arrow

नेपालगञ्जमा लोकतान्त्रिक गठबन्धनको र्‍याली, विजयी हुनेमा ढुक्क

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
rally.jpg

नेपालगञ्ज । लोकतान्त्रिक गठबन्धनको आयोजनमा नेपालगञ्जमा बिहिबार भब्य र प्रभावकारी सडक र्‍याली सम्पन्न भएको छ । यो र्‍यालीको माध्यमबाट लोकतान्त्रिक गठबन्धनले बाँकेका सबै क्षेत्रमा आफ्नो पक्षमा चुनावी लहर ल्याएको टिप्पणी स्वतन्त्र बुद्धिजीवीहरुले पनि गरेका छन् ।
 
लोकतन्त्रको रक्षा,दिगो शान्ति, विकास र समृद्धिका नारा सहित आयोजना गरिएको विशाल र्याली पछि त्रिभुवन चोकमा आयोजित कोणसभालाई लोकतान्त्रिक गठबन्धनका नेताहरु, उम्मेद्वारहरु र स्वतन्त्र तथा पेशागत व्यवसायीहरुले संबोधन गरी गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका थिए ।
 
कोण सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनबाट बाँके २ का राप्रपाका प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ क का काँग्रेसका उम्मेदवार निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमालले रोड शोका क्रममा नेपालगन्जबासीमा देखिएको उत्साहले गठबन्धनकोे जित सुनिश्चित रहेको बताएका थिए ।
 
संबोधनका क्रममा तीनै जना उम्मेद्वारले गठबन्धनले जितेपछि नेपालगञ्जलाई संघिय राजधानी बनाउने, राझा विमानस्थलाई अन्तर्राष्ट्रिय  विमानस्थलमा स्तरोन्नति गर्ने, बाढी तथा डुबान समस्या समाधान गर्ने, नेपालगञ्जमा स्मार्ट सिटी निर्माण गर्ने र मुस्लिम छात्राबास स्थापना लगायतको काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
 
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले बाँकेको क्षेत्र नम्बर २ सुरु देखी नै प्रजातन्त्र र लोकतन्त्र प्रति आस्था राख्ने जनताको गढ भएको बताउँदै यसपटक पनि लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको ठोकुवा गरे ।

 ‘मेरो विनम्र अनुरोध छ, कम्युनिष्ट गठबन्धनले संविधान र लोकतन्त्रलाई धरापमा पार्न खोजेकाले लोकतान्त्रिक गठबन्धनलाई आफ्नो अमुल्य भोट दिएर विजयी गराउनु होला’, सभापति कोईरालाले भने ।
 
सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलसम्शेर राणा र उपमेयर उमा थापामगरले नेपालगन्जको समग्र विकासको लागी लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरे ।

उनीहरुले नेपालगञ्जको विकास गर्नकै लागी जनताले उपमहानगरपालिकाको नेतृत्वमा चयन गरेकोले आफूहरुसंग विचार मिल्ने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचित भएमा विकास र निर्माणका काम सहज ढंगले अगाडि बढ्ने बताए ।
 
सभालाई सम्बोधन गर्दैै नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव विष्णु लामिछानेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन यहाँका उद्योगी, व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए । 

“नेपालगन्जका अधिकांश उद्योगी, व्यवसायीहरु लोकतन्त्रमा विश्वास गर्नुहुन्छ, त्यसकारण उहाँहरुले यो चुनावमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनु हुनेछ” उनले भने ।
 
उनले स्वतन्त्र रुपले व्यवसाय गर्ने नेपालगञ्जका उद्योगी व्यवसायी मौलिक अधिकार र आर्थिक स्वतन्त्रतामा अंकुश लगाउने र कम्युनिष्ट शासन ल्याउन खोज्ने कम्युनिष्ट गठबन्धनको पक्षमा जानै नसक्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ