arrow

निर्वाचनमा बढी खपत हुने सामानको आयात घट्यो 

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
vote.jpeg.jpeg

काठमाडौं । निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ। निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ। 

यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएकोे थियो। यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ।

निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त उत्पादन भएकाले आयात घटेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। दोस्रो संविधानसभाको निर्वाचन भएको वर्ष २०७०–७१ मा अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयात ५६ प्रतिशतसम्म बढेको थियो। 

तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आव २०७४–७५ मा भने थोरै मात्र ड्राइ फुडको आयात बढे पनि अधिकांशको घटेको छ।

अर्थ मन्त्रालयले दिएका जानकारीअनुसार दोस्रो संविधानसभाको निर्वाचनका बेला आयात भएको उपभोग्य वस्तुको तुलनामा अहिले कमी आएको हो। दोस्रो संविधानसभा निर्वाचनअगाडिको चार महिना भारत र तेस्रो मुलुकबाट हुने सबै उपभोग्य वस्तुमा आयात बढेको थियो। तर अहिले घटेको छ।

आव २०७३–७४ को पहिलो चार महिना (साउन–कात्तिक) सम्ममा अल्कोहलिक पदार्थ ८५ करोड ५४ लाख रुपैयाँबराबरको आयात भएको थियो। तर चालू आव २०७४–७५ को पहिलो चार महिनामा अल्कोहलिक पदार्थको आयातमा १८.४४ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

चालू आवको पहिलो चार महिना अल्कोहलिक पदार्थ ६९ करोड ७३ लाख रुपैयाँबराबरको मात्रै आयात भएको छ। तर दोस्रो संविधानसभाको निर्वाचन वर्ष आव २०७०–७१ को पहिलो चार महिनामा आव २०६९र७० को चार महिनाको तुलनामा आयात बढेको थियो। 

आव २०७०–७१ को पहिलो चार महिनामा ९६ करोड ८९ लाख रुपैयाँबराबरको अल्कोहलिक पदार्थ आयात भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ।

निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमै पर्याप्त उत्पादन भएकाले आयात घटेको हो।

तर आव २०६९–७० को चार महिनामा ९६ करोड ५९ रुपैयाँबराबरको अल्कोहलिक पदार्थ आयात भएको थियो। दोस्रो संविधानसभाको निर्वाचन अगाडि अल्कोहलिक पदार्थको आयातमा ०।३१ प्रतिशतले वृद्धि थियो। 

निर्वाचनमा बढी उपभोग हुने सामानका रूपमा कागजजन्य वस्तु पनि पर्छ। तर, नेताले सामाजिक सञ्जाललाई बढी प्रयोगमा ल्याउँदा कागजजन्य वस्तुको आयातका कमी आएको अर्थ मन्त्रालयको अनुमान छ। 

निर्वाचन वर्ष भए पनि चालू आवको चार महिनामा कागजजन्य वस्तुको आयात गत आव २०७३र७४ मा भन्दा ३३।०२ प्रतिशतले कमी भएको छ।

चालू आवको साउनदेखि कात्तिकसम्म ४६ करोड १८ लाख रुपैयाँबराबरको कागजजन्य वस्तुको आयात भएको देखिन्छ। तर चालू आव २०७३–०७४ को चार महिनामा कागजन्य वस्तुको ६८ करोड ९४ लाख रुपैयाँबराबरको आयात भएको थियो। आव २०६९–७० को चार महिनामा भएको कागजजन्य वस्तुको आयातभन्दा दोस्रो संविधानसभा निर्वाचन वर्ष २०७०–७१ मा ५६.८५ प्रतिशतले वृद्धि भएको थियो। आव २०७०–७१ मा ६१ करोड ४१ लाख रुपैयाँबराबरको कागजी वस्तु आयात भएको थियो भने २०६९–७० मा ३९ करोड १५ लाख रुपैयाँबराबरको आयात भएको थियो।

चालू आवको चार महिनामा गत आव २०७३–०७४ को चार महिनामा सस, अचार, दालमोठ, पापड, मसला, कुरकुरे, लेजलगायत वस्तुको आयात केही बढेको छ। 

चालू आवको चार महिनामा २१ करोड ४६ लाख रुपैयाँबराबरका यी वस्तु आयात भएको देखिन्छ। गत आव २०६९–७० मा २० करोड ७१ लाखबराबरको आयात भएको थियो। तर सोही वस्तु दोस्रो संविधानसभा निर्वाचन वर्ष २०७०–७१ मा आव २०६९–७० भन्दा १३.८७ प्रतिशतले वृद्धि भएको थियो। 

दोस्रो संविधानसभा निर्वाचन वर्ष २०७०–७१ मा यी वस्तु १७ करोड २६ लाख रुपैयाँबराबरको आयात भएको थियो भने आव २०६९–०७० मा १५ करोड १६ लाख रुपैयाँबराबरको आयात भएको थियो।

चालू आवको पहिलो चार महिनामा गत आवभन्दा कक्टेल आइटममा सबैभन्दा बढी वृद्धिदर देखिएको छ। कक्टेल आइटममा गत आव २०७३–७४ को भन्दा आव २०७४–७५ मा एक सय ४० प्रतिशतले वृद्धि भएको छ। 

आव २०७३–७४ मा भन्दा चालू आवको चार महिनामा बियरमा ५९ प्रतिशत, वाइनमा १० प्रतिशत, रम, ह्विस्की, जिनलगायतको आयात ३१ प्रतिशतले कमी आएको छ। तर बिस्कुटमा १० प्रतिशत र काजुमा ५७ प्रतिशतले आयात बढेको छ।

किन घट्यो
स्वदेशी उत्पादन बढ्दा दैनिक उपभोग्य वस्तुको आयात घटेको अर्थ राजस्व सचिव शिशिर ढुंगाना बताउँछन्। खपत भने सामान्य अवस्थामै रहेको उनको भनाइ छ। 

हाल विदेशी ब्रान्डका अल्कोहलिक पदार्थसँग प्रतिस्पर्धा गर्दै नेपाली ब्रान्ड उत्पादन भइरहेका छन्। नेपाली उपभोक्ताले पनि विदेशीभन्दा नेपाली उत्पादनलाई मन पराउँछन्। 

तर नेताका लागि दिनहुँ जनताको घरघरमा हिँड्नेले प्रयोग गर्ने ड्राई फुड आयातमा थोरै कमी आए पनि अन्यमा जस्तो गिरावट भने आउन सकेको छैन। कागजी वस्तुको आयातमा कमी आउनुको प्रमुख कारण निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पनि हो। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ