arrow

पोखरा पुगेर ओलीले भने, -'वाम गठबन्धनले बहुमत ल्याउछ'

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
baam.jpg

पोखरा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताएका छन्  ।

संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा शनिबार पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको स्पष्ट पारे।

दुई पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली काँग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी अध्यक्ष ओलीले गरे।

उनले भने, “म आफू प्रधानमन्त्री हुँदा बूढाबूढीको वृद्ध भत्ता रु एक हजारबाट बढाएर दुई हजार बनाइदिएको थिएँ अब  दुई हजारबाट बढेर वृद्ध भत्ता  पाँच–पाँच हजार पुर्‍याइन्छ ।”

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्र गतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राखे। उनले वामपन्थीहरुको बहुमतको सरकार बनेपछि केरुङ–काठमाडौँ–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग पुर्‍याउने कामलाई अगाडि बढाइने विचार व्यक्त गरे।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थी विरोधी शक्तिमा ठूलो तरङ्ग ल्याएको बताए ।

कम्युनिष्टहरुको जनमत दुईतिहाइ भए पनि एकापसमा टुटफुट र विभाजनले आजसम्म गैरवामपन्थीहरुले फाइदा उठाएको उल्लेख गर्दै उनले चुनावपछि दुईतिहाइ वामपन्थीको मतले देशमा स्थिरता र गरिबी उन्मूलन हुने विचार व्यक्त गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ