arrow

राजपाका बागी उम्मेदवार सहित सय भन्दा वढी कांग्रेसमा प्रवेश

सप्तरीमा मधेशमैत्री पार्टी कांग्रेसलाई जिताउन अनुरोध

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार

राजविराज(सप्तरी) । पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरीले मधेशका विवेकशील मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मधेशमैत्री प्रमाणित भैसकेको राजनीतिक दल नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाउन मतदातासंग अनुरोध गरेका छन् ।

उनले राजविराज नगरपालिका वडा नं. १२ मा बुधबार आयोजित पार्टी प्रवेश तथा प्रचार अभियानमा कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै ऐतिहासिक दायित्व निर्वाह गर्दै आएको र आमजनताको राजनीतिक, आर्थिक र मौलिक अधिकारको लागि निरंकुश शासनका विरुद्ध लडेर विजय हासिल गरेको उल्लेख गर्दै मधेशी जनताका सरोकारका विषय पनि नेपाली कांग्रेस बाहेक अरुले संबोधन गरी पार लगाउन नसक्ने बताए ।

उनले संविधान संशोधन लगायतका काम नेपाली काँग्रेस जिते मात्रै सम्भव हुने भएकाले सबैलाई रुख चिन्हमा मत दिई कांग्रेसका उम्मेदवारलाई बिजय बनाउन आग्रह गरे।

क्षेत्र नं. २ को प्रदेश(क) का प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार महानन्दप्रसाद यादवले “मधेशको पहिचान र नेपाली काँग्रेसको अभियान”को मुल नाराले मधेशी जनताको मन छोएको बताए । उनले संविधान संशोधन र मधेशी जनताको पहिचान सहितको सम्मानका साथै विकासका लागि नेपाली काँग्रेस भन्दा विश्वसनीय राजनीतिक दल अरु नभएको बताउदै नेपाली काँग्रेसलाई बिजय बनाउन अनुरोध गरे।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष पदमा राजपा पार्टीको बागी स्वतन्त्र उम्मेदवार दिइएका राजकुमार यादवको नेतृत्वमा एक सय एक जनाले पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व सांसद सकलदेव सुतिहार, प्रदेश नं. २ का समानुपातिक उम्मेदवार राधाकान्त देव, सप्तरीका जिल्ला सचिव राम कुमार यादव, महाअधिवेश प्रतिनिधि सदस्य ईरसाद अन्सारी, दलित संघ सप्तरीका सभापति भुवनेश्वर साफी लगायतका वक्ताले नेपाली काँग्रेसलाई बिजय गराउन अनुरोध गरेका थिए ।

कार्यक्रम पार्टी सभापति श्यामप्रसाद यादवको अध्यक्षतामा  सम्पन्न भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ