arrow

'म काम गर्ने मान्छे हो, मेरो डिक्सनरीमा अल्छी भन्ने शब्द छैन' (अन्तर्वार्ता) 

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
prakash-sharan-mahata.gif

काठमाडौं । मंसिर २१ गते देशका ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचन आउन अब ३ दिन मात्र छ । निर्वाचन नजिकिएसँगै काठमाडौंका राजनीतिक दल तथा तिनका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । सबै उम्मेदवारहरु आफ्नो पक्षमा मत बटुल्न आमसभा घरदैलो तथा चुनावी सभामा व्यस्त छन् । काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवारहरु चुनावी एजेण्डा र घोषणा पत्र लिएर आफ्नो विजय यात्राका लागि संघर्षरत छन् ।

यसै सन्दर्भमा नेपाली काँग्रेसका नेता प्रकाश शरण महतको पनि चुनावी प्रचार अभियान अन्तिम चरणमा पुगेको छ । यस अघि काँग्रेस नेता नरहरि आचार्यले चुनाव जितेको काठमाडौं क्षेत्र नं ५ मा अहिले काँग्रेस नेता महत चुनाव लड्दैछन् । दुर्इपटकसम्म काँग्रेससँग हारेका एमाले महासचिव र्इश्वर पोखरेल प्रतिस्पर्धीका रुपमा रहेको सो क्षेत्रमा महतको एजेण्डा के छ त रु उनीसँग गरिएको कुराकानी । 

निर्वाचन त आइसक्यो के कस्तो तयारी गरिरहनुभएको छ ? 

अहिले जनताको घर दैलोमा जाने काम भइरहेको छ । उहाँहरुको कुरा सुनिरहेको छु । उहाँहरुका गुनासा, समस्या र मागका बारेमा अहिले सुन्ने काम भएको छ । जनताको घरैमा पुगेर उनीहरुको सुझाव र सरसल्लाह पनि लिएको छु । हुनत यो क्षेत्र मलाई नयाँ होइन किनभने म करिब ३५÷३६ बर्षदेखि नै बाँसबारी क्षेत्रमै बसिरहेको छु । स्कुलदेखि कलेजम्म पढ्दा होस वा पछि घर बनाएर बस्दा पनि मेरो क्षेत्र बाँसबारी नै हो, जुन अहिलेको ५ नम्बर क्षेत्र नै पर्छ । जुन नुवाकोटसँग पनि जोडिएको छ र अधिकांश नुवाकोटका नागरिकको बसोबास पनि छ । त्यही पनि आफ्नो निर्वाचन क्षेत्र भएकोले मैले जनताको घर घर चिन्न र आफ्नो निर्वाचन क्षेत्रको बारेमा र यहाँका समस्याहरुको बारेमा जानकारी होस् भनेर सकेसम्म हरेक जनताको घरमा नै पुगेको छु । यस क्रममा मैले म काम गर्ने मान्छे हुँ भोलिका दिनमा मैले यसै क्षेत्रमा बसेर काम गर्ने हो त्यसैले यो पटकका लागि मलाई जिताएर संसदमा पठाउनुहोस भनेर जनतासँग अपिल गरिरहेको छु । नेपाली काँग्रेसका हरेक कार्यकर्तामात्र होइन कि लगभग सबैजसो सुसूचित एवम् जागरुक युवाहरुले पनि राम्रो ‘रेस्पोन्स’ गर्नुभएको छ । मलाई लाग्छ वातावरण राम्रो बनिरहेको छ । अहिलेसम्म हेर्दा मेरो जित निश्चितै छ । 

नेपाली काँग्रेसलाई जनताले किन भोट दिने ? 

हेर्नुहोस, मत नेपाली काँग्रेसबाहेक अरुलाई किन भोट दिने भन्छु । नेपाली काँग्रेसले यो देशमा लोकतन्त्र र नागरिक अधिकारका लागि के गरेको छैन भन्नोस् न । विसं २००७ मा प्रजातन्त्र कसको नेतृत्वमा आयो ? हुनत कतिपय मानिसले हिजोआज काँग्रेसले पुरानो ब्याज खाएर बसेको छ पुरानोमात्र कुरा गर्छ पनि भन्छन् तर के त्यस समयको पिछडिएको समाज र क्रुर राणा शासनका विरुद्धमा लडेर प्रजातन्त्र ल्याउने भनेको सामान्य कुरा थियो र ? विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापनाका लागि पनि त आखिर काँग्रेसले नै लडेको हो । त्यसपछि २०६२÷६३ आन्दोलनको नेतृत्व कसले ग¥यो ? यी त भए ल पुराना कुरा । आज यो देशमा प्राप्त भएका समग्र उपलब्धिहरु काँग्रेस नभएर कस्का कारणले आए त ? संविधान सभाको निर्वाचन, त्यसमार्फत संविधान लेखन र अहिले आएर यो संघीयतामा देशलाई लाने कुरा । हामीले नै २० बर्षसम्म हुन नसकेको स्थानीय तहको निर्वाचन गरायौँ ।

जातजाति, दलित, महिलालगायत सबै क्षेत्र र बर्गको समावेशिताको सुनिश्चिततामा काँग्रेसकै हात छ । त्यतिमात्र नभएर शान्ति प्रक्रियामा माओवादीलाई ल्याउने, नेपालमा गणतन्त्रको स्थापना गर्ने र संसारकै एक उदाहरणीय रुपमा नेपालको शान्ति प्रक्रियालाई यहाँसम्म ल्याउने काम गरेको काँग्रेसले नै हैन र ? अब भोलिकादिनमा संघीयतामा मुलुकलाई लैजानका लागि पनि काँग्रेसकै अगुवाई आवश्यक छ । अनि काँग्रेसलाई भोट नदिएर कसलाई दिने त ? 

चुनावका लागि नुवाकोटबाट काठमाडौँ आएको भन्नेहरुलाई के भन्नुहुन्छ ?

त्यसो भए र्इश्वर जी कहाँको नि सोध्नुस् त । मत यही क्षेत्रमा बसेको आज ३६ बर्षभन्दा बढी भयो । मैले ११ बर्षको उमेरमा लैनचौरको शान्ति विद्यागृहमा ६ कक्षामा भर्ना भएर यहीँ पढेको हो । त्यतिबेलादेखि नै मेरो बसाई भनेको बाँसबारी नै हो । त्यसपछि कलेज पढ्दा होस अथवा भनौँ न म काठमाडौं बस्दा यही क्षेत्रमै बसी आएको छु । मेरो घर नै बाँसबारीमा छ । मलाई यही घरदैलोमा जाने क्रममा कतिपयले यो क्षेत्रका लागि के गर्नुभो भनेर पनि सोध्ने गरेका छन् । यो क्षेत्रका कैयौँ व्यक्तिका तथा संस्थागत रुपमा पनि मैले धेरै काम गरेको छु । काँग्रेस कार्यकर्ताहरु मात्र होइन यो क्षेत्रका सबै नागरिकका लागि मेरो घरको दैलो सधैँ खुलै थियो र उहाँहरु आउने गर्नुहुन्थ्यो र आइरहनुभएको छ ।

फेरि अर्को कुरा के पनि हो भने यो क्षेत्रको जिम्मा पार्टीले यसअघि नरहरिजीलाई दिएको थियो । त्यसैले पनि मैले धेरै चासो लिने वा चियाउने कुरा पनि थिएन । तर पनि म यही क्षेत्रको बासिन्दा भएको हैसियतमा मकहाँ आउने सबैलाई विगतमा पनि मेरो घरको ढोका खुलै थियो । मैले उहाँहरुका लागि गर्नहुने र सक्ने काममा कुनै कन्जुस्याईँ हिजो पनि गरेको होइन । अबत झन कुरै भएन, राजनीतिक रुपमा पनि म यही क्षेत्रको भएँ । अब त यो क्षेत्र पार्टीले मलाई नै जिम्मेवारी दिएको छ । त्यसैले मैले यहाँका हरेक समस्या र आवश्यकताको बारेमा जानकारी राख्नुपर्छ र समाधानका लागि लाग्नुपर्छ । म लाग्छु र गर्छु पनि । हेर्दै जानुस् म काम गर्ने मान्छे हो, मेरो डिक्सनरीमा अल्छी भन्ने शब्द छैन, यो क्षेत्रलाई मैले नमूना क्षेत्रका रुपमा विकास गरेर देखाउँछु ।

अहिले तपाईको क्षेत्रका लागि चुनावी एजेण्डा के छन् ?

हेर्नोस् काठमाडौंको ५ नम्बर क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् अरु धेरै हिसाबले पनि निकै महत्वको र सम्पन्न छ । काठमाडौं राजधानी जिल्ला नै भएपनि आजसम्म यो क्षेत्र बत्तीमुनिको अँध्यारोको रुपमा रहेको मलाई महशुस भएको छ । जनताका गुनासा र समस्याहरु धेरै छन् जुन कुरा म यस क्षेत्रका हरेक नागरिकको घरघरमा पुगेर सुनेको छु । त्यसैले यस क्षेत्रको विकासका लागि मैले पनि एक विशिष्ट खाका मेरो दिमागमा कोरिसकेको छु । यहाँ बुढानीलकण्ठजस्तो हिन्दू धर्मको एक पवित्र र सुप्रसिद्ध तीर्थस्थल छ । तर यसको समयानुकुल विकास गर्न सकिएको छैन । एक पवित्र देवस्थल तथा धार्मिक तीर्थस्थलका रुपमा मैले बुढानिलकण्ठको विकासको योजना बनाएको छु ।

त्यसैगरी माथिको शिवपुरी जलाधार क्षेत्र पनि अर्को त्यत्तिकै महत्वको क्षेत्र हो । यस क्षेत्रमा मैले ‘जिप राइडिङ’ को रुपमा विकास गर्ने योजना बनाएको छु । जसले गर्दा सो क्षेत्रमा दिनहूँ काठमाडौँका हजारौँ पर्यटक जाने एउटा मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिनेछ । यसले स्थानीय स्तरमा नागरिकको जिवनस्तर उकास्नुका साथै स्थानीय रुपमा रोजगारीको सिर्जना गर्नका लागि पनि ठूलो सघाउन पु¥याउने छ । यसबाट राज्यले बार्षिक करोडौँ रुपैयाँ राजस्व आम्दानी गर्नसक्नेगरी यो जलाधार क्षेत्रको बिकास गर्ने योजना मेरो छ । त्यस्तै रानीबारी अर्को पर्यटकीय महत्वको क्षेत्र हो । यसलाई पनि सार्वजनिक उद्यानका रुपमा विकास गरी ‘बायोडाइभर्सिटी’ क्षेत्रको एक उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।

त्यसैगरी हाँडीगाउ, सपनतीर्थ, टुँडालदेवीजस्ता परम्परागत, देवस्थल र विशेष क्षेत्रहरुलाई पनि पूरातात्विक, ऐतिहासिक र धार्मिक महत्वका रुपमा जात्रा व्यवस्थापनका साथै क्षेत्रगत विकासका रुपमा धेरै काम गर्नेगरी मैले योजना बनाएको छु । यी स्थल, सम्पदा र परम्पराहरुको विशेष व्यवस्थापन, सञ्चालन र संरक्षण गर्न सकिएमा यस निर्वाचन क्षेत्रका नागरिकका लागि ठूलो उपलब्धि हुनेछ । टोखा छहरे त्रिशुली केरुङमार्ग अर्को प्राथमिकता हो । नुवाकोटसम्म जोड्ने सुरुङमार्ग मेरो पुरानो योजना हो । साथै यसले भोलिको पुस्तालाई पनि गर्वगर्न सक्नेगरी यस क्षेत्रलाई नमूनाका रुपमा विकास गर्न सकिने छ ।

त्यसैगरी यस क्षेत्रका युवा र बुद्धिजिवी बर्गले पनि मलाई यहाँको विकासका लागि विशेष सल्लाह र सुझावहरु दिएका छन् । सूचना प्रविधिको विकास र यसलाई उद्योगको रुपमा स्थापना र विकास, पर्यटकीय संरचनाको विकास, यस क्षेत्रको खानेपानी, ढल निकास र बाटोघाटोको निकासका बारेमा केही योजनाहरु हामी आन्तरिक रुपमा पनि बनाएका छौँ । म यो क्षेत्रको प्रतिनिधि भएपछि यी सबैलाई ध्यानमा राखेर आगामी पाँच बर्षभित्रमा ती सबैको कार्यान्वयन गर्ने स्पष्ट खाका मैले बनाइसकेको छु ।              

तपाईँलाई नै क्षेत्र नम्बर ५ का जनताले किन भोट दिने ? 

म १३ बर्षको उमेरदेखि देशमा प्रजातन्त्रको लागि लडेको मान्छे हो । त्यतिबेला देशमा प्रजातन्त्र किन ल्याउनुपर्छ भन्ने बारेमा मलाई के थाहा थियो होला भन्ने कुरा अर्को विषय हो । अब त्यो वि.सं २०४६ भन्दा अघिको त कुरै नगरौँ कति दुःख पाइयो र कसरी प्रजातन्त्रको पुनस्थापनाका लागि लडियो भनेर । अहिले पछिल्लो समयमा पनि म नेपालमा संविधान निर्माणका लागि समेत त्यत्तिकै काम गरेको छु । त्यो भन्दा पनि पहिला माओवादी समस्या समाधान उच्चस्तरीय समितिको सदस्यको रुपमा काम गरेको हो । हामीले नै माओवादी समस्याको समाधान शान्तिपूर्ण रुपमा गर्नुपर्छ भनेर सुझाव दिएका हौँ । पछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि हतियार व्यवस्थापनसम्मका प्राय सबैजसो कार्यदल या समितिहरुमा बसेर मैले पनि काम गरेको छु ।

यो संविधान निर्माणको मस्यौदा कार्यदलमा पनि म बसेर काम गरेको छु । संविधानको मस्यौदा र यसलाई जारी गर्नेसम्मको काममा मेरो पनि पसिना बगेको छ । आखिर नेपाली काँग्रेसले नै त हो यो देशमा संविधान जारी गरेको । पहिलो संधिवान सभा संविधान नै नबनाई विघटन भएको काँग्रेसको सरकार नभएर नै त हो । अनि पछि काँग्रेसको सरकार थियो, उसले संविधान बनायो र जारी गर्यो । 

यसअघि म उर्जामन्त्री हुदा गरेका बिद्युतीकरणको योजना यहाँ अहिले सबै भन्न पनि समय छैन । अघिल्लो सरकारमा म परराष्ट्रमन्त्री हुँदा भारतसँगको सम्बन्ध एकदमै बिग्रिएको थियो । जसका कारण नेपालले पाएको दुःख त यहाँ मैले भन्नै पर्दैन । यस्तो अवस्थामा भारतसँगको सम्बन्धमा सुधार गर्नेमात्र नभएर चीनसँग पनि राम्रो सम्बन्ध राख्ने काम मेरो अथक प्रयासपछि सम्भव भएको हो । मैले दुवैतर्फ सन्तुलित सम्बन्धको विकास गर्ने काम गरेको हो ।

त्यतिबेला भारततिर लम्पसार भएको भनेर पनि दुस्प्रचार गरिएको भए पनि मैले किन सहँे भने त्यो मैले देशका लागि नै गरेको हो । चीनसँगको त्यती ठूलो ओबिओआर आयोजनामा हस्ताक्षर गर्नेसम्मको काम पनि त हामीले नै गरेको हो नि । के नेपालले त्यो आयोजनामा हस्ताक्षर गर्नेकाम सामान्य हो र ? मसँग र व्यक्तिगत रुपमा भन्नुभयो भने भारत र चीनका समृद्धिबाट कसरी हामी लाभान्वित हुने र नेपालले ओबिओआरबाट के कसरी फाइदा लिने भन्ने स्पष्ट भिजन नै छ । तर सरकारमा छोटो समयमात्र रहेकोले यो सबै सम्भव हुन सकेन । तर त्यसलाई भोलिका दिनमा पूरा गर्न सकिन्छ । मेरो भूमिका र दक्षता अब आगामी दिनमा देशको समृद्धिको लागि प्रयोग हुनेछ । नेपालको अबको बाटो भनेको समृद्धिको नै हो भन्ने नै मेरो नारा हो । नेपालमा प्रजातन्त्रको स्थापना, विकास र प्रवधर्नमा मेरो पनि ठूलो मेहनेत जोडिएको छ । आउने दिनमा पनि मैले मेरा आश्था र निष्ठालाई अडिग भएर निरन्तरता दिने प्रण गरेकै छु । त्यसैले मैले काठमाडौंका जनतासँग भोट मागेको छु । एकपटक मलाई यहाँबाट संसदमा पुर्याउनुस म सदा तपाईहरुलाई साथ दिनेछु भनेको छु । 

कम्युनिष्ट सरकार आए देशमा अधिनायकबाद लाद्छन् भनेर काँग्रेसले देशव्यापी प्रचार गरिरहेको छ नि ?  

हो, सत्य कुरा हो । तर हामीले मात्र भनेका होइनौँ सबै प्रजातान्त्रिक शक्तिले भनेका छन् । फेरि त्यो पनि हामीले मात्र नभएर प्रचण्ड, ओलीजीहरु नै भनिरहनुभएको छ नि । जस्तो कि तपाईले उहाँहरुका भाषण सुन्नुहोस न, अब कम्युनिष्टले यतिबर्ष शासन गर्छ उतिबर्ष गर्छ, अब छोड्दैन आदि भन्नुुहुन्छ । केही दिनअघि प्रचण्ड स्वयं भन्दै हुनुहुन्थ्यो अब नेपालमा ५० बर्ष बामपन्थीको सरकार हुनेछ । के हो यो भनेको ? कुनै दलले ५० बर्षसम्म शासन चलाउँछ भनेको के सत्ता कब्जा या अधिनायकबाद होइन ? हामी त आउने ५ बर्षका लागि काँग्रेसलाई मत माग्दै छौँ तर उहाँहरुले आगामी कार्यकालका लागि हो कि ५० बर्षलाई हो मत मागेको हो ? माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको हामीले नै हो ।

उनीहरु पनि बहुदलीय संसदीय व्यवस्थामा विश्वास र अभ्यास गर्छौँ भनेका थिए त्यसैले उनीहरुलाई सरकारमा पनि ल्यायौँ । सबैलाई थाहै छकि हामी देशको ठूलो पार्टी भएर पनि माओवादी नेतृत्वको सरकारमा हामी नै गयौं । यो सबै उनीहरुलाई पनि प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र देशलाई स्थायित्वको बाटोमा डोराउन हो नि । तर यसरी अहिलेको अवस्थामा नै उनीहरु हिँड्ने हो भने उनीहरुको आगामी बाटो अधिनायकवादको नै हो । नेपाली जनताले पनि यो बुझिसकेका छन् ।        
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ