arrow

बाँकेका लोकतान्त्रिक गठबन्धन उम्मेदवारको निष्कर्ष – घरदैलो नै प्रभावकारी

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Madhav_1.jpg

नेपालगञ्ज । बाँकेमा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । 

मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पनि घरदैलोलाई प्राथमिकता दिएर प्रचारप्रसारलाई निकै आक्रामक बनाएका छन् ।
 
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले बुधबार कोहलपुर नगरपालिका वडा नम्बर ११ मा घरदैलो गरेको प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिए । 

‘मतदाताको घरघरमै गएर भोट मागिरहेका छौं, अरु भन्दा घरदैलो नै प्रभावकारी हुने देखेर यसमै लागेका छौं,’ खत्रीले भने । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले पनि आफूले घरदैलोलाई नै प्राथमिकता दिएर हिंडिरहेको बताए । 

उनले बुधबार पनि राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ७ फत्तेपुरमै घरदैलो गरेको बताए ।
 
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले पुरैनीमा घरदैलो गरेको राप्रपाका नेता ऋषिराज देवकोटाले जानकारी दिए । 

प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालले पिप्रहवामा घरदैलो गरेको प्रचारप्रसार संयोजक सुनिलसिंह हमालले बताए । 

आजाद, सिंजापति र हमालले पनि चुनावी सभा, कोणसभा भन्दा पनि मतदाताको घरघरमा पुग्ने कोशिस गरिरहेको बताए । 
 
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले बुधबार साविकको गनापुर गाविसमा घरदैलो र कोणसभा गरेको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए ।
 
प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा घरदैलो गरेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले जानकारी दिए । 

अन्य उम्मेदवारहरुजस्तै आफूलहरुले पनि घरदैलोलाई नै बढी प्राथमिकता दिएको कुर्मीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ