विद्यालयमा ५७ जना मात्र मतदाता रहेका छन् । त्यस निर्वाचन केन्द्रका लागि निर्वाचन आयोगले नौ जना कर्मचारी खटाएको छ भने उनीहरुलाई  दुई लाख १७ हजार रकम दिइएको छ । यहाँ पनि प्रतिमत झण्डै चार हजार खर्च बेहोर्नुपर्छ । यहाँ स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या ५५ रहेको थियो भने ३६ जनाले मात्र मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत कार्की भन्छन “प्रजातन्त्रमा जनताको मत अमूल्य हुन्छ ।” 

फक्ताङलुङ–६ घुन्सा माध्यमिक विद्यालयमा १३१ मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनमा १२६ मतदाता थिए तर ६६ जनाले मात्र मतदान गरेका थिए । अहिले  दुइ लाख १६ हजार ६०० निर्वाचन खर्च दिएर नौ जना कर्मचारीलाई यहाँ खटाइएको छ । सिदिङ्वा–१ को कालीखोला निमाविमा यसपटकको निर्वाचनमा मतदाता संख्या १८४ रहेको छ । निर्वाचनका लागि दुई लाख १२ हजार २०० खर्च दिएर नौ जना कर्मचारी पठाइएको छ । स्थानीय तह निर्वाचनका बेला यहाँ मतदाता संख्या १८१ र खसेको मत १५५ थियो । 

मिम्वाखोला गाउँपालिका  ५ को किलिङ माविमा अहिले मतदाता संख्या १९४ छ । स्थानीय तहको निर्वाचनमा १७० मतदाता भएकामा १०७ मत मात्र खसेको थियो । अहिले यस निर्वाचन केन्द्रमा नौ जना कर्मचारीलाई  एक लाख ६० हजार ७०० सहित पठाइएको छ । यसैगरी, मेरिङ्देन गाउँपालिका ६ को चागा आधारभूत विद्यालयबाट मत खसाल्ने मतदाताको संख्या २१८ छन् । स्थानीय तह निर्वाचनका बेला मतदाता संख्या १८५ थियो र १३० मतमात्र खस्यो । त्यहाँ एक लाख ४० हजारसहित नौ जनाको टोली पठाइएको छ । फक्ताङलुङ गाउँपालिकाकै ओलाङचुङगोलामा २२२ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा त्यहाँको मतदाता संख्या २०१ मात्र थियो भने १३१ मतमात्र खसेको थियो । त्यहाँ अहिले दुई लाख २० हजार २०० रकम सहित नौ जना कर्मचारी पठाइएको छ । 

त्यसैगरी, सिदीङ्मा गाउँपालिका १, सिदीङ्मा आधारभूत विद्यालय तेङ्बो निर्वाचन केन्द्रमा २६४ मतदाता छन् । स्थानीय तह निर्वाचनमा मतदाताको संख्या २६६ थियो भने २०० मात्र मत खसेको थियो । यस पटक रु दुई लाख १५ हजार ४०० रुकम दिएर १० जना कर्मचारीलाई त्यहाँ पठाइएको छ । सुरक्षाकर्मीको खर्च र हेलिकप्टरमार्फत मतपेटिका ल्याउँदा त्यसको खर्च गृह मन्त्रालयले व्यहोर्ने भएकाले त्यो खर्च यसमा नजोडिएको प्रमुख निर्वाचन अधिकृतको कार्कीले जानकारी दिए। ग्याब्ला प्रावि, याङ्मा आधारभूत विद्यालय, घोन्सा मावि, वडा कार्यलय ओलाङचुङगोला अति दूर्गममा पर्ने भएकाले गत ४ गते नै निर्वाचन अधिकृतसहितको टोली त्यसतर्फ पठाइसकिएको छ । 

यस जिल्लाको कूल जनसंख्या एकलाख ९१ हजार ८१७ रहेको छ भने कूल मतदाता ७९ हजार ३९७ जना छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ