arrow

आफ्ना कार्यकर्तालाई आक्रमण नगर्न एमालेलाई काँग्रेसको चेतावनी

देशका विभिन्न भागमा काँग्रेस कार्यकर्तमाथि सांघातिक आक्रमण

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
congress-party-office-1.jpg.jpeg

काठमाडौँ ।  नेपाली काँग्रेसले निर्वाचनको संघारमा आफ्ना कार्यकर्तालाई लक्ष्य गरी नेकपा (एमाले)का कार्यकर्ताबाट भौतिक आक्रमण भएको भन्दै त्यस्ता क्रियाकलाप नदोहोर्‍याउन चेतावनी दिएको छ ।

काँग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी पहिलो चरणको निर्वाचनको संघारमा बाजुरा र धादिङमा काँग्रेसका कार्यकर्ताको हत्या नै गर्ने मनशायले एमाले कार्यकर्ताबाट भौतिक आक्रमण भएको भनी निन्दा गरेको छ ।

“यस घटनाले शान्तिपूर्ण एवं निर्बाधरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलाप पुनःनदोहोर्‍याउन काँग्रेस चेतावनी दिन चाहन्छ”, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जारी विज्ञप्तिमा उल्लेख छ ।

बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति एमालेका करिब ४० जना कार्यकर्ताको समूहको धारिलो हतियार प्रहारबाट काँग्रेसका स्थानीय कार्यकर्ता कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाई र लाल नेपाली घाइते भएको र डम्बर थापा, रमेश नेपाली र किसन नेपाली अझै सम्पर्कविहीन अवस्थामा रहेको पार्टीले जनाएको छ ।

घाइतेको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । एमालेका कार्यकर्ताले घाइते कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगदसमेत लुटेको र वडाध्यक्ष राजेशबहादुर सिंहलाई पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको काँग्रेसले आरोप लगाएको छ ।

त्यस्तै धादिङको धुवाँकोट गाउँ कार्यसमितिका काँग्रेस सभापति सन्तोष बस्ताकोटीलाई एमालेका वडा प्रमुखसहितको नौ जनाको समूहले आज बिहान ६ बजे सुतिरहेको अवस्थामा खुकरीले आक्रमण गरी गम्भीर घाइते बनाएको काँग्रेसको आरोप छ । उहाँको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले आजै बिहान हेलिकप्टरबाट काठमाडौँ ल्याई ट्रमा सेन्टरमा उपचार भइरहेको काँग्रेसले जनाएको छ ।

काँग्रेसले लोकतन्त्रप्रतिको उर्लँदो अपार जनलहरबाट अतालिएर दिनानुदिन काँग्रेसका नेता एवं कार्यकर्तालाई लक्ष्य गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले एमालेले सुनियोजित तवरबाट बारम्बार घटना दोहर्‍याइरहेको आरोप लगाउँदै काँग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक, अमतदाता सो घटनाबाट रत्तिभर विचलित नहुने जनाएको छ ।

काँग्रेसले उक्त घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा कानूनी कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ