arrow

काँग्रेस नेता निधिलाई फोक्सोको संक्रमण, भारतीय राजदूत पुगे भेट्न

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
NIDHI.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो ।

धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए ।

उनले भने, “उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।”

एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा रहेका निधि छाती दुखेपछि मात्र अस्पतालमा भर्ना भएका थिए । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बताए ।

साथै नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उपचाररत निधिलाई भेटेर स्वास्थ्यलाभको कामना भनेका छन् ।

राजदूत पुरीले शुक्रबार ओम अस्पतालमा पुगी नेता निधिको स्वास्थ्य स्थितिबारे जानकारी लिएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ