arrow

एक–एक जोडेर एघारको नतिजा ल्याउनुपर्छ : विनोद चौधरी

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
chaudhary1.jpg

अर्खला(नवलपरासी)। नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले आर्थिक समृद्धि र विकासका लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् ।
 
सोमबार नवलपुरको अर्खलामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको निरन्तर दिगो विकासको लागि एक–एक जोडेर एघारको नतिजा ल्याउनुपर्ने अवस्था आएको भन्दै त्यसका लागि आफू दृढतापूर्वक लागिरहेको जानकारी दिए ।
 
सोही क्षेत्रका मतदाता समेत रहेका चौधरी प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट सिफारिस भएका छन् । भने दुम्कौलीमा उनले सञ्चालन गरेको चौधरी उद्योग ग्राम समेत रहेको छ ।
 
उद्योगधन्दामार्फत् देशको विकास गर्नका आफूले सारा जीवन लगाएको स्मरण गर्दै उनले आर्थिक समृद्धि र विकासको लक्ष्य प्राप्ति गर्नैका लागि सक्रिय राजनीतिमा प्रवेश गरेको बताए ।
 
लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकासले गति लिन सक्ने भएकाले आफूले नेपाली कांग्रेसलाई रोजेको भन्दै चौधरीले कांग्रेसलाई जिताएर यस अभियानमा साथ दिन आग्रह गरे।
 
सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका डा. सशांक कोइरालासँग  निर्वाचन प्रचारप्रसारका सिलसिलामा उनि तेस्रो पटक त्यहाँ पुगेका हुन् ।
 
कार्यक्रममा मुख्य वक्ता समेत रहेका चौधरीले कालीगण्डकी कोरिडोर निर्माणका लागि कोइरालाले महत्वपूर्ण ढंगले पहल गरेको भन्दै उक्त कार्यलाई सम्पन्न गरेरै छाड्ने बताए । कालीगण्डकी कोरिडोरलाई पूर्वपश्चिम राजमार्गमा जोडेपछि विकासले नयाँ गति लिने उनको भनाइ थियो । नवलपुरलाई नमुना जिल्लाका रुपमा विकास गरेर राष्ट्रमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउने उनको लक्ष्य रहेको थियो ।
 
कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री सशांक कोइरालाले आर्थिक समृद्धि र विकासको योजनासहित अगाडि बढ्नका लागि आफ्नो पार्टीले चौधरीजस्तो अनुभवी व्यक्तिलाई अघि सारेको बताए ।
 
कांग्रेस महामन्त्री कोइराला र उद्योगपति चौधरी सोमबार नै नवलपरासीको दुर्गम पहाडी भेगको अर्खलालगायत जौबारी, कोटथर, डाँडाझेरी, डेढगाउँलगायतका स्थानमा पुगेर चुनावी कार्यक्रममा सहभागी हुनुका साथै मतदातासँग भेटघाट र छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ