arrow

चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै दलहरु

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
dadeldhura.png

डडेल्धुरा । प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । 

चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरुले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् । 

समय छोटिँदै आएको छ जिल्ला निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वयंसेवकले घरदैलो गरिरहेका भए पनि मतदाताले जाहेर गरेको मत बदर नहोस् भनेर हामीले केही नेता तथा कार्यकर्तालाई मतदाता शिक्षाका लागि छुट्याएको नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार कर्ण मल्लले बताए । 

त्यस्तै कम्युनिष्ट गठबन्धनतर्फ पनि केही कार्यकर्तालाई घरदैलो कार्यक्रमकै सिलसिलामा मतदाता शिक्षा दिन परिचालन गरिएको नेकपा एमालेका अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार डा तारा जोशीको भनाइ छ ।

मतदाता शिक्षाका लागि आफूहरुले पनि प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकजना खटाएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलीप तामाङले जानकारी दिए । 

यो पटक तीनवटा मतपत्र छ, पढेलेखेका मतदाता विदेशिएका छन्, घरमा बूढापाकाहरु र महिला मात्र भएकाले बढी मत बदर हुने सम्भावना निकै रहेको अधिवक्ता युवराज जोशीले बताए । 

मतपत्रको नमूना सबै मतदाताको घरदैलोमा पु-याउन निर्वाचन कार्यालयले मात्र नसक्ने भएकाले हामी सबै राजनैतिक दलको दायित्व भएको क्षेत्र नं १ का प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार रघुवर भट्टले बताए । 

मतदाताले जुनसुकै उम्मेदवारलाई मत दिए पनि मत सही परोस् भन्ने हेतुले हामी सबै प्रतिस्पर्धामा रहेका दलले पनि आफ्ना कार्यकर्तालाई मतदाता शिक्षाका लागि खटाएको जानकारी गराए । जिल्लामा ११७ मतदान केन्द्र छन् । 

यसैगरी एक मतदान केन्द्रलाई एकजना पर्ने गरी मतदाता शिक्षा स्वयंसेवक जिल्ला निर्वाचन कार्यालयले छनौट गरी खटाइसकेको निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए । 

अहिलेको चुनावमा तीनवटा मतपत्र हुँदा मतदाता अलमलमा पर्ने भएकाले अझ यो शिक्षाको बढी महत्व छ । त्यसैले यसका लागि हामी अझ बढी चिन्तित भएर स्वयंसेवकलाई गाउँगाउँमा खटाइरहेको निर्वाचन प्रमुख नायकले बताए । 

जिल्लामा राजनैतिक दलका नेता तथा कार्यकर्ता चुनावको प्रचारप्रसारमा आफूलाई भोट माग्दै मतदान गर्ने तरिका आफू जान्न र अरूलाई पनि सिकाउनसमेत आग्रह गरिरहेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ