arrow

माधव नेपाल अलपत्र पोजिसनमा छन् : कुइँकेल (कुराकानीसहित)

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
depak_kuikel.JPG

काठमाडौं क्षेत्र नम्बर २ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपाली कांग्रेसका दिपक कुइँकेलले चुनौति दिइरहेका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा यही क्षेत्रबाट दुवैजना निर्वाचित भएका हुन् । दुई स्थानबाट निर्वाचित भएपछि एमाले नेता नेपालले काठमाडौं–२ त्यागेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा कुइँकेल विजयी भए । अहिले दुवैजना चुनावी मैदानमा छन् । कांग्रेस नेता कुइँकेलले आफ्नो जीत सुनिश्चित रहेको जिकिर गरेका छन् ।  कुइँकेलले , ‘काठमाडौं–२ का जनताको माया र सद्भाव मात्र होइन, मैले थालेका योजना पूरा गर्न पनि दिपक कुइँकेललाई नै खोजेका छन् ’भने । उनीसँग गरेको संक्षिप्त कुराकानीः

० अहिलेको तयारी कस्तो छ ?
– जनताले पुनः निर्वाचित गरेर पठाउने तयारी गरिरहेका छन् ।

० अहिले त्यत्ति सहज छैन भन्छन् नि ?
– मलाई जनताको विश्वास छ, हिजो पनि मलाई जिताएर पठाएका हुन्, अहिले पनि जनताले प्रेम सद्भाव र माया पाउने छु । म निर्वाचित हुने कुरामा ढुक्क छु ।

० स्थानीय तहको निर्वाचनमा कांग्रेस कमजो देखियो ?
– स्थानीय तहमा यहीका दाजुभाइ र दिदीबहिनीबीच निर्वाचन भएको थियो । उक्त निर्वाचनमा एकजना दाजु, एकजना बहिनीले जितेको हो । यहाँका जनताले एमाले पार्टीलाई भोट हाल्दैनन् ।

० जीत सुनिश्चित हो कि प्रतिस्पर्धा छ ?
– प्रतिस्पर्धा होइन, मेरो जीत सुनिश्चित छ ।

० कांग्रेस पार्टीले नै काठमाडौं–२ मा प्रतिस्पर्धा छ भनेको छ ?
– कसले सर्वे गर्‍यो, त्यो आफ्नो ठाउँमा होला, तर यहाँका जनताले मप्रति जुन अगाध स्नेह देखाएका छन्, त्यसले मेरो जीत सुनिश्चित छ ।

० माधव नेपालले जिते देशले प्रधानमन्त्री पाउँछ भन्नेलाई के जवाफ दिनुहुन्छ ?
– माधव नेपाल देशमा प्रधानमन्त्री, उपप्रधानमन्त्री भइसक्नु भएको छ । पार्टीमा पनि पहिलो र दोस्रो व्यक्ति भइसक्नुभयो । वाम गठबन्धनपछि उहाँ अहिले अलपत्र पोजिसनमा हुनुहुन्छ । अलपत्र पोजिसनमा रहेको व्यक्ति हिजो प्रधानमन्त्री, उपप्रधानमन्त्री र पार्टीमा पहिलो दोस्रो भएको व्यक्तिले यो क्षेत्रमा के गर्नुभयो रु यो क्षेत्रको समस्या उहाँले सुन्नु भएन । कुनै पनि समस्या उहाँबाट समाधान भएनन् । उहाँ पुनः प्रधानमन्त्री हुने आधार यहाँका जनताले देखेका छैनन्, प्रधानमन्त्री भएर पनि केही गर्न सक्नु भएन । उहाँले छोडेर गएको यो क्षेत्र भएकाले यहाँका जनताले माधव नेपाललाई भोट हाल्दैनन् ।

० तपाईंलाई किन भोट दिने ?
– लोकतन्त्र र समृद्धिका लागि जनताले भोट होल्ने हो । दोस्रो कुरो यहाँका जनतासँग अगाध स्नेह छ, मलाई माया गर्छन् । समाज रुपान्तरण र यो क्षेत्रको विकासका लागि निरन्तर काम गरेको छु । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा म निरन्तर काम गरिरहेको छु । मैले तीन वर्ष ३ महिना काम गर्ने अवसर पाएँ, यो क्षेत्रमा धेरै योजना सुरुवात गरेको छु । स्मार्ट सिटी बनाउन सुरु गरेको छु, साँखुलाई सम्पदा शहर बनाउने काम सुरु गरेको छु । लप्सीफेदी, नाङ्लेभारे, जसिङपौवमा पर्यटन प्रवर्द्धनका काम भएका छन् । ९ र ३२ वडालाई व्यवस्थित शहर बनाउनुपर्छ, त्यो नेपालको विदेशीहरु पहिलो पाइला टेक्ने ठाउँ, पशुपति नजिक रहेको स्थानलाई सुन्दर बनाउनुपर्छ भन्ने परियोजनाका साथ म अघि बढिरहेको छु । दिपक कुइकेल आइसकेपछि यो क्षेत्रको मुहार फेर्ने काम गर्‍यो । धेरै आयोजना सुरु भएको छ, यी आयोजना सम्पन्न गर्न दिपक कुइँकेल नै चाहिन्छ भन्ने यहाँका जनताको माग छ ।

० वाम गठबन्धनले अप्ठ्यारो पार्दैन, तपाईंको उम्मेदवारीलाई ?
– माओवादी र एमालेको कम्युनिष्ट गठबन्धनले स्थानीय तहमा दुई तिहाइ मत प्राप्त भयो भन्ने जुन दम्भ छ, त्यसले साम्यवाद र अधिनायकवादको यात्रामा जान्छौं भन्ने उद्घोष गरेका छन् । यो गठबन्धनलाई जनताले स्वीकार गरेका छैनन् । नेपाली जनता लोकतन्त्रवादी हुन् । नेपाली जनताले लोकतन्त्र स्थायित्व होस्, व्यक्तिगत स्वतन्त्रता स्थापित होस, संविधान कार्यान्वयन होस् भन्ने चाहेका छन् । अब राजनीतिक लडाइँ हुँदैन, आर्थिक समृद्धिको यात्रा आरम्भ गर्नुपर्छ भन्ने नेपाली जनताको माग हो । वाम गठबन्धनले जनतालाई दास सम्झेका छन् । -janatamedia.com.npबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ