arrow

मेयरले वितरण गर्न लागेका बिजुलीको पोल स्थानीयको नियन्त्रणमा

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
pol.jpg

धनगढी ।  निर्वाचन आचार संहिता उलंघन गर्दै कैलालीको गोदावरी नगरपालिका प्रमुख मेयर हरिसिंह साउँदले सोमबार साँझ मतदाताको घरघरमा वितरणका लागि पठाएका बिजुलीका पोल स्थानीयले नियन्त्रणमा लिएका छन् ।
 
ना २ ख ८७२६ नम्बरको ट्रक तथा भे १ च २६७९ नम्बरको ट्याक्टरमा १२ वटा विजुलीका पोल वितरणका लागि लग्दै गरेको अवस्थामा स्थानीयले विरोध गर्दै नियन्त्रणमा लिएको काँग्रेसका क्षेत्रीय प्रचारप्रसार प्रवक्ता तेज खड्काले बताए ।

विद्युत पोल बोकेको ट्रक भने उम्किन सफल भएको बताइएको छ । नियन्त्रणमा लिइएको ट्याक्टर र विद्युतका पोल ईलाका प्रहरी कार्यालय अत्तरियामा बुझाइएको खड्काले बताए ।

नगर प्रमुख साउँदले आचारसंहिता उल्लंघन गर्दै मौन अवधि शुरु हुनु केही घन्टा पहिले मतदातालाई प्रभावित गर्न विद्युत पोल वितरण प्रयास गरेकोमा स्थानीय विरोध गर्दा एमाले तथा माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरेका थिए ।

सो क्रममा अत्तरियामा केही बेर तनावको स्थिति भएको थियो । एमाले तथा माओवादीले मतदातालाई प्रलोभनमा पार्न आफ्नो नेतृत्वमा रहेको स्थानीय तहमार्फत सरकारी सम्पत्तिको व्यापक दुरुपयोग गर्नुका साथै रकमको ठूलो चलखेल गर्न सक्ने सम्भावना देखेपछि यतिवेला कैलाली क्षेत्र नम्बर ४ का विभिन्न वडामा काँग्रेस कार्यकर्ताले निगरानी गरिरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ