arrow

बिदेशिएका युवालाई स्वदेशमै राम्रो रोजगारी दिन सकिन्छ : चौधरी

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
Binod_Chaudhary_in_Kapilvastu_(1).jpg

कपिलवस्तु । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चाहना सवै नेपालीको चाहना भएको भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे।

२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भएपनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताए । ‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने थिएन’चोधरीले भने ।

उनले त्यसपछिको राजनीतिले बाटो बिराउँदा जनचाहना अनुरुप आर्थिक समृद्धि र विकास हासिल हुन नपाएको उल्लेख गर्दै तत्कालीन समयमा कांग्रेसले लिएको आर्थिक नीतिको धरातलमा उभिएर आजसम्म पनि न्यून मात्रामै भएपनि विकासका काम हुन सम्भव भएको उनले दोहोर्‍याए ।

देशको आर्थिक वृद्धिदर हालसम्मकै उच्च रहनु, नेपाल सिमेन्टमा आत्मनिर्भर हुनु, ३ हजार मेगावाटभन्दा बढीका जलविद्युत आयोजनाहरु निर्माण हुनु, ३-३ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहनु जस्ता कुराहरु सोही आर्थिक नीतिको देन भएको उनले दाबी गरे ।

बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक गर्ने र लोकतन्त्रमा मात्र अर्थतन्त्र बलियो हुने भएकाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको चौधरीले बताए । निर्वाचन प्रचार प्रसारको सिलसिलामा मंगलबार तौलिहवामा पुगेका  चौधरीले जनचाहना साकार पार्नका लागि नेपाली कांग्रेस नै सक्षम पार्टी भएको दाबी गरे।

नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहनुभएका चौधरीलाई पार्टीले आर्थिक समृद्धि र विकासका लागि मतदातालाई बुझाउने जिम्मेवारी दिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर जनताका हातमा अधिकार गइसकेको अवस्थामा आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

तौलिहवामा पुग्नु अघि मंगलबार नै रुपन्देहीको सालझण्डीमा आयोजित आमसभामा बोल्दै चौधरीले लुम्बिनीको महत्वलाई अन्तर्राष्ट्रिय जगतमा मक्का मदिना सरह रहेकाले त्यसै अनुसारको प्रचार प्रसार र व्यवस्थापन गरेर संसारमै चिनाउनुपर्ने उल्लेख गरे । ऐतिहासिक लुम्विनी क्षेत्रको वृहत्तर विकास गरेर संसारका सबै धर्मावलम्वीको गन्तव्यका रुपमा विकास गर्न सकिने उनले बताए ।

उनले धार्मिक मान्यता, सद्भाव र प्राकृतिकरुपमा नेपाल संसारकै नमुना रहेकाले सबै क्षेत्रको विकास र दीर्घकालिन व्यवस्थापनबाट समृद्धि हाँसिल गर्न सकिने दावी पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ