arrow

मुख खोल्ने हो कि विप्लव

logo
खगेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
biplab-maobadi.jpeg

काठमाडौं ।  निर्वाचन नजिकिदै जाँदा हिंसात्मक गतिविधि बढ्दैछन् । खासगरी नेपाली काँग्रेसका कार्यक्रम र उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण र एम्बुस थाप्ने गरिएको छ । सरकारले छिटफुट भन्ने गरे पनि घटना देशभर भएका छन् । आक्रमण उनीहरु बिरुद्ध लक्षित छ, जो सहजै चुनाव जित्ने निश्चित देखिएको छ।

मंसीर १२ गते उदयपुरका लोकप्रिय उम्मेदवार नारायण कार्कीको ज्यानै लिने नियतले आक्रमण भयो । उनी अहिले अंगभंग अवस्थामा महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइ रेहका छन् । यो घटनामा एक नेविसंघकी नेतृ मीना कटवालले खुट्टै गुमाउने परेको छ  । चुनावी प्रचारको अन्तिम दिन मुलुककै चर्चित नेता गगन थापालाई मार्ने नियतले बम आक्रमण गरियो । उनी त बाँचे तर उनका प्रचारमा सक्रिय दर्जनौं कार्यकर्ता घाइते भएका छन् । कति त मतदान गर्न जान नसक्ने अवस्थामा छन् ।

यी घटनालाई नेपाली काँग्रेसले लोकतन्त्र बिरोधी तत्वले गराएको र माओवादीबाट प्रशिक्षित भएकाहरुले गराएको भनेर शालीन प्रतिक्रिया जनाएको छ । तर काँग्रेसले यो घटना एमाले र माओवादीको कम्युनिष्ट गठवन्धनले गराएको भनेर प्रष्ट भन्न चाहेको छैन । लोकतन्त्रवादीका हैसियतमा शालीनता देखाउनु उसको चरित्र पनि होला । तर यी घटना एमाले र माओवादीकै कार्यकर्ताबाट भएको अनुमान गर्न किन पनि कठीन छैन भने उनीहरुका कार्यक्रम वा नेतालाई लक्षित गरी गरिएका भनिएका घटनामा कुनै क्षति पुगेको छैन । शुरु शुरुमा आफूहरु माथि पनि आक्रमण भएको देखाउन ती घटना गराइएका हुन सक्छन् । पछिल्लो समय कम्युनिष्ट उम्मेदवारलाई लक्ष्य गरेर कुनै घटना गराइएका छैनन् । र, आक्रमण ती नेतामाथि लक्षित छ, जो लोकप्रिय छन् र चुनाव हार्ने कल्पना पनि कसैले गरेका छैनन् ।

लोकप्रिय नेताको हत्या वा अंगभंगले उनीहरु प्रचार प्रसारबाट वञ्चित हुने र आफ्ना उम्मेदवार जित्न सहज हुने अनुमानमा मात्र यी घटना भएका छैनन्, उनीहरुमाथिको आक्रमणले अब कोही सुरक्षित छैन, त्यसकारण किन मत हाल्न जाने भन्ने त्राश र भयको अवस्था सिर्जना गर्न समेत घटना गराइउका हुन् । नेपाली काँग्रेस आफैं सरकारमा रहेका बेला आम नागरिकले असुरक्षा अनुभूत गरेर मत हाल्ने अवस्था रहेन भने यसले काँग्रेसले मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसक्ने सन्देश मात्र प्रवाह हुने छैन, मतदान स्थलमा काँग्रेस मतदाताको अनुपस्थितिमा कम्युनिष्टहरुको एकछत्र चल्ने छ । सरकारमा भएका कारण काँग्रेसले हिंसात्मक घटनाका दोषीबारे सत्य बोल्न नचाहेको हो भने पनि काँग्रेसले यति भन्न सक्नै पर्छ, चुनावको माध्यमबाट सत्तामा जान चाहनेहरुले चुनावमा अर्काको विजय देख्नै नचाहनु कस्तो लोकतन्त्रवादी चरित्र हो ?

काँग्रेसले भने झैं माओवादीबाट प्रशिक्षितहरुले गरेकै आक्रमण हो यो । तर यसो भनिरहँदा विप्लवलाई लक्ष्य गरेको हो वा माओवादीलाई भन्ने प्रष्ट हुदैन । विप्लवसँग मेची महाकाली आक्रमण गर्ने, अझ राजधानीमा नै दिनदहाडै आक्रमण गर्ने क्षमता हुन्थ्यो भने कुनै पनि निर्वाचन क्षेत्रमा चुनाव हुन दिने थिएन । मुलुकभर अराजकता सिर्जना गर्ने थियो । उसले कतिपय घटनामा आफ्नो अज्ञानता जनाउने गरेको छ भने केही घटनामा त आफ्नो संलग्नता नरहेको प्रष्ट पार्ने गरेको छ । त्यसैले विप्लवको काँधमा बन्दुक राखेर एमाले र माओवादीले निर्वाचनमा भयभीत वातावरण गराउन गराइएका घटना यी हुन् भन्दा अन्यथा हुने छैन । माओवादीका खोलाले बगाएका हतियार अहिले धमाधम प्रयोगमा आएका छन् । दश वर्षपछि फेरि गोलाबारुद बनाउने  अभ्यासमा उनीहरु जुटेका छन् ।

गिरिजाप्रसाद कोइराला भन्ने गर्थे – दिनभर एमाले रातभर माओवादी । यो माओवादी युद्धकालको टिप्पणी हो । संयोगले अहिले एमाले र माओवादी दिनभर रातभर एकाकार छन् । अब खुलेआम उनीहरु आफ्नो चरित्र प्रदर्शन गरिरहेका छन् । अहिले मुलुकमा एमाले सरकार हुन्थ्यो भने राज्य आतंक हुने थियो । बिरोधी मतदातालाई अनेक प्रपञ्च गरेर मुद्दा मामिला लगाइन्थ्यो । २०५४ मा एकपटक स्थानीय निकायको चुनाव गराउन पाएको एमालेको सक्कली रुप अहिले पनि धेरै नागरिकले बिर्सेका छैनन् । यद्यपि, उसबेला जन्मेको वालक आज मतदाता भएको छ । तर एमाले चरित्र फेरिएको छैन । माओवादी मतियार जो उसले फेला पारेको छ ।

नेपालको सुरक्षा निकाय या त पूर्ण रुपमा दलगत ढंगमा परिचालित छ । या त निकम्मा छ । राजधानीमा सेना र प्रहरी गस्ती परिचालन भइरहदा दिनदहाडै बम आक्रमण भएको छ । सुरक्षाको यो निकम्मा व्यवस्थाले तीन घेराको सुरक्षाको कुनै अर्थ दिएको छैन । सरकारलाई प्रहरीले असहयोग गरेको हो ? चेन अफ कमाण्डमा चल्नु पर्ने निकाय किन यति फितलो छ ? आम नेपाली नागरिक कुन बिश्वासमा सुरक्षा अनुभूत गरेर मतदान स्थलमा जाने छ ? यी प्रश्नको जवाफ सरकारले दिनु पर्छ । के विप्लवले यी सबै घटना गराएका हुने ? होइनन् भने अब उनले पनि मुख खोल्ने बेला आएको छ । प्रचण्ड माओवादी र विप्लव माओवादीबीच कुनै भिन्नता छ भने विप्लव किन कसैको मतियार बनिरहने ?   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ