arrow

यी एक जना प्रौढ उम्मेदवारलार्इ टक्कर दिन सक्लान् दुर्इ युवाले ?

logo
रमेश गिरी,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
damannath.jpg

भक्तपुर। प्रजातन्त्रको उदयपछि २०४८ सालदेखि २०७० सालसम्मका संसद् एवं संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस र नेपाल मजदूर किसान पार्टीले आलोपालो विजय हासिल गर्दै आएको भक्तपुर क्षेत्र नं २ मा यस पटक कसले बाजी मार्ला भन्ने चौतर्फी चासो बढेको छ । विसं २०७० को निर्वाचनसम्म आइपुग्दा तेस्रो दलका रुपमा उभिएको नेकपा(एमाले) यही मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमा दुवै दलको आलोपालो किल्ला भत्काउने घोषणा गर्दै अगाडि बढेको छ । 

भक्तपुर क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता पूर्वसभामुख दमननाथ ढुङ्गाना, वाम गठबन्धनबाट पूर्वमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेत र नेमकिपाबाट पूर्वसांसद एवं नेमकिपाकी युवा नेत्री अनुराधा थापा मगरबीच कडा प्रतिस्पर्धा हुने भएको छ । विसं २०४८ को निर्वाचनमा सो क्षेत्रबाट काँग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी वासुकला, २०५६ मा काँग्रेसकै लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति र २०७० मा काँग्रेसका रामेश्वर ढुङ्गेलले विजय हासिल गरेका थिए । यस पटकको निर्वाचनमा भने एमाले पनि मुख्य प्रतिस्पर्धी दलका रुपमा अगाडि बढेपछि २ नं क्षेत्रमा कसले बाजी मार्ला भन्ने चासो मतदाता, विभिन्न दल र नेतामा परेको छ । 

छयहत्तर वर्षीय ढुङ्गानाले मतदातामाझ आफूलाई कुचीकार उम्मेदवारका रुपमा उभ्याउनुभएको छ । उनी राजनीतिमा साह्रै फोहोर बढेकाले संसद्मा बसेर त्यसलाई सफा गर्न आफूलाई राजनीतिक कूचो लिएर आएको सफाइ उम्मेदवार भएको बताउनुहुन्छ । ढुङ्गाना भन्छन्, “देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोर सफाइ गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कूचो बोकेर आएको कुचिकारका रुपमा हो, म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।” 

यता ४१ वर्षीय बस्नेत भने आफ्नो उम्मेदवारी भक्तपुरको विकासका लागि भएको बताउँछन्। विसं २०७० को संविधानसभा निर्वाचनमा काँग्रेससँग पराजित बस्नेतले आफूले अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँच वर्षमा भक्तपुरलाई चौतर्फी विकास गर्ने कार्यसूची बोकेर मतदाता माझ आएको स्पष्ट गर्छन्। 

बस्नेत भन्छन्, “भूकम्पमा घर भत्किएका छ हजारभन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाइदिएर मैले सहयोग गरेँ, उद्योगमन्त्री हुँदा भक्तपुरमा पाँच अर्ब रुपियाँको बजेट ल्याएर विकासका काम शुरुआत गरेँ, अबको पाँच वर्षमा भक्तपुरलाई सम्पन्न जिल्ला बनाउने मेरो एजेण्डा छ, यसलाई प्रदेशको राजधानी बनाउने अठोट छ ।” नेमकिपाबाट उम्मेदवार बनेकी छत्तीस वर्षीया मगरले भने देशमा समाजवादले मात्रै देशको विकास र परिवर्तन गर्न सक्ने बताउँदै चुनावी मैदानमा आएकी छिन् । समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबीचको बढ्दो खाडल र वैदेशिक हस्तक्षेपविरुद्ध चाल्नुपर्ने कदमका एजेण्डा लिएर उहाँ मतदाता माझ पुगेकी छिन् । 

नेमकिपाले काँग्रेस र एमालेले पटक पटक सत्तामा गएर भ्रष्टाचार गरेको, भारतसँग झुकेको, राष्ट्रियता संकटमा पारेको, जनताको पक्षमा काम गर्न नसकेको जस्ता कारण जनता वाक्क भएकाले नेमकिपाको विजय सुनिश्चित भएको जिकिर गरेको छ । विगतका निर्वाचनमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिने गरे पनि यस पटक भने गठबन्धनको सहारामा मुख्य दलहरू चुनावी मैदानमा उत्रिएका छन् । काँग्रेसलाई यस पटक राप्रपा र राप्रपा(प्रजातान्त्रिक)ले प्रत्यक्षतर्फ सघाउने भएका छन् । यस पटक दुवै राप्रपाको साथ पाएकाले यस पटकको निर्वाचनमा पनि सहजै जित हासिल गर्ने जिकिर लोकतान्त्रिक गठबन्धनमा आबद्ध काँग्रेसले गरेको छ । 

यता एमाले यस पटकको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)को साथ लिएर वाम गठबन्धनका रुपमा अगाडि बढेको छ । आफूलाई यस पटक भक्तपुरका माले र नयाँ शक्ति पार्टीले पनि साथ दिएको एमालेको भनाइ छ । तीन वटै दलको कडा प्रतिस्पर्धा रहने यस पटकको निर्वाचनमा नेताहरूले आआफ्नै जिकिर गरे पनि यहाँ कसले बाजी मार्छ भन्ने अड्कल गर्न गाह्रो भएको मतदाताको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ