arrow

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते 

logo
नारायण अधिकारी 
प्रकाशित २०७४ मंसिर १३ बुधबार

चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । 

दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहनुभएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन । 

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइदै छ । 

काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बुधबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो । काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किँएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । 

ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उनले जानकारी दिए । बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताए । बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौं तर्फ पर्दछ । घटना बिहान ९:१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५:४० बजे हिँडेको प्रहरीले जनाएको छ । 

बसले काठमाडौंको काउन्टरबाट २८ जना यात्रुको चलानी लिएको देखिन्छ भने दुईजना बीचबाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना रहेको देखिन्छ । शर्माले बाटोमा यात्रु थपेको नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको बताए। 

उनले भने, “एक दुई जना बेपत्ता भएको हुनसक्ने अनुमानमा खोजी कार्यलाई जारी राखेका छौं ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटना भए लगत्तैबाट उद्धार कार्यलाई जारी राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ