arrow

मधेश छुट्टै राष्ट्र होइन, हुनै सक्दैन : केशव झा (अन्तर्वार्ता)   

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
keshab_jha_.JPG

राजपाको घोषणापत्रको प्रस्तावनामै नेपाल बहुराष्ट्रिय देश भनेर उल्लेख गरिएपछि तरंग आएको छ । राजपाले राष्ट्रको परिभाषामा मधेश एक राष्ट्र हो भन्ने शब्द उल्लेख गरेको भन्दै राजपाभित्रैबाट असन्तुष्टि चुलिएको छ । राजपाको अध्यक्षमण्डलका बहुमत सदस्यहरु पार्टीको घोषणापत्र सार्वजनिक समारोहमै उपस्थित भएनन् । अध्यक्षमण्डका केही सदस्यहरुले त संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका अर्का सदस्य राजेन्द्र महत्वको स्वेच्छाचारी कदम भन्दै चर्को आलोचना गरेका छ । दोस्रो तहका अधिकांश नेताहरुले अब बैठकमा यसको अवाफ खोज्ने बताएका छ । असन्तुष्ट मध्येका महासचिव केशव झालाई हामीले तपाईहरुको असन्तुष्टी के हो भनि सोधेका छौँ । 

० तपाईंको पार्टीको घोषणापत्र सार्वजनिक भयो ?
– हिजो बिहीबार जलेश्वरबाट सार्वजनिक भएछ भन्ने जानकारी मैले मिडियाबाट प्राप्त गरेँ । घोषणापत्र सार्वजनिक हुनुभन्दा अगाडि हामीलाई कुनै सूचना प्राप्त भएन । हामी चुनाव प्रचार प्रसारमा थियौं, जानकारी नआएकाले हामी अनुपस्थित भयौं ।

० उसो भए जानकारीबिनै घोषणापत्र जारी गरियो त ?
– अध्यक्षमण्डलको जिम्मा घोषणापत्र बनाएर जारी गर्नुपर्ने थियो, तर अध्यक्षमण्डलबाट हामीलाई यस विषयमा कुनै जानकारी गराइएन ।

० जानकारी नगराउनुको कारण ? 
– सबैजना चुनाव प्रचारमा व्यस्त हुने भएकाले संयोजकले कसैलाई डिस्टप गर्न चाहनु भएन, त्यसैले उहाँ आफू रहेकै ठाउँबाट सार्वजनिक गर्नुभयो

० घोषणापत्र विवादित बन्यो है ? 
– बहुराष्ट्रिय शब्दमा विवाद निकालिएको छ । राष्ट्रको सन्दर्भमा राजनीतिक शास्त्रमा एक प्रकारको परिभाषा छ, त्यसलाई फरक देखाउने काम घोषणापत्रले गरेको छ । राज्य भनेको राजनीतिक संयन्त्र हो, राष्ट्र भनेको विविधताको सन्दर्भमा घोषणापत्रमा जसरी चर्चा गरिएको छ, त्यो राजनीतिकशास्त्रको परिभाषाअनुसार नै गरेजस्तो लाग्छ । जुन कुराको औचित्य छैन, र, जसरी व्याख्या गरिएको छ, त्यो गलत छ । मधेश एक राष्ट्र हुँदै होइन । त्यसरी हेर्ने हो भने मधेशभित्र अलग अलग राष्ट्र छन् । त्यही व्याख्याअनुसार मिथिला, भोजपुरा र अवध बेग्लाबेग्लै राष्ट्र हो । मधेश एउटा राष्ट्र होइन, जसरी नेपाल बहुराष्ट्रिय भनेर चर्चा गरिएको छ, त्यस्तै प्रकारले मधेश पनि बहुराष्ट्रिय हो । त्यसकारण आफ्नो क्षमताअनुसारको व्याख्या गर्नु हुँदैन । वास्तवमा हामीले यही मुलुकमा आफ्नो अधिकार खोजेको हो । समानता र अधिकारको लडाइ लडिरहेका बेला यसरी राष्ट्र र राज्यका बीचमा फरक देखाउनुपर्ने अहिलेको आवश्यकता होइन । संघीयतालाई छोडेर राष्ट्रको कुरामा बल दिनु राम्रो होइन ।

राष्ट्रको परिभाषाले पार्टीलाई बद्नाम गराउने, अनावश्यक रुपमा विभाजित बनाउन खोजियो । त्यसैले घोषणापत्रको यो पार्टसँग हामी सन्तुष्ट छैनौं । घोषणापत्र निर्माणको जिम्मा नेताको छ भन्दैमा अन्य साथीहरुसँग राय सल्लाह नै नगर्ने रु एकतर्फी रुपमा गर्ने हो भने आखिर हामीले यो पार्टी बनाइयौं किन रु हामीले ६ वटा पार्टी मिलाएर राजपा बनाएका हौं, अभिभावकले सबैको भावना समेटेर अघि बढ्नु राम्रो हुन्छ । संविधान संशोधन हाम्रो माग हो, त्यसकालागि दुईतिहाइ मत चाहिन्छ । हाम्रै कारणले मुलुकमा संघीयता र समावेशिता आएको छ । यसलाई बलियो बनाएर लैजानुपर्छ ।

० घोषणापत्र बहिष्कार गर्नुहुन्छ ? 
– बहिष्कार गर्ने भन्ने कुरा भएन । बहुराष्ट्रसम्बन्धी व्याख्यासँग हाम्रो असहमति हो । हामी अब बस्ने बैठकमा यसको जवाफ माग्छौँ । जनतालाई भ्रममा पार्न पाइँदैन । हामीले यसको लागि संघर्ष गरेको पनि होइन । हामीले केन्द्रीकृत शासन सत्ताको विकेन्द्रीकरण र शक्तिको हस्तान्त्रण अर्थात् सिंहदरबारको अधिकार गाउँ–गाउँ, टोल–टोलमा लैजाने भनेर स्रघीय मुलुकको परिकल्पना गरेका हौँ । हामीले त्यससैका लागि संघर्ष गरेको कुरा कहीँ छुपेको छैन । कुनै समयको लागि उहाँहरुले भनेको बाइसे चौविसे राज्यको परिकल्पना ठिक थियो होला अहिले त्यसको कुनै अर्थ छैन । त्यो वकवास हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ