arrow

धनराजले रोल्पा पुगेर भने–माओवादी केन्द्र लोभी पापीहरुको झुण्ड हो

logo
कविता उपाध्याय,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
dhanraj_.jpg

लिबाङ, रोल्पा । काँग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद धनराज गुरुङले माओवादी केन्द्र लोभी पापीको झुण्ड भएको आरोप लगाएका छन् । लोकतान्त्रिक गठबन्धनले सुवर्णावती गाउँपालिका ४ सुलिचौर रोल्पामा गरेको चुनावी सभामा गुरुङले यस्तो आरोप लगाएका हुन् ।

दश वर्षीय सशस्त्र युद्धको स्मरण गर्दै गुरुङले भने, “तत्कालिन माओवादीले हामीले बनाएका संरचनाहरु जनयुद्धका नाममा भत्काए ।  युवाहरुलाई कलम खोसेर बन्दूकको आडमा भिडन्तमा अघि सारे । बुर्जुवा शिक्षाका नाममा स्कूलहरु भत्काइए, पुस्तकहरु जलाइए, स्वास्थ्य चौकी, पुल–पुलेसा तथा बाटाघाटाहरु बाँकी रहेनन् । देशलाई विनाशतर्फ धकेलिरहेकै बेला,  युद्ध रोकेर शान्ति प्रकृयामा ल्याउनका लागि १७ हजार मान्छेको आहालमा होली खेलेर निष्किएका  प्रचण्डलाई  काँगे्रसकोे पहलमा गणतान्त्रिक मुलुकको पहिलो प्रधानमन्त्री बनाइयो ।  तर उनले जनतालाई संविधान दिन सकेनन् । जसका कारण नेपाली काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भयो ।” तरपनि अझै जनताका नाममा राजनीति गरेको भन्नेहरुले जनतालाई भ्रम बाँड्न छोडेका छैनन् ।

गुरुङले रोल्पाली जनता अबपनि भ्रममा परे देश खतरामा जाने बताए ।   “हामीले बनाएका संरचना भत्काउदै र विगार्दै जाने अनि काम गरेन भनेर हामीलाई उल्टो आरोप लगाउने ? कति सम्मको सत्य हो जनताले आफैले मूल्यांकन गर्नेबेला आएको छ, उनले भनेका छन् ।

फुटेको घैँटोमा चौविसै घण्टा पानी भरेपनि पोखिएर जाने बताउँदै पटक–पटक फुटेको पार्टीलाई मत खसाल्दा जनताको मतपनि त्यसैगरी पोखिएरै छताछुल्ल हुने उनले बताए ।

यस्तै, कार्यक्रमका काँग्रेस रोल्पाका सभापति तथा सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले जनयुद्धका नाममा जनताले विगतमा पाएको दुःख दोहोरिन नहुने बताएका छन् । उनले सर्वहाराका नाममा राजनीति गर्नेहरुले आफू र आफ्नो परिवारको मात्र भविष्य सुनिश्चित गरेको आरोप लगाए ।

विगतदेखि हालसम्म पनि समृद्ध रोल्पा बनाउने बहानामा रिङरोड र केवुलकारको सपना भोटमाग्ने दाउँमात्र भएको उनको तर्क छ । कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका लागि राप्रपाका समानुपातिक उम्मेदवार बालाराम घर्तीमगरले लोकतान्त्रिक गठबन्धनले जितेमात्र रोल्पालीको भाग्योदय हुने बताए । उनले रोल्पाली जनताको भाग्य रेखा कोर्ने सुनौलो अवसर आएका बेला सचेत र गम्भीर हुन समेत सबै रोल्पाली जनतालाई अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ