arrow

चुनावमा मदिरा र गुण्डाको प्रयोगगरी यसरी हुँदोरहेछ अदृश्य धाँधली 

आधा भन्दा बढी मतदाताको स्वतन्त्र मताधिकार खोसिन्छ चुनावमा 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ मंसिर १३ बुधबार
election_news.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनको पहिलो चरणमा हुने निर्वाचनकको लागि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ स्थित उखुबारीमा चुनाव सुरु भएको तीन घण्टा पछि नै विवाद सुरु भयो । विवादको कारण अरु केही थिएन एमालेबाट काँग्रेसमा प्रवेश गरेका एक जना अधबैंशे मानिसलाई काँग्रेसका प्रतिनिधिले चुनावमा भोट हाल्न लैजान लाग्दा एमालेबाट निर्वाचित वडाध्यक्षले ती प्रतिनिधिलाई कुटेछन् । त्यहीबाट सुरु भएको विवाद र झगडा रोक्नका लागि सदरमुकाम धादिङबेशीबाट समेत थप सुरक्षाकर्मीको फोर्स जानु पर्यो । 

धादिङकै तत्कालीन सेर्तूङ गाउँ विकास समितिमा रहेको मतदान केन्द्रमा पनि यस्तै विवाद भयो । कसलाई कतिजनासम्मको मतदान गर्न दिने र कसलाई कतिजना भन्दा धेरै मतदान गर्न नदिने भन्ने सवालमा विवाद भएपछि त्यहाँ त ५० जना भन्दा बढी घाईते हुनेगरी झडप नै भयो । प्रतिनिधिको विवाद भनेको अरु केही नभई आफ्नो पार्टीलार्इ भोट हाल्नेलार्इ सघाउने मान्छे छान्ने विवाद हो। जसले मीठो बोलेर हुन्छ कि धम्काएर हुन्छ वा मतदानकेन्द्रमा पुगेपछि हातको इशाराले नै  किन नहोस् मतदातालाई मतदानको समयभर प्रभावित गराउने प्रयास गरिरहन्छन् । 

यसै विषयमा आफ्नै मतदानकेन्द्रमा कसरी धाँधली हुन्छ भन्ने सवालमा आफैंले गरेको अनुभवले चुनावमा गुण्डागर्दीले नै मूल पश्रय पाएको देखायो। मौन अवधि सुरु भएपछि गाउँमा ज्वालामूखि गाउँपालिकाको वडा नं ४ मा पुग्दा आफ्नो पकड क्षेत्रमा रहेका दलहरुले गुण्डागर्दीलाई भित्रभित्रै पश्रय मात्रै दिएका होइनन् उनीहरुकै बलबुतामा चुनाव जित्ने प्रयास समेत गरेको भेटियो । उनीहरुले मानसिक रुपमा यसलाई भोट नदिएमा भोलिको दिनमा आफूलाई गाउँघरमा गुजारा गर्न नै सम्भव नरहेको भान हुनेगरी गाउँ स्थित नेताहरुकै इशारामा गाउँका टोलेगुण्डाहरुले आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको पनि देखियो । उनीहरुको काम नै आफ्ना नेताले भनेको क्षेत्रभित्र मदिरा सेवन गरी तीब्र गतिमा मोटरसाईकल हाँक्ने, कसैले आफ्नो पार्टीको विपरित बोलेको देखेमा उनीहरुसँग झगडा गर्ने र गाउँलार्इ अशान्त बनाएर भएपनि आफ्नो पक्षमा माहोल सिर्जना गर्ने देखियो । 

त्यही टोले गुण्डा टोलीका एक सदस्यसँगको अनौपचारिक कुराकानीका क्रममा थाहा भयो कि तिनीहरु मध्ये केही त पैसा पनि माग्दा रहेछन् होईन भने बाँकीलाई त रक्सिकै भरमा काममा खटाईँदो रहेछ । विहान र बेलुकी मासुभात त छँदैछ । केही बाठो बनेका गुण्डाहरुले भने दैनिक एक हजार रुपैयाँसम्म आम्दानी गर्दा रहेछन् । र उनीहरुलाई नेताले यो ग्यारेन्टी भने दिँदारहेछन् कि प्रहरीको फन्दामा परेभने उनीहरुलाई नेताले छुटाईदिन्छन् । यसबाट नै थाहाहुन्छ ती गुण्डाहरु गाउँमा कति छाडा बनेर बसिरहेका हुन्छन् । 

अब आयो चुनावको अघिल्लो दिन । चुनावको अघिल्लो दिन गाउँको दुई भिन्दा भिन्दै भट्टी पसलमा रक्सी र मासु भोजको आयोजना गरियो । यहाँ गएर खानको लागि कुनैपनि मूल्य चुकाउनु पर्ने थिएन । मलाई पनि निम्ता आयो । तर मूल दुई पार्टी अस्तित्वमा रहेको गाउँमा दुबै तिरबाट मलाई निम्ता आएकोले मैले सोही दिन दुबै पार्टीमा सहभागी हुने मौका पाएँ । मासु पनि नखाने र रक्सीपनि नखाने शुद्ध उपाध्याय ब्राह्मणको छोरो भएकोले खान्न भन्दा मलाई कसैले कर गर्ने कुरा पनि थिएन र मैले खान पनि खाईन । 

ती दुबै रक्सी मासु भोजमा कसैले भोलिपल्टको चुनावका लागि मत आह्वान पनि गरेनन् । सबैले खाए उठे सकियो । यसमा कुनै चुनावी राग देखिएन । मात्रै यो काँग्रेसले गरेको पार्टी र यो एमालेले गरेको पार्टी भन्ने जानकारी दिईयो । यसको अर्थ थियो मनोबैज्ञानिक रुपमा मतदाताको मन प्रभावित पार्नु । 

अब चुनावको दिन आयो । तिनै रक्सी र मासु बाँड्ने भान्छेहरु मतदानकेन्द्र नजिकै उभिईरहेका थिए भने सबै दलका प्रतिनिधिहरु नजिकै ओहोरदोहोर गर्दै गरेका थिए । म चुनावमा भोट हाल्न जाँदा मैले रक्सी र मासु नखाएकोले कसैले पनि मलार्इ आफ्नो दाबी गर्न सकेनन् । म दुबैको पार्टीमा गएको थिएँ । तर कसैकोमा पनि केही खाएको थिर्इन । अघिल्लो दिन सर्वदलीय बैठक पनि बसेर एक जना प्रतिनिधिले ३ जना भन्दा बढीको मतदान गरिदिन नपाउने भनेर पनि निर्णय गरिएको थियो । हात काम्ने र भोट हाल्न नजान्नेहरुलार्इ भनेर एक जना प्रतिनिधि गएर भोट हाल्न सहयोग गर्ने चलन सबै तिर हुन्छ । अझ रोचक कुरा त निर्वाचन आयोगले छुट दिएको पत्रकारलाई भित्र गएर मतदान केन्द्रको फोटो खिच्न पाउने अधिकार नै सर्वदलीय निर्णयबाट खोसिएको थियो । तर, प्रतिनिधिहरुको कर्तव्य र निर्वाचनमा खटिएका कर्मचारीहरुको बेईमानी रोक्नेबारेमा भने सर्वदलीय बैठक मौन थियो । 

मतदान केन्द्रमा मतदाता परिचयपत्र हेर्नेदेखि मतपत्रदिने बेलासम्म रहेका ६ जना कर्मचारीहरु पनि मात्रै दुई पक्षसँग डराउँथे । एउटा गुण्डा र अर्का राजनीतिक दलका नेता । 
झण्डै आधा घण्टा त्यही मतदान केन्द्र बाहिर बसेर त्यहाँको चर्तिकला हेर्दा मात्रै थाहा भयो कि अघिल्लो दिन रक्सी र मासु खाएकाहरु त भोलिपल्ट ४० वर्षमा नै भोट हाल्न नसकेर प्रतिनिधिलाई हाल्न लगाउनु पर्ने तहमा पुगिसकेका रहेछन् । भन्नुको अर्थ रक्सी र मासुले उनको मताधिकार सोही पार्टीको प्रतिनिधिमा सारिसकेको रहेछ । सर्बदलीय निर्णय भन्दै पत्रकारलाई साँझसम्म पनि भित्र छिर्न दिईएन । तर सोही सर्वदलीय निर्णयबाट तीन जना भन्दा बढीको सहयोगी बनेर मत दिन जान नपाईने भन्ने कुरा आधा घण्टा पनि टिक्न सकेको थिए। 

यसरी लैजानेहरु केही केही सामान्य भएपनि धेरै कपाल पालेका र सधैं सबैलाई धम्काउँदै हिँड्नेहरु नै प्रतिनिधि बनेर गएका देखिन्थे । उनीहरु औंलामा मसी लगाउने बेलामा सोही कर्मचारीलाई समेत धम्काएर मसी नै लगाउन नदिने र अरुले विवाद झिके आफूले अझैसम्म पनि भोट नहालेको प्रमाण मसी नलागेको औलाबाट देखाउने गरेको देखियो । त्यही त्यसरी थर्काउँदा पनि बन्दुक समेत बोकेर बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरी भने मुखदर्शक बनेर बसेको देखिन्थे ।  

धम्कीकै भरमा भोट 
सोही गाउँमा खनाल थरका एक व्यक्तिले २०६४ सालको चुनावमा फरक पार्टीका नेतालाई भोट दिएको आरोपमा गुरुङ थरका अर्का व्यक्तिले उनको घरको खाँबो नै काटिदिए । पछि समाज जोडियो । तर, मदिरा सेवन गरेको बेलामा यस्तो भएको भन्दै त्यसलाई थुम्थुम्याईयो कारण थियो राजनीतिक र यसमा राजनीतिक दलले अग्रसरता लिए । माथि चर्चा गरिएको गाउँ यतिसम्म विग्रिसकेको छ कि त्यहाँ काँग्रेस मर्दा एमाले मलामी नजाने र एमाले मर्दा काँग्रेस मलामी समेत नजाने अवस्था रहेको छ । 

यस्तो स्थितीमा भोलि मर्दा पर्दा समस्या हुनेदेखेर कसैले पनि अर्को पार्टीमा खुलेर भोट हाल्न सक्दैन । भोट हाल्न सक्ने उमेरका मानिसहरु भित्र जुन पार्टीमा भोट हालेपनि बाहिर आएर आफ्नो परम्परागत पार्टीकै नाम लिनुपर्ने बाध्यतामा छन् । सोही मतदान केन्द्रमा एक बृद्धा आमालाई लिएर गएका प्रतिनिधिले ती आमाले भनेको भन्दा भिन्न चिह्नमा मतदान गरेछन् । पहिलेदेखि नै उनले रुखमा भोट हाल्दै आएकोमा समानुपातिक तर्फ यस पटक उनले हँसिया हथौडा चिह्नमा देखाउँदै भोट हाल्न भनिछन् । तर, ती प्रतिनिधिले रुखमा नै भोट ठोकिदिएछन् । यसै विषयले पनि विवाद उल्झाएको थियो । पछि कसरी कुरा मिल्यो स्थिती साम्य बन्यो । 

सो चुनावमा एउटै प्रतिनिधिले १७ जनाकोसम्म मतदान गरेको एकमुष्ठ तथ्यांक सुनाएका थिए । यस्तो स्थितीमा केन्द्रबाट आएका निर्वाचन पर्यवेक्षक र जिल्ला स्थित निर्वाचन पर्यवेक्षक पनि त्यो बुथमा धाँधली रहित चुनाव भएको प्रतिवेदन बुझाउन हिँडे त्यहाँ कसैले भित्रको धाँधली देखेनन् र लेखेनन् । पत्रकारलाई भित्र प्रवेश गर्नै दिईएन । तर, त्यो मतदान केन्द्रलाई मात्रै आधार मान्दा त्यहाँका ६० प्रतिशत भन्दा बढी मतदाताहरुले स्वतन्त्र मतदान गर्न नपाएको अनुमान लगाउन सकिन्छ । ३ पटकसम्म आफैंले मतदान गरेको लेखकलाई समेत बारम्बार तपाई मतदान गर्न सक्नुहुन्न भने म गरिदिन्छु भन्दै प्रस्ताव राख्ने सहयोगी प्रतिनिधिहरुले गरेको व्यवहारले यति धेरै मानिस स्वतन्त्र मतदानबाट बञ्चित हुनु परेको अनुभूति हुन्छ । तर यसको यकीन तथ्यांकको लागि भने गहन अध्ययनकै खाँचो होला । 

यो एउटा मतदान केन्द्रमा भएको प्रतिनिधिमूलक धाँधली मात्रै हो । यस्ता धाँधली देश भरीका कति मतदान केन्द्रमा हुन्छन् र कति ठाउँमा शान्तिपूर्ण रुपमा भएका निर्वाचनहरुमा जनताको मताधिकार खोसिएको हुन्छ ? तर, यस तर्फ न त पर्यवेक्षक संस्थाहरुको ध्यान गएको छ । न त निर्वाचन आयोगको नै । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ