arrow

पाल्पामा दुई पूर्व प्रधानपञ्चको प्रतिस्पर्धा

logo
सीता डोटेल,
प्रकाशित २०७४ मंसिर १७ आइतबार
palpas.png

पाल्पा ।  पाल्पाको क्षेत्र नम्बर १ प्रदेश सभा क का नेपाली कांग्रेस उमेद्धार देबराज ढकाल र नेकपा एमालेका क्षेत्र नम्बर १ प्रदेश सभा क का उमेद्धार युवराज खनाल दुवै जना पुर्व प्रधानपञ्च हुन् । देशमा पहिलो पटक हुन थालेको प्रदेश सभा निर्वाचनमा यी दुवै प्रधानपञ्च चुनाबी रणभुमिमा एक अर्कामा प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लाको  पूर्वी भेगमा ढकाल र खनालको नाम नसुन्ने र नचिन्ने सायद कमै होलान् । राजनीतिकमा भन्दा जनताले दुवैजनालाई विकासपे्रमीको रुपमा लिने गर्दछन् । सिद्धान्त अनुसार फरक–फरक पार्टीमा आस्था रहे पनि जनतालाई परेका बखत सक्दो सहयोग गर्ने व्यक्ति हु्न् उनीहरु ।

 तर यहि मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा दुवै जना एकै स्थानबाट प्रदेश सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । ढकाल नेपाली कांगे्रस र राप्रपा विचको लोकतान्त्रिक गठबन्धन र खनाल नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको समर्थनमा चुनाबी माहोलमा होमिएका छन् । २०२८ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरुवात गरेका ढकाल, केहि समयको अध्यापन पछि, २०३० सालमा रामपुर गाउँ पञ्चायतको उपप्रधान पञ्च, २०३८ र २०४३ सालमा प्रधानपञ्च र बहुदलपछि पनि २०४८ सालमा रामपुर गाविसको वडा अध्यक्ष सहित दुई कार्यकालसम्म रामपुर नगर विकास समितिको अध्यक्ष भएर सफलता पूर्वक आफ्नो जिम्मेवारी पुरा गरे । यस अवधिमा रामपुरका विभिन्न स्थानमा विद्यालय, क्याम्पस स्थापना, सिंचाई, खानेपानी, सडक, विद्युतिकरण, पुल पुलेसा निर्माण गर्न अग्रसर भएर लागि परे ढकाल ।

प्रधानपञ्च रहेपनि ०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा मत ल्याउन प्रयत्नशिल रहे । उनका प्रत्यासी युवराज खनाल बि.स. २०३१ सालमा अनेरास्ववियु मार्फत राजनीतिक यात्रा सुरु गरेका हुुन् । उनी पनि २०३६ साल देखि नेकपा मालेमा गए । २०४३ सालमा निमावि तहको स्थायी प्रध्यानाध्यापक पद त्यागेर दर्छा गाउँ विकास समितिको प्रधान पञ्च बनेका उनी, २०५४ सालको स्थानीय तहको निर्वाचनमा दर्छा गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भए । दर्छा गाउँ विकास समितिका साथै २०७३ सालदेखि रामपुर नगर विकास समितिको अध्यक्षको पदमा रहेर रामपुर क्षेत्रका विकासमा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।

ढकाल र खनाल दुवै आ– आफ्नो पार्टी विस्तार र संगठन सुदृढिकरणमा लागिपरे । पार्टिका विभिन्न तहमा रहेर काम गरे । दुवै जना पटक–पटक जेल पनि परे, आफ्नो जिवन राजनीतिमा समर्पण गरेका ढकाल र खनाल संसदीय तथा संविधान सभाको निर्वाचनमा आफ्ना दलका उम्मेद्वारलाई जिताउन अहम भुमिका खेल्दै आएका मानिन्छन् । स्थानीय निर्वाचन बाहेक अन्य चुनाव कहिल्यै नलडेका उनीहरु संविधान कार्यान्वयन स्वरुप हुन लागेको प्रदेश सभा निर्वाचनमा भने एकै क्षेत्रमा लडेका छन् ।

दुवै जनालाई स्थानीयहरु सरल स्वभावका नेतृत्वका रुपमा हेर्ने गर्दछन् । राजनीतिक, शैक्षिक तथा सामाजिक कार्यको हिसाबले उनीहरु पोख्त मानिन्छन् । शैक्षिक योग्यताको हिसाबले ढकालले एम ए सम्मको अध्यनन गरेका छन् भने खनालले स्नातक सम्म अध्ययन गरेका छन् । निर्वाचन मिति नजिकिदै जाँदा ढकाल र खनाल दुवै जना आ–आफ्नो प्रचार प्रसारमा कन्द्रित भएका छन् ।

नेपाली कांग्रेस पाल्पाका उपसभापति समेत रहेका ढकालले पूर्वी क्षेत्र विकासमा पछि परेको भन्दै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण, आर्थिक, सामाजिक रुपान्तरण र समग्र जनताको समृद्धिको लागि उम्मेद्वारी दिएको बताउँदै आएका छन् । ढकाल जिल्लाकै अग्रज नेता हुुन् । पार्टी नभनेर नागरिकको प्रशासनिक कामलाई सेवाका रुपमा लिएर सबैको काम फत्ते गरिदिने भएकाले गाउँगाउँमा उनलाई मान्ने गर्छन् । केन्द्रसम्म राम्रो पहुँच भएको र बिभिन्न बिकास निर्माणका काममा केन्द्रसम्म लिङ्क भएको नेताका रुपमा ढकाललाई लिने गरिन्छ ।

बाम गठबन्धनका उम्मेद्वार खनालले पनि पछाडी परेको यस क्षेत्रको उत्थानको लागि समाजवादको अवधारण अनुरुप काम गर्दै जाने बताएका छन् । दुवै उम्मेद्वारले सडक अन्तर्गत रामपुर– मित्याल–अरुणखोला, रिङनेरह–ज्यामीरे–दुम्किबास, रामपुर– सहलकोट–झ्यालबास जोड्ने मोटरबाटो, कालीगण्डकी करिडोर निर्माण गरी स्तरोन्नति गर्न, कालीगण्डकी करीडोर कालोपत्रे गरी संचालनमा ल्याउने, कालीनदी र निस्दी खोलाका विभिन्न स्थानमा पक्की पुल निर्माण गर्न पहल गर्ने, गाउँपालिका केन्द्रसंग जोड्ने मोटर बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

 साथै आफ्नो घोषणापत्रमा विद्युतिकरण, खानेपानीको व्यवस्था गर्ने, खेतीयोग्य जमिनलाई सिंचाईको प्रबन्ध मिलाउने, पर्यटन विकास र प्रवद्र्धन गर्ने, सुलभ स्वास्थ्य सेवा तथा आधुनिक शिक्षा प्रदान गर्ने, सुकुम्बासी समस्याको समाधान गर्ने, औद्योगिक विकास गर्ने, आधुनिक कृषिको विस्तार, रामपुरलाई आधुनिक र व्यवस्थित पर्यटकीय शहरको रुपमा विकास गर्ने लगायतका विषयलाई समेटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ