arrow

'भ्रमको खेतीले बाली पाक्दैन राजन जी'

logo
केशव पाठक,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
rajan_bhattrai.jpg

काठमाडौँ  । काठमाडौँ क्षेत्र नं. ४ मा गगन थापा कि राजन भट्टराई भन्ने विषयमा राजनीति गर्मागरम भएको छ । नेपाली काँग्रेसको पछिल्ला दशकका सबैभन्दा प्रभावशाली व्यक्ति गगन थापा र नेकपा एमालेका परराष्ट्र जानकार डा राजन भट्टराईबीचको चुनावी युद्ध यतिखेर अफवाहको र अनर्गल प्रचारको हदसम्म पुगेको छ । दुवै दलका कार्यकर्ता आफ्ना उम्मेदवार राम्रो भन्दै हिँडिरहेको बेला गगन थापाले स्वास्थ्य मन्त्री  बनेर देशमै कमाएको जस र ऐश आधारमा थापा तुलनात्मक रुपमा धेरै बलियो देखिन्छन् । त्यसैगरी एमाले उम्मेदवार राजन भट्टराई पनि एमालेको आक्रमक र अतिरञ्जित प्रचार शैलीका कारण प्रतिष्पर्धि हैसियत भने बनाएको देखिन्छ ।  

हारजीतको फैशला २१ गते हुनेछ तथापि गणितीय हिसाबमाभन्दा भावनात्मक हिसाबमा को कति सुगठित छ क्षेत्र नं. ४ मा भन्ने कुरो महत्वको छ । गगन थापाको क्षेत्रमा धुलो, हिलो, अव्यवस्था भयो भन्ने कुरा एकातिर छ भने त्यो धुलो, हिलो र अव्यवस्था हटाउन राजन भट्टराइले किन पहल नगरेको त ? भन्ने विषय पनि चर्चामा रहेको छ ।

०७० साल मंसिरको चुनावपछि एमाले २ पटक सत्तारोहण गर्यो भने काँग्रेस पनि दुईपटक नै सत्तारोहण गर्‍यो । यो ४ वर्षमा धेरैभन्दा धेरै कामको पहल तथा बजेटको व्यवस्था काठमाडौँ क्षेत्र नं. ४ मा भएको छ । अर्बौँ रकम यस क्षेत्रको विकासका लागि भनेर बिनियोजन भएको छ ।
 
फरक यत्ति हो यो रकमको आयोजनाहरु कार्यान्वयन हुन क्रममा बजेट व्यवस्था भए पनि काम भैसकेको छैन । कुनै भर्खर काम शुरु भएको छ भने कुनै टेन्डर भएको छ । यो अर्बौँ रकमको विकासका परियोजनाहरु जुन बुँदागतरुपमा हेर्दा ७५ भन्दा धेरै छन् । तर क्षेत्र नं. ४ मा यी यी योजानामा यसरी काम भैरहेको छ भनेर जनतालाई सूसुचित हुन भने पाएका छैनन् । पहल गर्नेले तथा उसको पार्टीले जनतालाई जानकारी नगराउनुको समस्याले गर्दा यत्तिका धेरै काम भएर पनि केही नभएको भनेर राजनीतिक अतिरन्जना  गर्ने अवसर प्राप्त भएको देखिन्छ ।
 
स्वभावतः यो विकासका काम यस क्षेत्रका सांसदबाटै भएको हो । उनीहरुले नै मैले यो यो काम गरेको हुँ भनेर जानकारी दिएको खण्डमा जनता गुमराह हुँदैनथे । सांसद गगन थापाले आफूले गरेका कामलाई बाहिर ल्याउने प्रयास गरिसकेका छन् । तर राजन भट्टराईबाट यो काम हुन सकेको देखिएको छैन ।

राजनीतिकरुपमा देवत्वकरण वा राक्षसीकरण गर्न कार्यकर्ता लाग्नु र त्यो नेताले गरेको कर्मबीचमा ठूलो खाडल रहने गरिन्छ । आफ्ना कुरा सकिएपछि वा आफ्ना कुरा नभएपछि अरुको बारेमा अनर्गल प्रचारमा राजनीति हामफाल्छ । यतिखेर राजन भट्टराई वा उनका प्रचार दस्ता गगन थापालाई दानवीकरण गर्न जथाभावी लागिपरेको देखिन्छ । भट्टराइले आफ्ना संसद कालमा केही काम नगरेको कुरा छोप्न गगन थापाको क्षेत्रमा काम नभएको र धुलो धुँवाको कुरा उठाइरहेको देखिन्छ । भट्टराईले आफ्नो पुगनपुग ४ वर्षै संसदीय कार्यकालमा काठमाडौँ क्षेत्र नं. ४ मा  कुनै पनि देखिने वा देखाउन सकिने काम नगरेको कारण यतिखेर बन्दै गरेका बाटाघाटाहरु देखाएर हिलो धुलोको राजनीति गरिरहेको छन् ।

क्षेत्र नं. ४ को विशेषगरेर कपन भेकलाई हिलोधुलो र अस्तव्यस्तत भएको नाममा राजन भट्टराइले गगन थापा बिरुद्ध गरेका यावत् अतिरन्जित कुराहरु आफैमा दिग्भ्रमित छन् । गगन थापाले कपनलाई जाने आउने ६ वटा बाटोलाई राष्ट्रिय योजनामा पारेर अरबभन्दा धेरै बजेटको व्यवस्था गरेर काम कार्यान्वयन तहमा पुगेको छ ।

यतिखेर राजन भट्टराई तथा उनका कार्यकर्ता हिलोधुलोको नाममा गगन थापालाई बदनाम गर्न लागे पनि जनता भने काम भैरहेको र केही समयमा उत्कृष्ट कपनको परिकल्पना गरेर बसिरहेका छन् । जनतामा गगन थापाबिरुद्ध नलाग्ने देखेपछि विचलित भएका बौद्धिक भने पनि बौद्धिकताको कुनै पदचिन्हसमेत नदेखाएका भट्टराइले केशव स्थापित लगाएर बाख्रा र कृषिको कुरा उठाउन लगाए ।

भट्टराईको यो भ्रमपूर्ण सम्प्रेषण गर्ने योजनाअन्तर्गत यो काम पनि  असफल भयो । केशव स्थापितको आरोप स्थापित स्वयम्का लागि घातक सिद्ध भयो । यसैबीच राजन भट्टराइले गगन थापाले बोलेको भिडियोमा आफ्ना कार्यकर्ता लगाएर मिक्स भिडियो बनाउने कुत्सित काम गरे । यो कामलाई एमाले कार्यकर्ताले उत्साहपूर्ण भाइरल बनाउने कोशिष गरे पनि जनताले यसलाई दुत्कारे ।

समग्रमा राजन भट्टराइले यो चुनावी दौरानमा गगन थापालाई हिलो र धुलोमा मुछ्ने ठूलो प्रयास गरेर तर त्यो धुलो र हिलोले भट्टराई स्वयम्लाई छोपेको छ । उनको सबै कुत्सित अतिरन्जना क्षणभरमा निस्तेज भएका छन् । बौद्धिक भनेर देखाउन खोजे पनि कमजोर मनस्थितिका भट्टराई यथार्थ पनि चुनावको अवसरमा छताछुल्ल भएको छ । जनताको माझमा आफ्ना कुराको सट्टामा अरुलाई गालीमात्र गर्ने मनोदशाबाट ग्रसित भट्टराई संभावित हारबाट यति आत्तिएका छन् कि उनले अबका केही दिन पनि यस्तै अनर्गल प्रचारमा जोड दिने करिब निश्चित छ । तर यो सबै उनको दुष्प्रयास सिबाय केही हुनेछैन । चुनावको नतिजा आउँदा जेएनयु यी पिएचडि होल्डरलाई क्षेत्र नं. ४ को धुलोले छोपिएको र क्षेत्र नं. ४ चाहिँ सफा देखिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ