arrow

निर्वाचन अनुगमन, उलंघन गर्नेमा ठूला दल नै अग्रपङक्तिमा

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिताको काठमाडौंमा पालना के कस्तो ढंगबाट भइरहेको छ भन्नेबारेमा शुक्रबार अनुगमन गरेका छन्। 

सो क्रममा चाबहिलको लामपोखरी, पशुपति मित्रपार्क क्षेत्र र बानेश्वरको संगमचोकमा निर्वाचन आचारसंहिता विपरीत सडकमा वारपार गरी टाँगिएका पार्टीका चिन्ह अंकित तुल  ब्यानर प्रचारजस्ता प्रचार सामग्री हटाउने कार्यक्रममा उनी आफै संलग्न भए । अनुगमनको क्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को टाँगिएका चुनाव चिन्ह अङ्कित तुल ब्यानर र उम्मेदवारको फोटो अंकित फलेक्स हटाइएको थियो । 

जनताको मनोविज्ञानमा दिग्भ्रमित हुनेगरी तथा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार भइरहेको छ भन्ने आम जनताको सिकायतका आधारमा निर्वाचन आयुक्त शाहसहितको टोलीले शुक्रबार अनुगमन गरेको हो । टोलीले मीनभवनस्थित प्रयाग मार्ग, वसन्तुपर नजिक झोछेँ, न्यूरोडको पाको र रञ्जना गल्लीमा अस्वभाविकरुपले प्रदर्शन गरिएका निर्वाचन प्रचार सामग्री तत्काल हटाउन लगाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएका छन् । 

अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले यस्ता भद्दा खाले प्रचारप्रसारका सामग्रीको प्रदर्शनले मतदातालाई दीग्भ्रमित तुल्याउने भएकाले आयोगले तत्काल हटाउन निर्देशन दिएको जानकारी दिए । उनले भने “निर्वाचन आयोगको सरोकार भनेको मतदाता कुनै पनि किसिमले प्रभावित हुनुहुदैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरुप बनाउने काम भएको छ, यो सभ्य नागरिकका लागि उपयुक्त देखिन्न ।” 

निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्ने सन्दर्भमा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै आयुक्त शाहले आचारसंहिताको पालना प्रचारप्रसारमा मात्र नभइ आमसभा र र्यालीमा पनि देखिनुपर्दछ । निर्वाचन आचारसंहिता पालनामा अवज्ञा गरेको खण्डमा आयोगले आगामी दिनमा कठोर निर्णय लिनपछि नपर्ने पनि उनले बताए । निर्वाचन आचारसंहिताले आचारसंहिता विपरितका झण्डा, तुल, ब्यानर सकडको एक छेउबाट अर्को छेउसम्म टाँग्न निषेध गरेको छ । अनुगमनका क्रममा प्रमुख दलका उम्मेदवारबाट आचारसंहितको ठाडो उलंघन भएको पाइएको थियो । 

काठमाडौँलगायत उपत्यकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दोस्रोचरण अन्तर्गत मंसिर २१ गते हुँदै छ । आयोगले आगामी दिनमा आचारसंहितको पालनाको विषयलाई निरन्तर निगरानी गर्ने जनाएको छ । टोलीमा निर्वाचन आयोगका सह न्यायाधीवक्ता गीता तिमिल्सिना, काठमाडाँैका प्रमुख जिल्ला अधिकारी केदार शर्मा र काठमाडौँका प्रहरी प्रमुख रवीन्द्र धानुक सहभागी थिए । रासस
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ