arrow

अर्बपति विनोद चौधरीलाई भ्याइनभ्याइ

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
binod.jpg

परासी । चुनावी मिति नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरीको व्यस्तता निकै बढेको छ । चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी भए भने नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुटे । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा. सशांक कोइरालासँगै उनी घरदैलो अभियानमा सहभागी भएका हुन् । 

निर्वाचनको मौन अवधिमा चुनाव प्रचारमा सहभागी हुन नपाइने भएकाले भ्याइ–नभ्याइ गरी कार्यक्रममा सहभागी हुनु परेको चौधरीले बताए । धेरै स्थानमा पुग्न मन भएपनि समय पावन्दीले सम्भव नभएको चौधरीले बताए । परासीमा आयोजित कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धि र विकासको अभियानमा नेपाली कांग्रेस अगाडि बढिसकेको भन्दै आफ्नो अमूल्य मत दिएर जिताउन मतदातालाई आग्रह गरे । आर्थिक समृद्धिको सपना लोकतन्त्रमा मात्र साकार पार्न सकिने र त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने उनले बताए । 

२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०५१ सालसम्मको अवधिमा नेपालमा उल्लेख्य ढंगले विकास भएको उदाहरण प्रस्तुत गर्दै कांग्रेसले आफूलाई राजनीतिमा सफल प्रमाणित गरिसकेको उनले दाबी गरे । त्यसपछिको अवधिमा भएको सरकार परिवर्तन र राजनीतिक अस्थिरताका बाबजुद पनि आर्थिक एवं सामाजिक क्षेत्रमा नेपालले गर्दै गएको सुधार कांग्रेसले लिएको सोही नीतिको परिणाम भएको चौधरीले बताए । 

कावासोतीमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको सामाजिक र आर्थिक विकासको मार्गचित्रले भविष्यको समृद्ध नेपालको खाका कोरेको भन्दै यसको सफल कार्यान्वयनका लागि कांग्रेसको विकल्प खोज्न नहुने दाबी गरे । चौधरी संयोजक रहेको नेपाली कांग्रेसको आर्थिक समृद्धि विकास समन्वय उपसमितिले सामाजिक एवं आर्थिक मार्गचित्र तयार गरी सार्वजनिक गरिसकेको छ । सोमबार उनी रुपन्देही, तनहुँ र सुनसरीका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ