arrow

मतपत्रको धेरै ठाउँमा मतदाताले छाप लगाउने डर

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
matpatra.jpg

अछाम । अछामको बान्नीगढ जयगढ गाउँपालिका३ की सरु ताम्राकार नमूना मतदानकै बेलामा निकै अलमलिएको बताइन् ।

“तीन मतपत्रमा भोटहाल्नु पर्दोरहेछ म त अल्मलिएँ” उनले भनिन्, “कता खसाल्ने, के गर्ने भनेर थाहै भएन ।” नमूना मतदान बजार क्षेत्रमा मात्रै गर्ने तर जान्ने बुझ्नेले नै मत बदर गरेको पाइएको स्थानीय प्रेम ताम्राकारले बताए । जयगढमा गराइएको मतदानमा प्रतिनिधिसभातर्फ कूल खसेको ५१ मतमध्ये पाँच मत, प्रदेशसभातर्फ छ मत र सबैभन्दा धेरै समानुपातिकतर्फ नौ मत बदर भएको थियो । कुनैमा ल्याप्चे लगाइएको, कुनैमा छ ठाउँमा सम्म स्वस्तिक छाप लगाइएको थियो । 

स्थानीय तहका बेला सात छाप लगाउनु पर्ने भनेर सिकाइएकाले अहिले पनि त्यसैगरी भोट खसाल्नु पर्ने धेरैको बुझाइ रहेकाले पाँच छ ठाउँमा छाप लगाइएको हुन सक्ने जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अछाममा नमूना मतदान गराउन शुरु गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतदेखि स्थानीयवासीलाई नमूना मतदान गराइएको छ । 

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवारका लागि भोट खसाल्न राखिएका छुट्टाछुट्टै रङका मतपेटिकामध्ये कुन मतपत्र कहाँ खसाल्ने भनेर मतदाता अल्मलिएको देखियो । कसरी मत संकेत गर्ने र मतपत्र पट्याउने भनेर अल्मलिएका सहभागी पनि भेटिए । निर्वाचन आयोगले समयमै मतदाता शिक्षा गाउँगाउँमा पुर्याउन नसक्दा अछामका मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको हो । मत माग्दै नेता गाउँगाउँ पुगिसके पनि मतदान प्रक्रियाबारे प्रशिक्षणका लागि मतदाता शिक्षा स्वयंसेवक पुगिनसकेको स्थानीयवासीले बताएका छन् । 

मतदानको दिन मतदान केन्द्र तथा मतदान स्थलमा गर्नुपर्ने व्यवस्थापनका बारेमा जानकारी गराउन नमूना मतदान गराइएको र व्यवस्थापनका बारेमा जानकारी गराइएको मतदाता शिक्षा समन्वयकर्ता खडक अधिकारीले बताए । साथै मत बदर हुन नदिन प्रशिक्षणका लागि जिल्ला निर्वाचन कार्यालयले १९७ स्वयंसेवक परिचालन गरेको छ । तर, सबैतिर पुगेर मतदान प्रक्रियाबारे जानकारी गराउन पर्याप्त समय नभएको उनले बताए । “एक दिनमा एकपटक सबै स्वयंसेवकले गरेको क्रियाकलापबारे जानकारी लिएकै हुन्छौँ ।” उनले भने, “एक घरका सबैलाई जम्मा गरेर सिकाउन भनेका छौँ र सोही घरबाट एकजनाको दस्तखत र नम्बर ल्याउन पनि भनेका छौँ ।” 

निर्वाचन कार्यालयबाट खटाइएका स्वयंसेवकले काम गरे नगरेको बुझ्नलाई निरन्तर निगरानी गरिरहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । मत बदर हुन नदिन जिल्लाको कमलबार, विनायक, मंगलसेन, जयगढ, साँफेबगरमा नमूना मतदान गराएर सकिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका मतदानमा खटिने कर्मचारीलाई मतदान केन्द्रको लेआउट मिलाउने, बाकस राख्ने तरिका, मतपत्र दिने तरिकालगायतका बारेमा जानकारी गराइएको छ । पहिलो चरणमा कर्मचारीलाई नमूना मतदान गराइएको र अझै पनि जिल्लाका विभिन्न स्थानका मतदातालाई नमूना मतदान गराइने कार्यालयले जनाएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ