arrow

प्रमुख निर्वाचन आयुक्तको आव्हान ! ‘सुरक्षाको कुनै समस्या छैन ढुक्क भएर मतदान गर्नुहोस्’ 

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
MKK_8769.JPG

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् । 

उनले भने, ‘केही ठाउँमा भएका छिटपुट घट्नालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नको लागि निर्वाचन आयोग यही मञ्चबाट अपिलगर्न चाहन्छ ।’ 

उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए ।
 
उनले भने,‘फाट्टफुट्ट भएका घट्नालाई अतिरञ्जित बनाउने काम भैरहेको छ, ढुक्क हुनुहोस सुरक्षाको पूर्ण प्रत्याभुति छ, अझै कुनै चासो भए यहाँहरुले सुरक्षा कार्ययोजनाबारे गृह मन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ ।’ 

उनले मौन अवधि सुरु भएकोले सुरक्षाको पूर्ण प्रत्याभुतिको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको दोहोर्याए । 

उनले थपे,‘अब डर र त्रासको अवस्था छैन ।’

यादवले सरकारले निर्वाचनआचारसंहिता पूर्ण रुपमा पालना गरेको समेत स्पष्ट पारे । उनले भने, ‘सरकारले आचार संहिताको पूर्ण पालना गरेको छ, यसमा कुनै समस्या छैन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिता पालना गर्नुभएको छ ।’

यादवले विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमतिलिएर नै सरुवा गरेको स्पष्ट पारे । यादवले थपे, ‘हामीसँग सहमति नलिएका कामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं ।’

उनले सरकारले आचारसंहिताको पालना गरेको बताउँदै भने, ‘सरकारले जे जस्तो कामगरिरहेको छ, उहाँहरुले हाम्रो सहमतिमै गर्नुभएको छ, आचार संहिता पालनामा कम वा बढि त भैहाल्छ नि । तर आचारसंहिता नै पालनाभएनभन्नु गलत हुन्छ ।’

यादवले मौन अवधिमा आचार संहिताको पूर्ण पालना गर्न उम्मेद्धवार तथा दलका नेता र कार्यकर्ताहरुलाई आग्रह गरे । 

त्यस्तै उनले आमसंचारलाई पनि समाचार सम्प्रेषण तथा प्रशारण गर्दा अतिरञ्जित नगर्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ