arrow

कांग्रेस र राप्रपाको संयुक्त आमसभा : लोकतन्त्र, राष्ट्रियता र समृद्धिका लागि सहकार्य

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
Mass_Meetin_Attariya.jpg

अत्तरिया, कैलाली । चुनावमा सहकार्य गरिरहेका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त आयोजनामा सोमबार कैलालीको क्षेत्र नम्बर ४ अत्तरियामा बृहत संयुक्त चुनावी सभा भएको छ । सभामा दुवै पार्टीका केन्द्रीय नेताहरूले लोकतन्त्र, राष्ट्रियता तथा तीब्र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्तिहरूबीच एकता र सहकार्य भएको उद्घोष गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले आसन्न निर्वाचनमा किन र कसलाई मत दिने भन्नेमा गम्भीरतापूर्वक मनन् गर्न आम नेपाली मतदातालाई आग्रह गरे। ‘यो निर्वाचन आगामी पाँच वर्षसम्म कुन पार्टीलाई शासनसत्तामा पुर्‍याउने भन्ने मात्रै होइन’ उनले भने– यो आगामी दिनमा नेपालमा कुन शासन प्रणाली राख्ने भन्ने निर्वाचन हो । उपप्रधानमन्त्री थापाले आसन्न निर्वाचन लोकतान्त्रिक पक्षधर शक्ति तथा कम्युनिष्ट गठबन्धन मध्ये कसलाई छान्ने भन्ने चुनाव भएको बताए ।

उनले विपि कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै लोकतन्त्र, राष्ट्रियता र समृद्धिका पक्षमा मतदान गर्न आग्रह गरे। अध्यक्ष थापाले कम्युनिष्ट गठबन्धनले आम नेपाली जनतामा संयत्र र त्रास बढाएको चर्चा गरे। उनले भने– कुनै पनि दल एकीकरण हुनु ठूलो कुरा होइन, तर संसदीय लोकतान्त्रिक पद्धति नै समाप्त पार्ने उद्देश्यले निर्माण भएको बाम गठबन्धन अस्वाभाविक र अप्रत्याशित छ ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले बाम गठबन्धन नेपालको लोकतान्त्रिक राज्य प्रणाली, राष्ट्रियता र आर्थिक समृद्धिका लागि संकटका रूपमा निर्माण भएको चर्चा गरे।

‘एमालेका केपी ओली तथा माओवादीका प्रचण्डहरूले कहिले मधेसबाट हिमालका नेपालीको अपहेलना गरेका छन्, कहिले राजधानीको टुँडिखेल र पहाडका अग्ला टाकुराबाट मधेस र मधेसी जनतालाई तिरस्कार गरेका छन्’ नेता खाँडले भने– वास्तवमा ओली र प्रचण्डहरूका कारण नेपालको राष्ट्रियता तथा अखण्डतामाथि नै आघात भइरहेको छ ।

उनले नेपाली कांग्रेससहितको लोकतान्त्रिक शक्तिहरूले हिमाल, पहाड र मधेसलाई जोडेर अविभाजित तथा अखण्ड नेपालको निर्माणका लागि निरन्तर प्रयास गरिरहेको बताए ।

‘बाम गठबन्धनबाट कारण नेपालको जातीय, धार्मिक, सांस्कृतिक, भाषिक तथा क्षेत्रीय विविधताको रक्षा हुनसक्दैन’ उनले लोकतान्त्रिक प्रणाली र शक्तिहरूबाट मात्रै विविधतालाई एकताको सूत्रमा बाँधी राख्न सम्भव भएको बताए  ।

नेता खाँडले प्रदेश नम्बर ७ को तीब्र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्वमा अत्तरिया–मोहना छ लेन सडक, कैलाली–दिपायल फाष्टट्रयाक सडक, महाकाली नदीमा पक्की पुल, गौरिफन्टा नाकाको स्तरोन्नती, गेटा मेडिकल कलेज, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नती, दोधराचाँदनीमा सुख्खा बन्दरगाह, उत्तरदक्षिण सडक लगायतका योजना अघि बढिरहेको चर्चा गरे ।

कार्यक्रममा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवा, क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारी, प्रदेश सभा सदस्य उम्मेदवार हिरादत्त भट्ट लागयतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ