arrow

पहिलो चरणमा चुनाव सकिएका उम्मेदवारहरुको कसरी बित्दैछ दैनिकी ?

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रामहरि खतिवडा र एमालेबाट सोही क्षेत्रका उम्मेदवार यज्ञराज सुनुवार बुधबार विहानै लिखु खोला जलविद्युत आयोजनाले गरेको पूजा आजा कार्यक्रममा सहभागी बन्नको लागि पुगे । उनीहरु जनताको मतको परीक्षामा सहभागी भएर नतीजाको प्रतीक्षामा रहेका उम्मेदवारहरु हुन् । उनीहरुमा घरदैलोको कुनै आवश्यकता त थिएन । तर, उनीहरु अहिलेपनि ओखलढुंगामा नै घरदैलो अभियानमा हिँडिरहेका छन् । चुनाव पछि पनि । 

उम्मेदवार खतिवडा भन्छन् 'हामी चुनाव अघि मात्रै जनताको घरदैलोमा जान्छन् भन्ने सोचलाई अन्त्य गर्नको लागि अहिले पनि घरदैलोमा नै छौं । चुनावको दिन देखि विभिन्न ठाउँका साथीहरुले हामीलाई बोलाईरहनुभएको छ । मैले चुनावको दिन देखि नै कहिले कसको त कहिले कसको क्षेत्रमा गएर उहाँहरुको दुख पीडा बुझेर समस्या समाधानको बाटो खोज्ने प्रयास गरिरहेको छु ।' उम्मेदवार खतिवडा बिहीबार काठमाडौं आउने तयारीमा छन् । उनी काठमाडौं आएर पार्टीको निर्देशन अनुरुप अरु क्षेत्रका उम्मेदवारलाई जिताउनको लागि तराईका जिल्लाहरुमा जाने तयारीमा आफू रहेको बताउँछन् । उनी २० गते ओखलढुंगा फर्किने तयारीमा छन् । 

त्यस्तै, सुनुवार पनि बिहीबार नै काठमाडौं आउँदैछन् । चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउने सुनुवारले पार्टीले काठमाडौं बोलाएका कारण आफू काठमाडौं जान लागेको बताए । उनी पनि तराईका जिल्लामा नै प्रचारप्रसारमा खटिने सम्भावना र माग भएपनि कुन जिल्लामा जाने भन्ने यकीन भईनसकेको उनले बताए । उनी पनि २० गते नै जिल्ला फर्किने बताउँछन् । उनी भन्छन् 'म चुनाव जित्नेमा ढुक्क छु । अब अरु साथीहरुलाई जिताउनको लागि पार्टीको निर्देशन अनुरुप कुन जिल्लामा जाने भन्ने यकीन भईसकेको छैन । पार्टीले काठमाडौं बोलाएको छ म काठमाडौं आउँदैछु ।'

उता, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि काठमाडौं फर्किसकेका छन् । उनी अब दोस्रो चरणको चुनाव भन्दा अघि काठमाडौंकै प्रचारमा खटिने भएका छन् । उनले अहिले बुधबार दिउँसो आफू मन्त्रीक्वाटरमा नै रहेको भन्दै मंगलबार देखि नै आफू काठमाडौंको चुनावी प्रचारमा सक्रिय भएको जानकारी दिए । 

उनीहरु बाहेक एमाले नेता योगेश भट्टराई, काँग्रेस नेता मोहन आचार्य लगायतका पहिलो चरणका उम्मेदवारहरु अहिले पार्टीको निर्देशनबमोजिम विभिन्न जिल्लाहरुमा खटिन थालिसकेका छन् उनीहरु सबै २० गते आ आफ्नो जिल्लामा फर्किने तयारीमा रहेको बताउँछन् । यसरी चुनाव सकिएपछि पनि चुनाव सकिएका उम्मेदवारहरु भने अर्काे चरणको चुनावका उम्मेदवारहरुलाई सघाउनको लागि हिँड्न थालिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ