arrow

चुनावी चर्चा, उमेद्वार र गगन 

logo
डिकेन्द्र ढकाल,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
gagan.jpg.jpeg

केही समय अघिमात्र कान्तिपुर टेलिभिजनमा 'फायरसाइड' कार्यक्रम हेर्दै थिएँ। अन्तर्राष्ट्रिय ख्याती कमाएका बरिष्ठ आँखारोग बिशेषज्ञ डा. सन्दुक रुइतको विश्लेषण थियो, "यहि सिस्टम भित्र यस्तो अद्भूत क्षमता र कार्यदक्षता भएका व्यक्ति रहेछन्, जसलाई मैले अघिल्लो स्वास्थ्य मन्त्रालयमा देखेँ। मलाई उहाँहरुबाटै देश परिवर्तन हुन्छ भन्ने आशा छ ।" उनको यो टिप्पणी पूर्व स्वास्थ्यमन्त्री गगन थापाप्रति लक्षित थियो ।

गगन थापाले स्वास्थ्यमन्त्री भएर काम गर्दा उनको आफ्नै पार्टीको नेतृत्वमा सरकार थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री माओवादी केन्द्रकै कृष्णवहादुर महरा थिए। गगनसँगको भेटमा उनले मलाई भनेको याद छ, "राम्रो काम गर्न आफूसँग आवश्यक अध्ययन, स्पष्ट खाका र कार्यान्वयन क्षमता भएमा देश परिवर्तन हुन्छ; काम गर्न सकिन्छ। मेरो आफ्नै दलका प्रधानमन्त्री र अर्थमन्त्री नहुँदा समेत मैले काम गर्न सहयोग पाएको छु ।" 

डा. संदुक रुइतको भनाइ र गगन थापा स्वयंले सुनाएको अनुभवबाट मलाई के लाग्यो भने देशको लागि केही गर्छु भन्ने अठोट हुने हो भने छोटो समयमै पनि र आफ्नै दलको सरकार नभए पनि असल निष्ठा भएको नेता काम  गर्न पाउने ठाउँमा पुगेमा धेरै गरेर देखाउन सक्दो रहेछ।

हुन पनि गगनले स्वास्थ्यमन्त्री हुँदा डायलासिस, मृगौला प्रत्यारोपण, बाथमुटुरोग सल्यक्रिया लगायतका निशुल्क उपचार, विशिष्ट व्यक्तिले पाउने उपचार खर्च कटौती, विपन्नलाई राहत कार्यक्रम, सबै नेपालीलाई स्वास्थ्य बीमा, गरिब बिपन्नलाई निःशुल्क बिमा, सस्तो मूल्यमा औषधी पाइने व्यवस्था लगायत थुप्रै जनपक्षीय काम गरेर देखाइसकेका छन् । 

चुनावको मौसम छ। यसै बेला दल र उमेद्वारको चर्चा हुने गर्दछ । हामीले कस्ता नेता जिताउने भन्ने छनौटले नै आफ्नो निर्वाचन क्षेत्र र समग्र देशकै भविष्य निर्धारण गर्दछ। यस्तो बेला जिम्मेवार नागरिक समाजको अहम् भूमिका हुन्छ र चुप रहन आवश्यक छैन। अन्यथा असल नेतृत्व नभएमा अर्को चुनावसम्मको समयको बर्बादी हुन्छ जुन अपूरणीय क्षति नै हो । त्यसैले राम्रा क्षमता र सम्भावना भएका नेताहरु जुनसुकै दलका हउन्, जनताले चुनावमा जिताएर पठाउन आवश्यक हुन्छ र यसो गर्दा सामान्य नागरिकले राजनीतिक एवं दलीय पूर्वाग्रह माथि उठ्न समेत आवश्यक हुन्छ। 

दलीय पूर्वाग्रहबाट अत्यधिक ग्रसित हाम्रो समाजमा कुनै अमुक दलको अमुक नेताको पक्षमा बोल्दा उही दलको अन्ध समर्थकको आरोप लाग्ने खतरा छँदैछ। तर हामी दलीय पूर्वाग्रहबाट माथि उठ्नै पर्छ। गगनकै दल नेकाका वर्तमान नेतृत्वले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने गरी खेलेका कयौं भुमिका प्रति मेरो बिल्कुलै समर्थन छैन। असल र पूर्वाग्रहरहित भूमिकाको कुरा गर्दै गर्दा अच्युत पौडेल जो मेरा मित्र र एक परिपक्व नागरिक हुनुहुन्छ र वहाँको आफ्नै सैद्धान्तिक आस्था होला ! सामाजिक संजाल र त्यहाँ छाउने अनलाइन न्यूज पोर्टलहरुमा नेताहरुप्रति गरिने कपोलकल्पित लान्छनाबाट वाक्क भएर वहाँले हृदय देखिनै गरेको टिप्पणीबाट प्रभावित भएर पनि मैले यो आलेख लेखेको हुँ। वहाँको टिप्पणी थियो, "हाम्रो चुनावी संस्कृति अति फोहोरी भयो; हुँदै नभएका आरोप लगाउने र उमेद्वारले दिनहुँ तिनै कपोलकल्पित लान्छनालाई खण्डन गर्दै हिँड्नु पर्ने ! यसले हाम्रो समाजलाई भयानक नकारात्मकतातिर लाँदैछ। अरुले मिथ्या आरोप लगाएर फेसबुकमा शेयर गरेको "खबरकै"भरमा मैले चिनेका एक प्रबुद्ध व्यक्तिले समेत फेसबुकमा गगन थापाको बारेमा नकारात्मक टिप्पणी गरेको पाएँ र दू:ख लागेर कपोलकल्पित आरोपको प्रमाण दिएर वहाँलाई हटाउन आग्रह गरेँ र वहाँले हटाउनु पनि भयो।" 

हामीकोमा देशैभरी चुनावको बेलामा हुने प्रचारको शैलीको कुरा गर्दा उमेद्वारका क्षमता, विगतका कार्यसम्पादन र निष्ठामा आधारित चर्चा नभएर प्रतिद्वन्दीलाई खसाल्ने, मिथ्या आरोपमा मनोरन्जन लिनेमा परिणत भयो।  

चुनावको बेला जनताले उमेद्वारको बारे गुनासो गर्न अवश्य पाउनु पर्छ। गलत काम, फोस्रा आश्वासन, पूरा नगरिएका वाचा, अनपेक्षित आचरण आदिबारे बिल्कुल प्रश्न उठाइनुपर्छ। यी भनेका गुनासा हुन्, खबरदारी हुन् । नेताले जनतासँग भेटघाट गर्ने जनताका गुनासा सुन्न नै हो तर मिथ्या आरोप र गुनासो बिच फरक छ । 

गगन थापाकै निर्वाचन क्षेत्र कपनको वासिन्दा पनि भएकोले कपनवासीका हिसाबले मेरा पनि यस क्षेत्रका विकासबारे गुनासा छन्। बाटाघाटा धुलाम्मे छन्, खानेपानीको समस्या छ, ढलको समस्या उस्तै छ। तर यसको मूल्याङ्कन पनि धरातलीय यथार्थतामा हुनुपर्छ भन्ने लाग्दछ। ठूलो फैलावटको कपन भर्खरै बन्दै गरेको 'पेरीफेरी' सहर हो | ४/५ बर्ष अघिसम्म तत्कालिन कपन गाउँपालिकाका कति ठाउँमा बाटाघाटा  थिएनन् र त्यो बेला धुलोको सवाल नै भएन। भएका पनि साँघुरा थिए। अवश्य हो, निर्माणाधिन समय भएकोले धेरै समस्या छन्। मुख्य कुरो बिकास निर्माणमा उनले बजेटका लागि खटेका छन् की छैनन् र विकासबारे लागी परेका छन् कि छैनन् भनेर हेर्ने हो ।      

नेतामा हुनुपर्ने महत्वपूर्ण गुण जनताका दुःख प्रति सचेत रहनु र इम्प्याथी (समभाव ) हुनु हो । पछिल्लो विनाशकारी भूकम्प आएको केही घन्टामा नै गगन महाराजगञ्ज शिक्षण अस्पतालमा पुगेर बन्द भएको औषधि पसलहरु खोल्न लगाएर बाँड्ने काम गराउनु, भोलिपल्ट नै आफ्नो निर्वाचन क्षेत्रमा पुग्नु, 'च्यारिटी फण्ड' जुटाएर अस्थायी स्कुल टहरा र पक्की स्कुलहरु बनाउनु, क्षतिग्रस्त घरको पुनर्निर्माण र मर्मतका लागि घरघरमा इञ्जिनियर कार्यक्रम चलाउनु गगनबाट समभावले गरिएका कार्य हुन् ।

उनी आफ्नो राजनितिक करियरप्रति स्पष्ट इमान्दार छन् । इमान्दारिता राजनीतिमा ठुलो गुण हो । उनी पोखरीको डिलमा बसेर पानी फोहोर भएछ भन्नुमा उनी  कुनै अर्थ देख्दैनन् । फोहोर देख्नेले हाम फालेर पोखरी सफा गर्नु पर्दछ भन्ने उनको मान्यता हो । अवसर पाएको समयमा गगनले जनस्वास्थ्य सुधारमा लागिसकेका छन् र अब सार्वजनिक शिक्षामा पनि लाग्ने अठोट गरेका छन् । गगनजस्ता व्यक्ति जसका मुद्दाले सम्वन्धित निर्वाचन क्षेत्रको विकासमा मात्र हैन, यसका प्रतिफलले राष्ट्रियस्तरमा हुने निर्णयले आम नेपालीको दैनिक जीवनलाई प्रभावित पार्ने हुनाले दूरदृष्टी भएका उमेद्वारहरुलाई जुनसुकै पार्टीका भए पनि जिताएर  पठाएमा संसदमा जनताका कल्याण हुने मुद्दाले प्रवेश पाउँछ र कानुन र निति बन्न सम्भव हुन्छ । यसका लागि आफ्नो पार्टीमै जुध्न सक्ने आँटी नेताको पनि आवश्यकता पर्दछ । गगनले लोकमानसिंह कार्की प्रकरण, गोविन्द केसीको सङ्घर्ष, पछिल्लो शिक्षा विधयेक आदिमा आँटिलो संघर्ष गरेर देखाएका छन् र आवश्यक परेमा अन्य दलका सांसदहरुसँग मिलेर समेत काम गरेका उदाहरणहरु छन् । उनमा दह्रो आत्मविश्वास छ। उनले थुप्रै अन्तरविरोधका अवस्थालाई चिरेर यहाँसम्म आइपुगेका हुन् । 

अर्को कुरा, मुलुकले एउटा असल भिजिनरी र गतिशील नेतृत्व पाएमा देशले छोटो समय मै समृद्धि प्राप्त गर्ने कुरामा उनको दृढ आत्मविश्वास छ। उनको आत्मविश्वासले नै धेरै नेपाली युवालाई आशावादी बनाएको छ। धेरैले उनमा त्यो असल भिजिनरी र गतिशील नेतृत्व देखेका पनि छन् । 

त्यसै गरी उनको सबल पक्ष “इंटीग्रिटी“ अर्थात् सत्य निष्ठा हो । उनी निष्ठावान छन् । उनले संविधानसभाले तोकिएको समयसीमा भित्र संविधान लेख्न नसकेपछि सभासद्ले तलब सुविधा नलिने प्रस्ताव राखेका थिए। संविधानसभाले त्यसलाई अनुमोदन नगरे पनि उनी आफैले भने थप अवधिभर कुनै पनि तलब सुविधा लिएनन्। त्यसरी तलब सुविधा नलिने उनी मात्र एक थिए । उनीसँग धेरैले आशा र विश्वास राखेको पनि  सायद उनले देखाएको सत्य निष्ठाले हो । 

सैद्धान्तिक हिसाबले गगन  विकास र समृद्धिबारे स्पष्ट छन् | गगनले नेपाली काँग्रेसलाई के कस्तो योगदान पुरयाएका छन्, त्यो काँग्रेसजन र नेका पार्टीले मूल्यांकन गर्ने, जान्ने बुझ्ने कुरो हो । हामीले जानेको बुझेको कुरा के हो भने गगन थापाले  लोकतन्त्रमा कल्याणकारी मोड़ेलको वकालत गर्दैछन् र राज्यलाई कल्याणकारी बनाउन नीति निर्माण र कार्यान्वयन तहमै काम गर्दछन् । उनले नेकाभित्र समयको चाललाई बुझी पार्टीलाई समयानुकूल ढंगले परिवर्तनको मार्गमा हिंडाउने कामको नेतृत्व गरेको देखिन्छ । उनी निडर र खरा व्यक्ति हुन्। उनी कल्याणकारी राज्य व्यवस्थाका पक्षमा दृढ छन् । उनले कल्पना गरेको राज्य लोककल्याणकारी राज्य हो। उनको धारणा अनुसार शिक्षा, स्वास्थ्य र विकासका आधारभूत संरचना निर्माण र संस्कृति संवर्द्धन (जस्तै सड़क, ढल, खानेपानी, प्रदुषण मुक्त बस्नयोग्य आवास गाउँक्षेत्र/सहर, पार्क, खेलकूद मैदान र सांस्कृतिक धरोहर र कला) राज्यको दायीत्व हो र अन्य उद्योग धन्दा, व्यापार आदिमा निजी क्षेत्रका निम्ति लगानीमैत्री वातावरण बनाई  निजी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने र समृद्धीतिर लम्किने हो। यो लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ।  

राजनीति सजिलो काम हुँदै होइन। अनेक लांछना, आरोप, गुनासा खेपेर, चिरेर र जनतालाई विश्वास दिलाएर जनताकै लागि गरिने पेशा हो। सबै उमेद्वारमा केही न केही क्षमता र अठोट भएर नै चुनाव लड़्न उभिएका हुन्छन्। केहीले अहिलेको व्यवस्थालाई बढ़ो सस्तो टिप्पणी गरेर 'लुटतन्त्र' भन्ने गरेको सुनिन्छ। यो अपरिपक्व र उरन्ठ्याउलो टिप्पणी हो। हाम्रो मुलुकमा अहिले प्राप्त व्यवस्था धेरै नेता र जनताको बलिदानबाट मात्र सम्भव भएको लोकतान्त्रिक व्यवस्था हो। केहीले मन्त्र घोके झैँ दोहो-याई राख्ने गरेको जस्तो 'लोकतन्त्र प्राप्तीका लागि लड्ने जति सबै बेइमान' र आफूमात्र 'ईमान भएको' भन्नु पनि राजनीतिक-अनैतिक कुरो हो । हाम्रा धेरै धेरै नेताहरु ईमान र त्याग भएका नै छन् । अनि देशको विकासको लागि दूरदृष्टि र राजनीतिक-आर्थिक मोडेल चाहिन्छ नै । नेताले देश बनाउन जोखिम उठाउने हो। 'राम्रो गर्न नसकौंला तर बिगार्दैनौं' जस्ता यथास्थितिवादी र जोखिम नउठाउने 'सेफ जोन'मा बसेर गरिने राजनीतिले देश कदापि अघि बढ्दैन। 

हामीसँग सबैजसो दलमा असल नेता छन् । चुनावमा देश बनाउँछौँ भनेर लागेका उपलब्ध नेताहरू मध्येबाट नै असल मध्येका अझ असल र भरपर्दोलाई छान्नु पर्दछ र यसो गर्दा कहिलेकाहीँ आफ्नो आस्था र पार्टी मात्र नहेरी आ-आफ्ना क्षेत्रबाट मुलुक बनाउनका निम्ति संभावनासहितका  नेतालाई छान्नु पर्दछ ।

गगन सिक्न चाहने मान्छे हुन् । उनी बौद्धिक व्यक्तिहरुसँग छलफल गर्न, परामर्श गर्न रुचाउँछन् । उनको राजनीति भनेको विकास राजनीति हो । उनले विषयगत दक्षता राख्नेहरु जस्तो शिक्षा, स्वास्थ्य, कृषि, पर्यावरण, जलश्रोत आदिका विशेषज्ञहरुसँग अन्तरक्रिया गर्न रुचाउँछन् र नियमित सम्पर्कमा रहन्छन्। उनी सामाजिक, आर्थिक, पर्यावरण, दीगो विकासका विषयमा छलफल गर्न रूचि राख्दछन् । नयाँ दृष्टिकोण र नयाँ नयाँ धारणा जान्न चाहनु नै उनको रूचि हो ।  उनी आफैँ अध्ययनशील छन् ।

गगनका कमजोरीका कुरा गर्दा  उनको कमजोरी उनीसँग समय माग्नेलाई स्पष्टसँग “सक्दिन“ भन्न नसक्नु पनि हो ! समयको अभावको बाबजूद पनि उनी थुप्रै निमन्त्रणा स्वीकारिदिन्छन् र दौडिरहन्छन्, मानौं उनको जीवनमा विश्राम नै छैन ।   

समग्रमा मलाई घत लागेको कुरो चाहिँ धेरैले गगनको नेतृत्वको चाहना गर्नु एउटा प्रतीकात्मक सन्देश पनि हो। शिक्षित युवा राजनीतिमा अनिवार्यता भएको संकेत हो । युवालाई राजनीतिमा आकर्षण हो । पुस्ता प्रतिनिधित्व परिवर्तनको चाहना हो । अर्को राम्रो कुरो, नेपाली राजनीतिको पछिल्लो समयमा मैले के अवलोकन गरेको छु भने द्वन्दको समयताका शिक्षित युवाहरुमा राजनीतिप्रति नै विद्वेष, घृणा र उदासीनता ह्वात्तै बढेको थियो तर  अहिले सामाजिक संजालमा युवाहरुले राजनीतिमा सक्रीय चासो देखाएको पाइन्छ । यसमा पनि गगनजस्ता शिक्षित अब्बल युवाहरु राजनीतिमा आएर नै हो। उनी रोल मोडेल भइदिएर हो। 

यहाँ गगन थापाको चर्चा कुनै एक निर्वाचन क्षेत्रका असल मध्येका अब्बल नेताको रुपमा गरिएको हो।  अन्य क्षेत्रका कुनै पनि दलका अब्बल नेताको चर्चा हुनु पर्दछ। उनकै प्रतिस्पर्धीहरुको पनि क्षमताको र गुणको आधारमा चर्चा हुनै पर्दछ। जनताले बस्तुगत गुणको आधारमा उमेद्वारलाई चिन्न पाउनु पर्दछ।

( ढकाल काठमाडौँ  क्षेत्र नम्वर ४ कपनका वासिन्दा हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ